लान क्वाई फोङ आन्दोलनकारीहरुको निशानामा

  - बगैँचा सम्वाददाता

हङकङमा रात्रीकालिन मोजमज्जाको लागि ख्याती कमाएको ब्यापारिक क्षेत्र लान क्वाई फोङ आन्दोलनकारीहरुको निशानामा परेको छ। बिहीवार साझ “हालोविन साझ” को तयारी गरिरहेका लान क्वाई फोङमा रेस्टुरेन्ट/बार सन्चालन गरिरहेका ब्याबसायीहरु यतिखेर गम्भीर चिन्ता र त्रासमा रुमालिएका छन।

आन्दोलनकारीहरुको लोकप्रिय अनलाइन मन्च एलआईएचकेजी मार्फत कोजवे बे को भिक्टोरिया पार्कबाट लान क्वाइ फोङ सम्म सरकारी अधिकारीहरुको अनुहार झल्काउने मास्क लगाएर जुलुस प्रदर्शन गर्न आह्वान गरिए पछि उक्त त्रास उत्पन्न भएको हो।
उक्त खबर प्राप्त भए पछि प्रदर्शनकारीहरुको हिंसात्कम गतिविधि रोक्न सुरक्षाको लागी बिहीवार साझ तीन वाटर क्यानन बख्तरबन्द सहित ३००० दङ्गा प्रहरी तैनाथ भएका थिए। जसमा अपरान्ह ५ बजे बाटै तीन हाउ बाट सेन्ट्रल सम्म सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो भने प्रमुख कार्यकारीको कार्यालय बाहिर पट्टि र बेजिङको सम्पर्क कार्यालयमा सम्भावित मुठभेटको सामना गर्न वाटर क्यानन तैनाथ गरिएको साउथ चाइना मर्निङ पोस्टले बताएको छ। आन्दोलनकारीहरु एकत्रित हुन अगावै सुरक्षाकर्मीहरु तैनाथ भएका थिए।

सुरक्षाकर्मीहरुले रेल स्टेशनहरू र सवारी साधनहरू लगायत विभिन्न स्थानहरूमा स्टप एण्ड सर्च अभियानहरू सञ्चालन गरेका छन। कतिपय आन्दोलन समर्थकहरुले अग्र पङ्तीका लडाकू प्रदर्शनकारीहरूलाई हतियार, पेट्रोल बम र सुरक्षा गियर पुर्‍याउन सहयोग पुर्याएको प्रहरीको आशंका गरेको छ। लान क्वाइ फोङ क्षेत्रमा ठूलो सङ्ख्यामा अन्डरकभर सुरक्षाकर्मीहरु तैनाथ गरि स्थितको अनुगमन गरिरहेका छन। सडक, बारहरुमा मास्क लगाई हेलोवीन मनाउनुको सट्टा सरकार बिरुद्द नाराबाजी गर्नेहरुलाई प्रहरिले मास्क उतार्ने अनुरोध गर्ने भएका छन।मास्क लगाई अनधिकृत भेला भएको शंका लागे प्रहरीले उनीहरूलाई मास्क हटाउन र मेकअप सफा गर्न समेत आग्रह गर्नेछ्न।एक उच्च प्रहरी अधिकृतले भनेको छ “यदि व्यक्तिले ठूलो झोला बोकेको देखेमा हामी सचेत हुनेछौं, जसमा हतियार वा विस्फोटक वस्तुहरू जस्तै पेट्रोल बम भण्डारण भएको हुन सक्छ, त्यस्ता शङ्कास्पदहरु उपर पहिचान जाँच गर्न अनुहारका मास्क र पेन्टिङहरु समेत हटाउन अनुरोध गरिने छ।हाम्रो आदेशलाई वेवास्ता गर्नेहरू मास्क विरोधी कानूनको उल्लंघन गरेको ठहर गरि पक्राउ गरिनेछ,”। गत अक्टोबर ४ मा सरकारले प्रदर्शनमा मास्क लगाउन नपाइने कानुन लगाएको हो।

लान क्वाई फोङका सस्थापक एलन जेम्यानका अनुसार यो पटक गत बर्ष भन्दा ३०% उपस्थिती घट्ने बताएका छन। गत बर्ष हेलोवीनको मनोरञ्जन लिन एक लाख बीस हजार उपस्थित भएका थिए।

लान क्वाई फोङ ब्याबसायीहरु चिन्तित, व्यापार चौपट

लामो समय बाट लाङ क्वाई फोङमा आफ्नै लगानीमा रेस्टुरेन्ट बार सन्चालन गर्दै आएकि पोखरेली कविता गुरुङ चिन्ता र त्रासले बेचैन छिन। आन्दोलन सुरु भए पछि ब्यापार झन्डै ४०% ले ओरालो लागेको छ। बिहीवार हेलोवीनको साझ राम्रो व्यापार हुने आशा गरेकी थिईन।तर त्यो पनि आन्दोलनकारीहरुको उपस्थितिले चौपट बनाईदियो। बाहिर टेबल कुर्सी नराख्न, केही हुलदङ्गा भए रेस्टुरेन्ट बन्द गर्नु भन्ने ब्याबस्थापन बाट सुचना आएको बताउदै बगैचाडटकम सङ्ग कबिताले भनिन ” मेरो रेस्टुरेन्ट नजिकैको क्यालिफोर्निया टावर आन्दोलनकारीहरुको निशानामा छन, त्यहा चीनका धनाढ्यहरुको बाहुल्यता छ।बुधबार उक्त भवनको सिसाहरु सुरक्षाको लागि पुरै छोपिएको छ, त्यो देखेपछी झन त्रास बढेको छ। हुलदङ्गा भएर बन्द गर्नु पर्ने भयो भने झन्डै १ लाख डलर नोक्सान पर्नेछ”।

६ महिना पछि अधिकाम्स रेस्टुरेन्ट बन्द हुन सक्ने 

बर्तमानको स्थिती सुधार नहुने हो र आन्दोलन जारी रहने हो भने प्राय सबै रेस्टुरेन्ट बार हरु बन्द हुन सक्ने कबिताको ठहर छ। उनी भन्छिन ” छ महिना बाट हामी घाटामा छौ, तर पनि जसो तसो धानिरहेका छौ। घरबेटीले केही भाडा घटाईदिएको छ, तर त्यसले समस्या समाधान हुदैन, व्यापार राम्रो भए दशौ लाख डलर भए पनि भाडा तिर्न समस्या हुदैन, ब्यापार नै नभए दस हजार तिर्न पनि समस्या हुन्छ। यस्तै स्थिती रहे लाङ क्वाई फोङ ६ महिना पछि सबै रेस्टुरेन्ट बार हरु बन्द भएर भुतको बस्ती हुन सक्छ।

हङकङको स्थिती प्रतिकुल भए कबिताको रोजाई नेपाल

ए एन्ड बि क्षेत्रमा कामदार बाट मालिक सम्म हैसियत बनाएका कबिता आफ्नो लगानीको रेस्टुरेन्टहरु बन्द गर्नु परे नेपाल फर्कने मानसिकता बनाएकी छिन। आन्दोलनको कारणले हङकङको बिग्रदो परिस्थिति बाट अवसरको खोजीमा कतिपय नेपालीहरु बेलायत तिर हानिदैछ, तपाईं पनि उतै बसाई सर्ने हो कि? भनी बगैचाले सोधेको प्रश्नमा कविताले भनिन ” बेलायत जान चाहेमा कागजातहरु मौजुद छन तर बेलायत
को सट्टामा नेपाल नै जाने हो, बरु यति लामो समय बाट आर्जन गरेको आफ्नो शिप, अनुभव र कलालाई नेपालमै खर्चने सोच लिएको छु, खास मा भन्ने हो भने नेपालको बर्तमान अबस्था ठ्याक्कै हङकङको १५ बर्ष पहिलेको भाईब छ, अर्थात नेपालमा ब्यापार ब्याबसायको प्रचुर सम्भावना रहेको छ। नेपालमा लगानी गर्नु, ब्याबसाय गर्नु “राईट टाइम र राईट प्लेस हो”।कबिताका अनुसार रेस्टुरेन्ट बार मै म्यानेजर समेत भएर राम्रो कमाई गरिरहेका आफ्नो भाई नेपाल मै केही गर्न फर्की सकेको समेत बताइन।

परिस्थितिको आकलन गर्दै आन्दोलनकारीहरुको सम्भावित तोडफोड र आगजनी बाट बच्न रेल सेवा सन्चालक एमटिआर कर्पोरेसनले बिहीवार २ बजे बाट प्रीन्स एडवार्ड स्टेसन बन्द गरेको थियो भने भने सेन्ट्रल स्टेसन ९ बजे बाट बन्द गर्ने भएको थियो। साथै सम्पुर्ण स्टेसनहरु ११ बजे बाट बन्द गर्ने बताएको छ।परिस्थिति जटिल त्यो भन्दा अगाडि नै रेल सेवा बन्द गर्ने जनाएको छ।
हङकङमा सरकार बिरुद्द्को आन्दोलनले ५ महिना नाधी सकेको छ, आज बिहीवार साझ हङकङको विभिन्न स्थानहरुमा प्रदर्शनकारी र प्रहरी बिच हिंसात्कम मुठभेडहरु भैरहेका छन। आन्दोलन मथ्थर हुने कुनै सङ्केत देखिएको छैन।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार