हङकङका चार किरातहरु बीच धनुवाण प्रतियोगिता हुंदै

  टोपबहादुर याक्खा

७ नोभेम्बर, हङकङ– हङकङका चार किरातहरुः राई, लिम्बु, याक्खा र सुनुवार बीच किरातहरुको पौराणिक हतियार धनुवाण (आर्चरी) प्रतियोगिता हुने भएको छ ।
१७ नोभेम्बर २०१९ आइतबारका दिन लाइन रक आर्चरी क्लब हङकङमा हुन गइरहेको ‘प्रथम यलम्बर धनुवाण प्रतियोगिता २०१९’ मा दुई दर्जन बढि किराती पुरुष र महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने धनुवाण प्रतियोगिताका सह–संयोजक अभिव याक्खाले बताए । 
समय संगै ओझेलमा पर्दै गएको किरातहरुको पौराणिक शक्तिशाली हतियार धनुवाणलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नुका साथै चार किरातहरुबीचको एकतालाई अझ बलियो बनाउँने अभिप्रायले प्राविधिक रुपमा निक्कै कठिन भएता पनि धनुवाण प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक तथा थुलुङ सामाका अध्यक्ष राम्लि थुलुङ राईले बताए ।
पूर्खाहरुको विरासत थाम्दै चार किरातहरुको एकता हङकङबाट भएको शुभ समाचार देश विदेशमा सम्प्रेशण गर्नका लागि पनि धनुवाण प्रतियोगिता नै रोजिएको आयोजक किरात राई यायोक्खाका अध्यक्ष हरिचन्द्र राईले बताए ।
किरात राई यायोक्खा हङकङ आयोजक रहेको उक्त प्रतियोगिताका सह–आयोजक संस्थाहरु थुलुङ (राई) सामा हङकङ, किरात याक्खा छुम्मा हङकङ, किरात याक्थुम चुम्लङु हङकङ र सुनुवार समाज हङकङ रहेका छन् ।
प्रतियोगिहरुका लागि ५०० हङकङ डलर शुल्क राखिएको उक्त प्रतियोगितामा भाग लिन ईच्छुक १८ वर्ष पुगेका किराती खेलाडीहरुले १० नोभेम्बर २०१९ आइतबार सम्ममा फाराम बुझाउनु पर्ने सूचना समेत आयोजकले प्रेस विज्ञप्तिमा जारी गरेको छ ।
आयोजकको प्रेस विज्ञप्ति
===============
यहि मिति १७ नोभेम्वर २०१९ आईतबार, प्रथम यलम्बर धनु-वान प्रतियोगिता २०१९ आयोजना हुने भएकोछ । यो कार्यक्रमले पौराणिक हतियार धनु-वानलाई खेलको रुपमा पुनर्जीवित गर्दै हङकङमा बस्ने नेपालीहरुमाझ विशेष गरी युवाहरुलाई संस्कृतिक पुर्नस्थापना गर्ने लक्ष्य राखेको छ ।
धनु-वान चलाउनु, एक कला, खेल वा सीप हो । यो संसारमा अभ्यास भएको सबैभन्दा पुरानो कला मध्ये एक हो । यसको प्रयोग हजारौं बर्ष देखि अस्तित्व जोगाउन र शिकार खेल्न हतियारको रुपमा प्रयोग गरिन्दै आएको थियो । अहिले एक प्रख्यात खेलको रुपमा विकाश भएर गएकोछ । पौराणिक धनु-वानको प्रयोग नेपाल लगायत विश्वभरमा भेटिएको छ ।
शिकार खेल्दा, पैदल वा घोडामा बसि धनु-वानको प्रयोग गरिन्थ्यो । कुनै समयमा नेपाली धनुर्धारीहरूले बाँसको धनु र काँड प्रयोग गरेका थिए । पछि नया हतियारको विकाश संगै यसको प्रयोग हराउदै गयो । हाल खेलको रुपमा यसको प्रयोग समाजमा फर्किन्दै आईरहेको छ । तर आजको युवासँग यसले गहिरो सम्बन्ध बनाउनमा सकि रहेको छैन ।
प्रतियोगिताको लक्ष्य :
1. युवाहरूलाई संलग्न गराउन र उनीहरुलाई पुर्खाहरूको संस्कृतिमा पुन: जोड्न  ।
2. चार किरात / अदिबासी व्यक्तिहरुलाई संलग्न गराउन र एकता प्रज्वलित गर्न ।
3. धनु-वानलाई मूलधारमा फर्काउन ।
थुलुङ(राई) सामा हङकङ, किरात याक्खा छुम्मा हङकङ, सुनुवार सेवा समाज हङकङ, र किरात याक्थुम चुम्लुङ हङकङको सह आयोजनामा  किरात राई यायोक्खा हङकङले आयोजना गर्ने छ, यो एउटा माईलस्टोनको खेल हुनेछ जहाँ चार किरातहरू जातीय एकता कायम गर्दै कार्यक्रमको सह-आयोजना गर्ने छन् । यस कार्यक्रम पहिलो वर्ष भएकोले चार किरातहरु मात्र सीमित गरिएको छ तर भविष्यमा हङकङ सबै नेपालीहरुलाई यस खेलमा समावेश गरिने आयोजकले आशा गरेको छ ।
समुदाय भित्र धनु-वान विशेषज्ञको अभावका कारण Lion Rock Archery Club Hong Kong ले कार्यक्रमको प्राविधिक पक्ष र कार्यक्रम स्थल प्रदान गर्ने छ, २ घण्टा Training पछि २ घण्टा Competition गरिने छ । HK$ 500 को Registration शुल्कको लाग्ने छ । पुरुष र महिला दुबै सहभागीहरूले आ-आफ्ना जातीय संगठनहरूको माध्यमबाट यस कार्यक्रममा भाग लिन सक्ने छन ।
यस कार्यक्रमको दर्ता शुल्क र प्रायोजनको माध्यमबाट आयोजकहरू ले HK$ 60,000 कुल रकम उठाउने आशा गरेका छन । कार्यक्रममा खर्च भई बाँकी रकम एक विपन्न युवाहरूको लागि शिक्षा वा स्वास्थ्यसेवाको लागि वा कुनै पनि आपत सम्बन्धी आरक्षित गर्ने लक्ष रखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार