नेपालको विकासमा चीन साझेदार……….

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन्।नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सीले साँझ उनको सम्मानमा होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।उनी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा काठमाडौं आएका हुन्। रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरेदेखि काठमाडौंसम्म सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्धता जनाए।सीले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्डमा रूपान्तरण हुन चीनले सघाउने पनि बताए।उनले भूकम्पपछिको पुनर्निर्माणका लागि चीनको सहयोगमा अघि बढेका परियोजनालाई पनि द्रुत गतिमा पूरा गर्ने प्रतिबद्धता जनाए। आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ।चीन र नेपालबीच कुनै समस्या नभएको मित्रता मात्र छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ,’ उनले भने, ‘दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’ राष्ट्रपति सीले नेपालमा आफ्नो पहिलो भ्रमण भएको उल्लेख गर्दै चीन–नेपाल औपचारिक सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई देशबीच कुनै समस्या नभएको र मित्रता मात्रै भएको स्पष्ट पारे।उनले नेपाल आउँदा पुराना तथा नयाँ साथीसँग भेट भएको बताए। उनले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए। सीले राष्ट्रपति भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको जानकारी पनि गराए।उनले जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत बताए।सीले आफू शरद ऋतुमा नेपाल आएको, यहाँ हजारौं फूल फुलेको र नेपालको राजनीतिक स्थायित्व र सामाजिक सद्भाव देख्दा खुसी लागेको बताए।नेपालका बढीभन्दा बढी सहरलाई चिनियाँ सहरहरूसँग भगिनी सम्बन्ध स्थापित गर्न चाहेको उल्लेख गरे।उनले लुम्बिनी बुद्धको जन्मस्थल भएकाले चीनमा बौद्ध धर्म मान्नेहरूको संख्या बढी नै भएको र सोे स्थानीयको धर्मसमेत बनेको बताए। राष्ट्रपति भण्डारीले पनि रात्रिभोजलाई सम्बोधन गर्दै नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताइन्।उनले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन्।उनले नेपालमा चिनियाँ लगानीका लागि सीसमक्ष आग्रह गरिन्।राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्धता रहेको स्पष्ट पारिन्।‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपालको भूमि चीनको हितविपरीत प्रयोग हुन दिँदैनौं,’ उनले भनिन्।नेपाली जनताले छनोट गरेको विकासको पथलाई चीनले समर्थन गर्दै आएको जनाउँदै राष्ट्रपति भण्डारीले सीमावारपार कनेक्टिभिटीको पूर्वाधारमा जोड दिँदै आएको बताइन्। उनले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन चाहेको बताउँदै नेपालको विकासमा चीनको साझेदारी आवश्यक रहेको स्पष्ट पार्दै चिनियाँ पक्षलाई पूर्वाधार र जलस्रोतलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरिन्।चिनियाँ लगानीको पूर्ण सुरक्षा नेपाल सरकारले लिनेसमेत उनले स्पष्ट पारिन्।उनले आगामी वर्ष हुने सगरमाथा डाइलगमा चीन सरकारको तर्फबाट उच्च तहको सहभागिताको अपेक्षा गरेको समेत जानकारी गराइन् ।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार