पर्यटकीय नाकामै सास्ती………..

बुटवल – भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो। श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, भियतनामलगायत एक सयभन्दा बढी मुलुकका पर्यटक यो नाकाबाट नेपाल प्रवेश गर्छन्। वार्षिक डेढ लाखभन्दा बढी विदेशी यही नाका हुँदै नेपाल घुम्न आउने अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए। उनका अनुसार सन् २०१९ को जनवरीदेखि अगस्टसम्ममा सो नाका हुँदै ९४ हजार तीन सय ६० पर्यटक नेपाल भित्रिएका छन्। ६ लेन सडक बनाउने भनी बाटो भत्काएको नौ महिना भयो। निर्माणको काम अझै सुरु भएको छैन। भत्किएको सडकका खाल्डाखुल्डी, धुलो र हिलोले पर्यटकसँगै स्थानीय पनि आजित छन्। सडक किनारको ढल, फोहोर तथा जमेको हिलेपानी गनाएर नाक थुन्नुपर्छ। सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन निकै कमजोर छ, जसका कारण पर्यटक यातायात व्यवसायीको तानातानमा पर्छन्। नेपाल एसोसिएसन टुर एजेन्ट नाटाका प्रदेश महासचिव चन्द्र थापा भन्छन्, ‘नाकामा पर्यटकलाई निकै सास्ती छ। न सुविधासम्पन्न यातायातको व्यवस्था छ न त पर्यटकलाई कुन ठाउँमा कसरी केमा जाने भनेर जानकारी उपलब्ध गराउने कुनै संयन्त्र छ।’ नाकाको दुरवस्थाबारे नगरपालिका, प्रदेशको पर्यटन मन्त्रालय र पर्यटन बोर्डको कार्यालयलाई पटकपटक लिखित र मौखिक ध्यानाकर्षण गराए पनि सरकारी निकायले बेवास्ता गरिरहेको महासचिव थापाले बताए। थापाले भनेजस्तै सीमाक्षेत्रमा समस्यामा परेका पर्यटकलाई तत्काल सहयोग गर्ने संयन्त्रसमेत छैन। यसअघि भएको पर्यटन बोर्डको सूचना केन्द्र अहिले रित्तो छ। दरबन्दीका पर्यटन प्रहरीसमेत कार्यालयमा भेटिँदैनन्। त्यससँगै जोडिएको अध्यागमन कार्यालयको अवस्था झन् बिजोग छ। जीर्ण भवनमा चारवटा कोठा छन। दुईवटा साँघुरा कोठामा अध्यागमनको सिंगो कार्यालय सञ्चालित छ। एउटा कोठामा स्टोर र अर्कोमा चौकीदारको क्वार्टर छ। दैनिक दुईढाई सयजना विदेशी पर्यटक भिसा लिन यो कार्यालयमा आउँछन्। तर भत्काएर असरल्ल छोडिएको सडक किनारको अध्यागमनमा पर्यटकलाइ बसेर फाराम भर्ने वा कागजपत्र मिलाउने ठाउँसमेत छैन। अस्तव्यस्त नाका र अध्यागमनको दुरवस्था देखेका पर्यटक सकेसम्म गाडीबाट ओर्लिन खोज्दैनन्। भारतीय गाइड वा बसका चालक–सहचालकले झोलाभरि पासपोर्ट बाकेर ओर्लिन्छन् र एकमुष्ठ छाप लगाएर विदेशीलाई नेपालमा प्रवेशाज्ञा दिइन्छ। त्यसरी प्रवेश गर्नेहरुमध्ये केहीले त आफू नेपाल प्रवेश गरेको पत्तोसमेत पाउँदैनन्। अध्यागमनका कर्मचारीले पनि बसबाट पर्यटक ओराल्ने झन्झट गर्दैनन्। केही दिनअघि बेलहिया नाका हुँदै नेपाल घुम्न आएका एक श्रीलंकाली पर्यटकले गाडीबाट झरेर उभिने ठाउँ नभएकाले गाडीमै बसेको प्रतिक्रिया दिए। ‘बाहिर कोलाहल, भिड, धुलो र घाम छ’, उनले भने, ‘बसबाट झरेर कहाँ उभिने ?’ सडकमा बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको पहिलो गन्तव्य लुम्बिनी हो। केही लुम्बिनीसँगै अन्य बुद्धस्थल घुमेर चितवन, पोखरा, काठमाडौंसम्म पुग्छन्। तर नाकाको यस्तो अवस्थाले बाह्य पर्यटकमा नेपालप्रतिको पहिलो इम्प्रेसन नै खराब हुने बताउँछन नाटाको प्रदेश नं. ५ का निवर्तमान अध्यक्ष विष्णु शर्मा। सीमाक्षेत्रमा भोग्नुपरेका सास्तीकै कारण पर्यटकले भिसा छोट्याउने गरेको अनुभव पनि उनले सुनाए। प्रदेश नं. ५ मा अहिले लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ। भ्रमण वर्षका नाममा सबा चार करोड बजेट खर्च हुँदैछ। प्रचार प्रसार, नाकाको व्यवस्थापन, सूचना बोर्ड, सरसफाइलगायतका कार्यक्रम भइरहेको योजनामा उल्लेख छ। सीमानाकाको सरसफाइ र डस्टबिन खरिदका लागि मात्रै प्रदेश सरकारले यो वर्ष ४० लाख बजेट छुट्याएको छ। तर बेलहियामा भने न त फोहोर राख्ने डस्टबिन छ न सरसफाइका कार्यक्रम गरिएका छन्। फोहोरको थुप्रो नजिकै राखिएको लुम्बिनी भ्रमण वर्षको बोर्डसमेत धुलो र हिलोले छपक्कै छोपेको छ। बिभिन्न दिवशका अबसरमा सरकारका मन्त्री, सेना प्रहरी तथा स्थानीय सरकारका प्रमुख र नेताहरुले कुचो छोपेर सहरी सडक बढार्छन्। तर त्यसपछिका दिनमा नाकाको अवस्था र पर्यटकले भोग्नुपरेका समस्यातर्फ प्रदेश र स्थानीय सरकारले चासो दिएका छैनन्। सरकारले काम गरेन भनेर बेलाबखत कोकोहोलो मच्चाउने राजनीतिक दल, नागरिक समाज तथा पर्यटन व्यवसायी पनि विशेष अवसरमा मन्त्री र सभासद्को पछि लागेर अभियानमा सहभागी हुनेबाहेकका काम गरेको देखिँदैन। पर्यटन वर्षको घोषणा गरेका केन्द्र र प्रदेश सरकारले पर्यटकीय नाकाको व्यवस्थापनमा ध्यान नदिइएको पर्यटन व्यवसायीको गुनासो छ। बेलहियामा पर्यटकका लागि आधारभूत सेवासुविधासहितको पर्यटन सूचना केन्द्र तत्काल स्थापना हुनुपर्ने बताउँछन् पर्यटन व्यवसायी तथा नाटाका निवर्तमान अध्यक्ष शर्मा। ‘लुम्बिनी तथा बुद्धस्थलसहित नेपालका पर्यटकीय स्थ लबारे जानकारीसहितको आधारभूत सेवासुविधा नाकामै उपलब्ध गराउने गरी पर्यटन सूचना केन्द्र पुनः सञ्चालन गरिनुपर्छ’, शर्माले भने। पर्यटन प्रहरीको उचित व्यवस्थापनसँगै अध्यागमन कार्यालयको संरचनागत विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार