ओली–दाहाल विवादमा नेपाल मौन………

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्। पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पार्टीका अध्यक्ष दाहालले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन्। उनले पार्टीका पछिल्ला गतिविधि र ओली दाहालबीच देखिएको आन्तरिक विवादमा केही पनि बोलेका छैनन्। पार्टी एकताको समयमा भएको मध्ये आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दे पूर्वएमालेका नेतासँगको भेटघाटलाई अध्यक्ष दाहालले तिव्रता दिएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी वा सरकारमध्ये एक जिम्मेवारी दिने आश्वसन दिए पनि बेलाबखत धोका महशुस गर्दै आएका छन्। ओलीले भने समय नै नआई दाहालले हतार गर्न थालेको भन्दै समयआएपछि कार्यान्वययनतर्पm जाने बताउन थालेका छन्। दसंैलगत्तै दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई घरमै पुगेर भेटघाट गरेका थिए। पोखरेलसँग करिब डेढ घण्टा छलफल गरेका दाहालले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि छलफल गरेका थिए। पार्टी एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। तर पछिल्लो समय कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने विषयमा दाहाल पोखरेल एक ठाउँमा उभिएका छन्। पार्टी एकताको बेला वरिष्ठ नेताका रूपमा रहेका नेपाललको वरिष्ठता(मर्यादा)क्रम खोस्ने बेला ओली खनाललाई दाहालले साथ दिएपछि दाहाल नेपालबीचमा सम्बन्ध सुमधुर बन्न सकेको छैन। गौतमलाई उपाध्यक्ष बनाउने नेपालको वरिष्ठ मर्यादाक्रम खोस्नेबारे सहमति जनाएपछि दाहाल नेपालबीच सम्बन्ध चिसिएको थियो। तर प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर जाँदा ओली नेपालबीच भएको तिक्तता मिलाउने प्रयास भने दाहालले गरेपछि केही सुधार भए पनि नेपालले दहाललाई सिधा विश्वास गर्न सकेका छैनन्। ओलीले सहमति कार्यान्वयन नगर्ने संकेत गरेको भन्दै नेपालसँग गुनासो गर्न पुगेका दहाललाई नेपालले तपाईंहरूको समझदारीको विषयमा पार्टीले चिनेको छैन, अहिले यो विषय उठानु नै उपयुक्त होइन। बरु तपाईंहरू दुवैजना बसेर मिलाउनुस् भन्ने जवाफ दिएका थिए। ‘विषय के हो भन्नेबारेमा पार्टीभित्र छलफल त हुन्छ होला। त्यसकारण त्यहीँ छलफल गरौंला भन्ने जवाफ दिनुभएको छ यस विषयमा उहाँले खासै रुचि दिनुभएको देखिएन,’ नेपालनिकट स्रोतले भन्यो। भदौ ५ गते ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि दाहालले बैठक राख्ने अधिकार पाएका थिए। उनले त्यो अधिकार अब आफूले सधै पाएको भन्दै निकटका नेतालाई बोलाएर भनेका समेत थिए। ओली सिंगापुर छँदै एकपटक सचिवालयको बैठक राखेर अन्तरपार्टी निर्देशन जारी गरेपछि अर्को बैठकको तोकेर पनि राख्न सकेनन्। अर्को बैठक राख्न खोज्दा महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भन्दै सिगापुर गए भने त्यसपछि गौतम पनि उतै लागे। दाहालनिकट स्रोतका अनुसार त्यही बेलादेखि उनले धोका महशुस गरेका थिए। ‘दाहालले जब दोस्रो बैठक राख्न खोजे त्यसपछि महासचिव नै सिंगापुर गएर बस्नु नै उहाँका लागि घात भएको आभाष हुन्छ,’ दाहाल निकट एक सदस्यले भने। नेपाल, खनाल र गौतमपछि दाहाल सिधै पश्चिमतिर लागेका थिए। उनले सुदूरपश्चिमका नेता भीम रावलसँग पनि सोही प्रकारको गुनासो गरेका थिए। धनगढीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी दाहालले रावलसँग छुट्टै कुराकानी गरेका थिए। रावल निकट स्रोतका अनुसार दुई नेताबीच धनगढीमा करिब ४५ मिनेट कुराकानी भएको थियो। दाहालले प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी एकिकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए। रावलले दुई नेताबीच भएको सहमति वा समझदारी के हो त्यसले पार्टीको बैठकमा प्रवेश पाउनुपर्ने बताएका थिए। उनले दुई नेतालाई आपूmहरूले अध्यक्ष मानेपछि समझदारी कार्यान्वयन गर्नतर्फ आफूहरूको जोड रहेने पनि बताएका थिए।

वामदेवको ‘उपाध्यक्ष’ पद अलपत्र

वामदेव गौतमलाई सचिवालय सदस्यबाट उपाध्यक्षमा बढुवा गर्ने निर्णय गरेको दुई महिना बितिसक्दा पनि औपचारिक रूपमा बढुवा भएका छैनन्। सचिवालय एक बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेव गौतमलाई लक्षित गरेर तपार्इं त उपाध्यक्ष भइसक्नु भएको होइन भन्दा गौतमले मलाई उपाध्यक्ष नभन्नुस् भनेका थिए। ३१ साउनमा बसेको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय भएको थियो। पार्टीको विधानमै नभएको पार्टी उपाध्यक्ष पदको अनुमोदन स्थायी कमिटी बैठकबाट गर्ने निर्णय भए पनि स्थायी कमिटीको बैठक अहिलेसम्म बसेको छैन। पार्टीको विधानमा ६/६ महिनामा बस्नुपर्नेमा गत वर्ष पौष १२ गतेपछि स्थायी कमिटीको बैठक बस्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली अजरवैजान जानुअघि स्थायी कमिटीको बैठक बस्ने अवस्था छैन। गत शनिबार बोलाएको सचिवालय बैठक सचिवालयका सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ चीनतर्फ र अध्यक्ष दाहाल काठमाडौबाहिर भएका कारण बस्न सकेन। अहिले गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा जापान गएका छन्। प्रधानमन्त्री पनि असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते अजरबैजानको बाकुतर्फ जाने भएपछि सचिवालय बैठक उनी नआउँदासम्म अनिश्चित बनेको छ।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार