नयाँ मोडमा महरा प्रकरण………

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ। प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुव्र्यवहार नभएको जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ मोड देखिएको हो। पति–पत्नीले नै सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानुनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको मानिँदैन। उक्त प्रकरणलाई लिएर प्रहरीले सबुद प्रमाण संकलन गरिरहेका बेला रोशनीले आफू डिप्रेसनको बिरामी भएको तथा आवेशमा आएर महरालाई आरोप लगाएको बताएकी थिइन्। प्रहरीले सबुद प्रमाण संकलन गरेर राखे पनि उनले उजुरी नदिएकाले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन। पीडितले उजुरी नदिएपछि अनुसन्धान गर्न अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ। संकलित सबै सबुद सुरक्षित रहेको प्रहरीको भनाइ छ । ‘हामी जुनसुकै बेला अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छौं,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकारण प्रमाणहरू सुरक्षित राखिएका छन्। महरासम्बद्ध दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले उनलाई अनुशासनको कारबाही गर्ने संकेत गरे पनि प्रक्रिया अघि बढाइसकेको छैन। उनको चरित्रमा दाग लागेपछि बसेको नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन्। उनले पार्टीको निर्देशनसमेत उल्लंघन गरेका कारण उनीमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे कार्यकर्ताले चासोसमेत राखेका छन्।

सरकारी सुविधा फिर्ता

निवर्तमान सभामुख महराले सभामुखको हैसियतले पाएको सरकारी सुविधा बिहीबार फिर्ता गरेका छन्। उनले संसद्का कर्मचारीमार्फत सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन्। गाडी संसद् सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको संसद् स्रोतले जनाएको छ। उनले बा२झ १२६८ नम्बरको ल्यान्ड क्रुुजर गाडी चढ्दै आएका थिए । नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए । सरकारले ती सुरक्षाकर्मी पनि फिर्ता गरेको छ। यसैबीच, यौन दुव्र्यवहारको आरोप लगाउने महिलाको अन्तर्वार्ता तथा त्यससम्बन्धी समाचार प्रकाशन गर्ने सञ्चारकर्मी अजयबाबु शिवाकोटीले असुरक्षाको महसुस गरेका छन्। शिवाकोटीमाथि गम्भीर धम्की आएको उनी सम्पादक रहेको सञ्चार संस्था हाम्राकुरा डटकमले जनाएको छ। सम्पादक शिवाकोटीलाई पहिचान नखुलेका नम्बरबाट फोन गरेर धम्की दिने क्रम बढेकाले सुरक्षा सतर्कताका लागि प्रहरीलाई जानकारी गराएको सो डटकमले जनाएको छ। समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै आएका केही समूहले अस्वाभाविक गतिविधिसमेत बढाउँदै गएको हाम्राकुरा डटकमले अनुभूति गरिरहेको छ,’ सो डटकमको समाचारमा लेखिएको छ, ‘हाम्राकुरालाई ठीक लगाउनुपर्छ भन्ने केही समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएका छौं।’ आफूहरूले प्रहरीमा जानकारी गराएको र सुरक्षा बढाउने प्रत्याभूति पाएको हाम्राकुरा डटकमले उल्लेख गरेको छ।

‘इतिहास समाप्त पार्ने षड्यन्त्र’

यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराका छोराहरूले क्रान्तिकारी नेताहरूको इतिहास समाप्त पार्न देशीविदेशी शक्तिहरू लागेको संकेत गर्दै सामाजिक सञ्जालमा युद्धकालीन कम्ब्याट पोसाक र हतियारसहितका तस्बिर पोस्ट गरेका छन्। महराका छोराहरू निर्मल र राहुलले सामाजिक सञ्जाल फेसबुकमा बन्दुक समाएको फोटो राख्दै समयले नयाँ बाटो पक्रने र क्रान्तिकारीसँग फेरि भेट हुने उल्लेख गरेका छन्। निर्मल र राहुल दुवै नेकपाका राजनीतिमा सक्रिय छन्। उनीहरूले क्रान्तिकारीहरूसँग भेट हुन्छ भन्नुलाई कतिपयले विप्लवसँग समेत जोडेर हेरेका छन्। उनीहरूले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको उल्लेख गरेका छन्। ‘राजनीतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्नुप¥यो, यो राजनीतिभित्रको खेल रहेछ। आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठनद्वारा चिन्ता व्यक्त गर्ने र मिडियामार्फत सहयोग पु-याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पु-याउने सञ्चारकर्मी, नेता–कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरू चिन्ने मौका मिलेको छ। असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ,’ उनीहरूको स्टाटसमा लेखिएको छ। स्टाटसमा अघि लेखिएको छ, ‘बुख्याँचाहरू खडा गरी क्रान्तिकारी नेताहरूको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरूको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरू पनि। यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ भन्ने शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ। समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको छ, क्रान्तिकारीहरूसँग फेरि भेट हुनेछ।’ उनीहरूले यस्तो धारणा सार्वजनिक गरेपछि अझै पनि युद्धको धङधङी बाँकी रहेको भन्दै आलोचना सुरु भएको छ। श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार