हाम्रा व्यथा कसले सुन्ने ………

सुर्खेत – पूर्वी सुर्खेत धारापानीका कृपासिंह घर्ती अहिले ३१ वर्षका भए। उनी १३ वर्षको छँदा बुवा पुष्करलाई तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण ग-यो। त्यसयता उनको अत्तोपत्तो छैन्। कमाउने घरमुली माओवादी अपहरणमा परेपछि कृपासिंहका दुःखका दिन सुरु भए। ‘सानै उमेरमा पारिवारिक जिम्मेवारी आइलाग्यो, पढ्न पाइएन्,’ उनले भने, ‘त्योभन्दा ठूलो पीडा बुवाको सास वा लास नदेख्दा भइरहेको छ।’ २०५८ जेठ २८ गते मालारानीको गैरीबजार जाने क्रममा पुष्करलाई माओवादीले अपहरण गरेका थिए। तत्कालीन शाही नेपाली सेनाको सुराकी गरेको आरोप माओवादीले पुष्करमाथि लगाएको थियो। ‘अपहरणकर्ताले न मा-यौं भने न अहिलेसम्म बुवा यहाँ हुनुहुन्छ भनेर भनेका छन्,’ कृपासिंहले भने, ‘एउटा परिवारका लागि योभन्दा ठूलो पीडा के हुन्छ। त्यस्तै २०६० साउन २३ गते तत्कालीन शाही नेपाली सेनाले रामघाटकी दीपा वलीलाई नियन्त्रणमा लिएर छिन्चु ब्यारेक पु-यायो। केही दिनपछि घरमा दीपाले लेखेको चिठी आइपुग्यो। ‘बुवा ! बाघको पञ्जामा छु। कति खेर खान्छन् थाहा छैन्। जसरी पनि बचाउनु होस्,’ उनले लेखेकी थिइन्। सेनाको नियन्त्रणमा रहेकी उनलाई छुटाउन परिवारले हरसम्भव प्रयास गरे पनि अहिलेसम्म अवस्था खुल्न सकेको छैन। छोरीको चिठी पढेको केही समयमै दीपाका बुवाको हृदयघातले मृत्यु भयो। दीपाकी आमा सुशीला प्यारालाइसिसले थलिएकी छिन्। ‘छोरीको पीरले बुवा बित्नुभयो, आमाको शरिरको कुनै अंग चल्दैन्,’ बहिनी राजकुमारीले भनिन्, ‘द्वन्द्वले हाम्रो पूरै परिवार तहसनहस पा-यो।’ राजकुमारी दिदी दीपा अपहरण्मा पर्दा १२ वर्षकी थिइन्। द्वन्द्वकालामा बर्दियाका राजु खड्का जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत थिए। २०५७ चैत १ गते प्युठानमा राष्ट्र बैंकको पैसा पु-याउन गएका उनको टोलीमाथि माओवादीले आक्रमण ग-यो। १२ जनाको टोलीमध्ये उनी र अरु दुईजना बाँच्न सफल भए। माओवादी आक्रमण्मा बाँचेका उनलाई प्रहरीले माओवादीसँग मिलेको आरोप मात्रै लगाएन्, पेन्सन हुन लागेको जागिरबाटै निकाल्यो। आफूले काम गर्ने निकायको कारबाहीमा परेपछि घर आएका उनलाई माओवादीले सुराकीको आरोप लगायो। ‘घर–सम्पत्ति लुटियो, घरमा बस्ने वातावरण नभएपछि भारत पस्नुभयो,’ छोरी गरिमाले भनिन्, ‘यातनापीडितहरु अहिले पनि पीडामै छन्।’ गरिमाका बुवा अहिले प्यारालाइसिसले थलिएका छन्। आमा पनि अशक्त छिन्। द्वन्द्वपीडित साझा चौतारीले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘सत्यको बयान’ कार्यक्रममा कृपासिंह र गरिमा पाँच जिल्लाका किशोर–किशोरीहरुले बाल्यकालमा भोगेका द्वन्द्वका पीडा यसरी पोखेका थिए। २०५९ साउनमा बुवालाई तत्कालिन विद्रोही नेकपा माओवादीले हत्या गर्दा बर्दियाकी बीना चौधरी सात वर्षकी थिइन्। उनी अहिले २४ वर्षकी भइन्। ‘बुवालाई मोटरसाइकलमा बाँधेर घिसार्दै लगेको अहिले पनि सम्झना छ,’ उनले भनिन्, ‘बुवा मार्ने मान्छे आफ्नै आँखाअघि हुँदा पनि हामीले केही गर्न सकेका छैनौं।’ घरको कमाउने मुलीलाई विद्रोहीले हत्या गरेपछि उनले पढ्न पाइनन्। ‘बुवाको पीरले आमा थला पर्नुभयो, कमाउने मानिस नहुँदा मैले पढ्न पाइन्,’ उनले भनिन्, ‘सशस्त्र द्वन्द्वपीडित हामीजस्ता न्याय नपाउँदा निरास छौं। राज्यले संक्रमणकालीन न्याय तत्काल नटुंग्याए आन्दोलन गर्ने चेतावनी दिन्छन् द्वन्द्वपीडित। ‘द्वन्द्वका क्रममा हामीले हाम्रा अभिभावक गुमायौं, त्यो पीडा अहिले पनि भुल्न सकेका छैनौं,’ बाँके राप्तीपारी बैजापुरकी सीमा चौधरीले भनिन्, ‘राज्यले समयमै पीडितहरुको समस्या सुनेर समाधान नगरे अर्को द्वन्द्वको सुनुवात हुन्छ।’ द्वन्द्वपीडितले शिक्षा, स्वास्थ्य र रोजगारीको पनि माग गरेका छन्। द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुनम अधिकारीले द्वन्द्वका क्रममा बाल्यकालमा भोगेका पीडा, त्यसको असर र प्रभावलाई समेटेर राज्यका निकायसम्म पु-याउन सत्यको बयान सुरु गरिएको बताए। ‘शान्ति प्रक्रिया सुरु भएको लामो समयसम्म पनि द्वन्द्वपीडितले न्याय पाएका छैनन्,’ उनले भने, पीडितका पीडालाई राज्यका माथिल्ला निकायसम्म पु-याउन यो कार्यक्रम सुरु गरेका हौं।’ कार्यक्रममा सुर्खेतसहित दैलेख, बाँके, बर्दिया र जाजरकोटका द्वन्द्वपीडितको सहभागिता थियो।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार