शौचालय नहुँदा पर्यटक दिक्क…………

पोखरा – पर्यटकीय क्षेत्र लेकसाइडको मूल सडकसँगै जोडिएको छ– लेकभ्यू रिसोर्ट। मूल सडक भएकाले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ओहोरदोहोर निकै चलिरहन्छ। तर, पैदल हिँडिरहेका कतिपय पाहुना बेलाबेला हतारिँदै रिसोर्टतिर छिर्छन्। हतारिँदै रिसोर्ट छिरेका सबै पाहुना खानपिनका लागि गएका हुँदैनन्, उनीहरुको एकमात्र उद्देश्य शौच गर्नु हुन्छ। सडकमा हिँडिरहेका पाहुना आत्तिँदै रिसोर्ट छिर्छन् अनि शौचालय जान मिल्छ भनेर सोध्छन्,’ रिसोर्टका एक कर्मचारीले भने, ‘हामीले उनीहरुको मर्का बुझ्छौं, अनि शौचालय बताइदिन्छौं।’ सडकमा सार्वजनिक शौचालय नभएपछि पाहुना शौच गर्नकै लागि सडक छेउका होटल, रेस्टुरेन्ट छिर्न बाध्य भएको उनले बताए। शौच गर्नका लागि रिसोर्ट छिरेका पाहुनामध्ये कतिपयले रेस्टुरेन्टमा केही खाएर पनि फर्किन्छन्, कतिपय भने ‘धन्यवाद’ दिएर निस्कने गरेको ती कर्मचारीले सुनाए। हामीले पाहुनाको त्यो बाध्यतालाई सहजै लिन्छौं,’ उनले भने, ‘अप्ठेरो परेका बेला शौचालयमा आउनु कुनै नौलो होइन। सडकमा पर्याप्त सार्वजनिक शौचालय भएको भए ती पाहुना पक्कै रिसोर्ट आउनुको साटो सार्वजनिक शौचालयमै जान्थे। तर, सार्वजनिक ठाउँमा कतै शौचालय छैनन्।’ मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सार्वजनिक शौचालय नहुँदा यो समस्या पाहुनाले खेप्ने गरेको उनले सुनाए। पर्यटकीय क्षेत्र लेकसाइडको सहीदचोकदेखि खहरेसम्मका झन्डै साढे तीन किलोमिटर दूरी छ। त्यसबाहेक भित्री गल्ली पनि पर्याप्त छन्। तर, एकाधबाहेक लेकसाइडको मूल र भित्री सडकमा पर्याप्त सार्वजनिक शौचालय छैनन्। बनेका शौचालय पनि पाहुनाले हत्तपत्ति देख्न सक्दैनन्। शौचालय बताइदिने संकेत बोर्ड पनि कतै छैनन्। त्यही कारण सडकमा हिँडिरहेका पाहुना शौच गर्नका लागि सडक छेउका होटल, रेस्टुरेन्ट, रिसोर्ट पस्नुको विकल्प छैन। पोखरा महानगरले महिनौअघि लेकसाइडसहित मान्छेको बढी आउजाउ हुने क्षेत्रमा सार्वजनिक शौचालय बनाउने योजना बनाए पनि ती पूर्वाधार अझै तयार भएका छैनन्। एकाध शौचालय बनेपनि धेरै अलपत्र छन्। सरकारले हालै दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ। आठ वर्षअघि कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। तर, खुला दिसामुक्त जिल्ला र राष्ट्र घोषणा गरिसक्दा पर्यटकीय सहरको शौचालय समस्या भने ज्यूँ का त्यूँ रहेको स्थानीयको भनाइ छ। ‘वर्षमा लाखौं विदेशी पाहुना पोखरा घुम्न आउँछन्, तर, ती पाहुनाले प्रयोग गर्न मिल्ने आवश्यक शौचालय कतै छैन,’ लेकसाइडको ब्ल्याक एन्ड ह्वाइट रेस्टुरेन्टका सञ्चालक दील गौतमले भने, ‘शौचालयको समस्या भनिनसक्नु छ। धेरै नै पाहुना शौचालय प्रयोग गर्नका लागि रेस्टुरेन्ट प्रवेश गर्छन्। शौचको समस्या खपिनसक्नु भएपछि पाहुना रेस्टुरेन्ट, होटलका शौचालय प्रयोग गर्न आउँछन्। पोखरामा बर्सेनि चार लाख हाराहारीमा विदेशी पाहुना आउँछन्। झन्डै त्यत्तिकै संख्यामा आन्तरिक पाहुना पनि आउने अनुमान छ। तर, ती पाहुनाका लागि आवश्यक पर्ने सार्वजनिक शौचालय लेकसाइड क्षेत्रमा नरहेको उनले बताए। ‘हामीले शौचालयको सुविधा दिन सकेका छैनांै, अरु कुरा नगर्दा नै हुन्छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी) का महासचिवसमेत रहेको गौतमले भने, ‘हामीले पनि यो समस्या भोगेका हुन्छौं। शौचालयको समस्या जो कोहीलाई पर्न सक्छ।’ २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने तयारी गरिरहँदा सार्वजनिक शौचालयको यो समस्यालाई कमजोर आँक्न नहुने उनले बताए। ‘शौचालय मात्र होइन, यहाँ पानी पर्दा ओत लाग्ने ठाउँ पनि कतै छैन,’ गौतमले भने। व्यवसायीका अनुभवमा शौचालय प्रयोग गर्नका लागि रेस्टुरेन्ट छिरेका कतिपय पाहुना खानपिन समेत गर्छन्। केहीले चिया कफी पिउँछन्। केहीले पानी किन्ने निहुँमा शौचालय प्रयोग गरेर हिँड्छन्। कतिपय पाहुना भने ‘मेनु’ हेरेर फर्किन्छन्। ‘यत्तिकै शौचालय प्रयोेग गर्न अप्ठेरो मानेर होला, कुनै न कुनै निहुँमा विदेशी रेस्टुरेन्ट छिर्छन्, कतिपयले खान्छन्, केही मेनु हेरेर फर्किन्छन्,’ गौतमले भने, ‘हामीले त्यो बेला व्यापार मात्र हेर्दैनौ। पाहुनालाई सेवा पनि दिन्छौं। लेकसाइडमा आउजाउ गर्ने पर्यटकको सुविधाका लागि मोबाइल ट्वाइलेट बनाउन बारम्बार आग्रह गरेको भए पनि सुनुवाइ नभएको उनले बताए। ‘हामीले पोखरा महानगरपालिकालाई बारम्बार शौचालय आवश्यक रहेको जानकारी गराएका हौं, तर, महानगरले यो सुनुवाइ नै गरेको छैन,’ उनले भने, ‘आधारभूत सामान्य सुविधा पनि हामीले पर्यटकलाई दिन सकेनौं भने यसबाट पर्यटनमा सकारात्मक प्रभाव पर्दैैन।’ खुला दिसामुक्त राष्ट्र र जिल्लामा शौचालय अभावमा पाहुनाले दुख पाउनुपर्ने अवस्थालाई सामान्य मान्न नहुने उनले बताए। सार्वजनिक स्थानमा शौचालय नभएको भन्ने सर्वत्र गुनासोपछि पोखरा महानगरपालिकाले विभिन्न आठवटा ठाउँमा सुविधासम्पन्न शौचालय बनाउने निर्णय गर्दै गत फागुनमा टेन्डरसमेत आह्वान गरेको थियो। पोखराको हरिचोक, मालपोत कार्यालय नजिकै, राष्ट्रबैंकचोक, हल्लनचोक, हेम्जाको मिलनचोक, दोबिल्लालगायत ठाउँमा शौचालय बनाउने महानगरको योजना रहे पनि जग्गा अभावले कतिपय ठाउँमा बनाउन नसकेको महानगरका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। उनका अनुसार बाराहीघाटमा शौचालय बनेको छ। तर, हल्लनचोकमा विवादले रोकिएको छ। त्यस्तै मालपोत कार्यलयनजिक पनि शौचालय बनिसकेको छ। तर, हरिचोकमा बनाउन सकिएको छैन। मान्छेको बढी भीडभाड हुने ठाउँमा शौचालय आवश्यक छ। तर, सबै ठाउँमा एकैपटक शौचालय बनाउन सकिएन,’ सुवेदीले भने, ‘लेकसाइडमा शौचालय अभाव भएको हामीले महसुस गरेकै हो। तर, ठाउँ अभावले पनि रोकिएको हो।’ उनका अनुसार बसुन्धरा पार्कभित्रको शौचालय पनि अहिले प्रयोगमा छ। त्यस्तै रत्नमन्दिर आडमा पनि शौचालय बनाउने योजना महानगरले बनाएको सुवेदीले बताए। अहिले सञ्चालनमा रहेका शौचालयले लेकसाइड मात्र नभई अन्यत्र पनि पुगेको छैन। मान्छेको बढी भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालय आवश्यक हो,’ उनले भने, ‘आगामी वर्ष लेकसाइड र अन्यत्र केही शौचालय थपिनेछन्।’ स्थायी रुपमा शौचालय बनाउन सक्ने अवस्था नरहे मोबाइल ट्वाइलेट भए पनि बनाएर कामचलाउ गराउने उनले बताए। श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार