महरा र आलम पक्राउबारे संसद् सचिवालयको दुईथरी भाषा……….

काठमाडौं – संसद् सचिवालयले निवर्तमान सभामुख कृष्णबहादुर महरा र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद् मोहम्मद आफताब आलमलाई फरक–फरक भाषा प्रयोग गरी सूचना जारी गरेको छ। दुवै संविधानको धारा १०३ अनुसार पक्राउ परे पनि संसद् सचिवालयले महरालाई नियन्त्रणमा लिइएको र आलमलाई पक्राउ गरेको उल्लेख गरी सूचना प्रकाशित गरेको हो। संविधानको सोही धाराबमोजिम पक्राउ गर्दा कोहीलाई नियन्त्रणमा लिएको र कोहीलाई पक्राउ गरिएको भन्ने शब्द प्रयोग गरिएको छ। नेपाली वृहत् शब्दकोषमा पक्राउ भन्नाले पूर्जी दिएर पक्राउ गरिएको कुरा उल्लेख गरेको छ भने नियन्त्रण भन्नाले नियम वा बन्धनमा राख्ने काम, शक्ति प्रयोगबाट हुने वा गरिने अशान्त स्थितिको दमन भन्ने उल्लेख गरेको छ। संविधानको धारा १०३ को उपधारा ६ को प्रतिवन्धात्मक वाक्यांशमा भनिएको छ, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले वाधा पु-याएको मानिने छैन। निवर्तमान सभामुख महरालाई १९ गते पक्राउ गरिएको थियो भने आलमलाई आइतबार पक्राउ गरिएको थियो। संसद् सचिवालय स्रोतले भन्यो, ‘प्रहरीले जे भाषा प्रयोग गरेर संसद् सचिवालयलाई चिठी पठायो त्यो भाषालाई उल्लेख गरेर सूचना जारी गरिएको छ। जबरजस्तीकरणी उद्योग मुद्दाको अनुसन्धानका लागि संविधानको धारा १०३ बमोजिम निवर्तमान सभामुख महरालाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ भने नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमलाई कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको उल्लेख गरेको छ। संसद् सचिवालयले असोज २३ गते निवर्तमान सभामुख कृष्णबहादुर महराको नियमावलीको व्यवस्थाबमोजिम सांसदको हैसियतमा काम गर्न नपाउने र सेवा सुविधा स्थगित गरिएको सूचना प्रकाशित गरेको थियो। कांग्रेस सांसद आलमलाई सांसदको हैसियतमा काम गर्न नपाउने र सेवासुविधा स्थगित गरिएकोबारे सोमबार सूचना जारी गरिएको  थियो।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार