सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा……..

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटुल गर्ने बताएको थियो। तर, राष्ट्रपति सी हिँड्ने रुटमा मात्रै रातारात कालोपत्रे भयो, अन्त भएन। सी जाने रुटको तीनकुने, बानेश्वर, सुन्धारा, जमल, त्रिपुरेश्वर, सोल्टी होटललगायत सडकखण्डमा कालोपत्रे भएको छ। गौशाला, मित्रपार्क, चावहिल, पुतलीसडकलगायत क्षेत्रका सडकमा भने अहिले खाल्डैखाल्डा छन्। ती सडकमा खाल्डा पुर्न सरकारले चासो दिएको छैन। सडकमा खाल्डा हुँदा चालक र यात्रु मारमा परेका छन्। यसबाट सर्वसाधारणसमेत आक्रान्त छन्। मित्रपार्कका स्थानीय सुरेश कार्की सडकका खाल्डाखुल्डी टालटुल गर्न सरकारले बेवास्ता गरेको बताउँछन्। ‘सरकारले विदेशी पाहुना आउँदा मात्रै देखावटीको लागि सडक कालोपत्रे गर्छ। अन्य समयमा काम नै गर्दैन,’ उनी भन्छन्, ‘समयमा सडक मर्मत नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ।’ सरकारले मित्रपार्क, चावहिल खण्डमा सडक कालोपत्रे नगरी चिनियाँ राष्ट्रपति सी जाने रुटको सडकमा मात्रै सडक कालोपत्रे गरेको उनले गुनासो छ। ‘सी आउने भएपछि सडक विभागले रातारात सडक कालोपत्रे थाल्यो,’ उनले भने, ‘अन्य ठाउँमा पनि सडक कालोपत्रे हुने भन्ने आश गरेको थिएँ। तर, भएन।’ सडकका खाल्डाखुल्डी भएकाले यात्रुले हैरानी खेपेको उनले बताए। विदेशी पाहुना आउँदा मात्रै सडक मर्मत हुने गरेको उनको आरोप छ। उनले भने, ‘बेलाबेलामा विदेशी पाहुना नआए त देशको विकास नै नहुने रैछ।’ सरकारले तत्काल सडकका खाल्डा कालोपत्रे गर्नुपर्ने चावहिलवासीको माग छ। सीको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौंका विभिन्न स्थानका झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मत गरेको थियो। सरकारले सीको स्वागतका लागि अपत्यारिलो सजावट देखाएपछि सरकारको चर्काे आलोचना भएको थियो। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले सडक टालटुल निरन्तर भइरहेको दाबी गर्छन्। ‘विदेशी पाहुना आउँदा मात्रै सडक मर्मत हुने होइन, सडक मर्मत नियमित योजनामै छ,’ उनी भन्छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले वर्षात्का कारण सडकको खाल्डा पुर्न योजना कार्यान्वयनमा समस्या भइरहेको बताउँछन्। ‘हाम्रो क्षेत्रभित्रको सडक टालटुल गर्न टेन्डर भइसकेको छ,’ उनले भने, ‘वर्षात्को सिजन पनि सकिएकाले अब सडक मर्मतको काम थाल्छौं।’ उनका अनुसार महानगरभित्रका सबै सडक मर्मतका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार