१७ हजार हेक्टर धानबालीमा क्षति……….

नेपालगन्ज – करिब दुई सातादेखि सुरु भएको फौजी किराको प्रकोपले बाँकेमा १७ हजार हेक्टर धानबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार जिल्लामा कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा झण्डै ४७ प्रतिशत बालीमा फौजी किराले क्षति पु-याएको हो। गत असोज दोस्रो साताबाट देखा परेको फौजी किराको प्रकोप झन् बढ्दै गएको केन्द्र प्रमुख सागर ढकालले बताए। ‘फौजी किरा नियन्त्रणका लागि सबै प्रयास जारी राखेका छौं, तर झन् बढ्दै गएको छ,’ उनले नागरिकसँग भने। फौजी किराले छिटो पाकेको धान सखाप पारिसकेको र ढिलो पाक्ने धान पनि जोखिममा रहेको ढकालले बताए। केन्द्रले पीडित किसानलाई विषादी वितरण, धान जोगाउने तरिकाबारे आवश्यक सूचना प्रवाह गरिरहेको उनले जनाए। किरा नियन्त्रण गर्ने विषादी अभाव हुँदा नियन्त्रण गर्न समस्या भइरहेको केन्द्रले जनाएको छ। केन्द्रसँग किरा नियन्त्रणका लागि बजेट नभएको ढकालको भनाइ छ। केन्द्रले अहिलेसम्म करिब ५० हजार रुपैयाँ बराबरको विषादी किसानलाई वितरण गरिसकेको छ। खजुरास्थित प्रयोगशालाबाट पनि विषादी मगाएर किसानलाई वितरण गरिएको छ। तर, किसानले पर्याप्त मात्रामा विषादी नपाएको गुनासो गरेका छन्। प्रमुख ढकालले थपे, ‘किसानले मागेजति विषादी वितरण गर्न सक्ने अवस्था नै छैन, मन्त्रालयसँग पनि समन्वय गरेर थप विषादी मगाउने प्रयास गरिरहेका छौं। किराको प्रकोपले राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौंना र फत्तेपुर, डुडुवा गाउँपालिकाको हिरमिनिया, होलिया र बेतहनी तथा नेपालगन्ज उपमहानगरपालिकाको पुरैना र पुरैनीलगायत क्षेत्रमा बढी क्षति गरेको छ। यसबाहेक जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिका क्षेत्रमा पनि किराको प्रकोप फैलिएको केन्द्र प्रमुख ढकालले बताए। किराको प्रकोप नियन्त्रणमा नआउँदा किसान चिन्तित भएका छन्। फौजी शैलीमा आक्रमण गर्ने किराले धानको बाला काटेर दिनहुँ नोक्सानी पु-याइरहेको छ। किसानका अनुसार फौजी किरा दिनभर धानको बोट मुनि बस्छ भने रात परेपछि धानको बाला काट्न थाल्छ। किराले एकै रातमा सयौं बिघा धानबाली काट्ने गरेको छ। किसानले रात परेपछि विषादी छर्किनुपर्ने र विषादीको मात्रालाई ध्यान दिनुपर्ने कृषि प्राविधिकले सुझाव दिँदै आएका छन्। तर, रातको समयमा विषादी छर्किदा पनि किरा नमरेको किसान बताउँछन्। प्रकोपका कारण यसवर्ष धानको उत्पादन ह्वात्तै घट्ने किसानको चिन्ता छ। कतिपय किसान किराले काटेको धान खेतबाट बटुल्न थालेका छन्। त्यसरी बटुल्दा झण्झटिलो हुने र सबै धान खेतमै झर्ने किसानको भनाइ छ। डुडुवा गाउँपालिका–१ होलियाका किसान धु्रबराज शर्माले विषादी छर्किदा पनि फौजी किरा नियन्त्रणमा नआएको दुखेसो पोखे। किराले आफ्नो तीन बिघा खेतमा रोपेको धानमा क्षति गरेको उनले बताए। ‘फौजी किरा नियन्त्रणमा आउँला भनेको त झन् बढ्दै गएको छ,’ शर्माले भने, ‘किरा नियन्त्रणको पहल गरिदिन कृषि ज्ञान केन्द्र, जिल्ला प्रशासनलगायत सरकारी निकायमा ज्ञापन पत्र पनि बुझाइयो, कुनै पहल भएन।

मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पीडित किसानले फौजी किरा नियन्त्रणको पहल गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि ज्ञापन पत्र बुझाएका छन्। नेपालगन्ज आइपुगेका पोखरेललाई मंगलबार बाँकेका पीडित किसानको तर्फबाट ज्ञापन पत्र बुझाइएको हो। पीडित किसान राजकुमार शुक्लालगायतले हस्ताक्षर गरेको ज्ञापन पत्रमा फौजी किरा नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने, फौजी किराबाट भएको धानबालीको क्षतिको अनुगमन तथा मूल्यांकन गरी अबिलम्व क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, आगामी दिनमा लगाइने अन्नबाली, दलहन, तेलहन बाली र तरकारीमा लाग्ने रोगबाट बच्नका लागि पूर्वतयारी तथा अभ्यासको सुरुवात गर्ने व्यवस्था गर्नुपर्ने, कृषकको सहभागितामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने र कृषिसँग सम्बन्धित कार्यालयमा तत्काल सेवा प्रवाहका लागि आवश्यक सुविधा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार