पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस…….

काठमाडौं – काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। ठेकेदार कम्पनी पप्पुले तिनकुनेमा निर्माणाधीन आर्क ब्रिज अलपत्र पारेको भन्दै आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो। आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदार कम्पनीले पुल निर्माणमा गम्भीर गल्ती गर्नुको साथै आयोजनाको निर्देशन बारम्बार अटेर गरेकाले ठेक्का तोडेको बताए। ‘एकतर्फ आयोजनाले ठेकेदार कम्पनीलाई गल्ती सुधार्न निर्देशन दिँदा बारम्बार अटेर ग¥यो, अर्कातिर उसले समयमै पुल निर्माण नगरेकाले ठेक्का सम्झौताअनुसार नै रद्द गरेका हौं,’ उनले भने,‘हामीले सम्पूर्ण प्रक्रिया पूरा गरेर ठेक्का तोडेका हौं।अब कालोसूचीमा राख्ने काम खरिद कार्यालयको हातमा छ।’ प्रवक्ता श्रेष्ठका अनुसार आयोजनाले ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको एडभान्स पेमेन्टबापतको दुई करोड७७ लाख रुपैयाँ धरौटी जफत गरिएको छ। पप्पुले राखेको कार्यसम्पादन जमानत रकम (पर्फर्मेन्स बन्ड) जफत गर्नको लागि बैंकलाई अनुरोध गरिसकेको पनि प्रवक्ता श्रेष्ठले बताए।सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले पनि पप्पु कन्सट्रसक्नले पुल निर्माणमा लापरवाही गरेकाले ठेक्का रद्द गरेको बताए। ‘पप्पुले पुल निर्माणमा गम्भीर त्रुटि गरेकाले सम्पूर्ण प्रक्रिया पूरा गरेर ठेक्का रद्द गरेका हौं,’ उनले भने। यसअघि संसद्को विकास तथा प्रविधि समितिले ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले पुलको फाउन्डेसन (जग)को पाइल निर्माणमा रहेको गम्भीर त्रुटि सच्याउन भनेको थियो। तर पप्पुले टेरेन। संसद्को विकास तथा प्रविधिसमितिको अध्ययन प्रतिवेदनले तीनकुने पुल निर्माणमा गम्भीर गल्ती फेला पारेको थियो। समितिले गत जेठमै ठेकेदार कम्पनीलाई कारवाही गर्न सिफारिस गरेपनि आयोजना र सडक विभागले आनाकानी गर्दै आएका थिए। ठेक्का सम्झौताअनुसार २९.५ मिटर गहिराइको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो। ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। त्यसैगरी, दुईवटा पाइल क्र्याक भएको प्राविधिक परीक्षणमा देखिएको छ। पप्पुले तीनकुनेको आर्क पुल २०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने लक्ष्सहित २०७१ पुस ९ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार वाग्मती नदीको उत्तर र दक्षिण दुवैतर्फ ८६ मिटर लामो तथा १७.२० चौडा पुल निर्माण गर्नुपर्ने हुन्छ। उक्त पुल निर्माण गर्न २१ करोड ३३ हजारमा ठेक्का सम्झौता भएको थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र कमसल निर्माणको कारण पुलले गति लिन सकेन। आयोजनाका प्रवक्ता श्रेष्ठले अब फेरि विज्ञबाट अध्ययन गराएर पुल निर्माणको काम अघि बढाइने बताए। ‘अब तीनकुनेमा पुल कसरी निर्माण गर्ने भन्ने विषयमा अध्ययन गर्नुपर्नेहुन्छ,’ उनले भने,‘मापदण्ड विपरीतको पुरानो संरचना हटाएर फेरि निर्माण कार्य अघि बढाइनेछ।’ प्रवक्ता श्रेष्ठले ठेक्का तोडिएसँगै अब नयाँ शिराबाट ठेक्का अगाडि बढाउने तयारी गरेको बताए। पप्पुले टेकुको पुल मापदण्ड विपरीत निर्माण गरेको सरकारले अझैपनि स्वीकार गरेको छैन। कमला, रौतहटको लालबकैया, बर्दियाको बबई र रातुपुल पनि समयमै निर्माण नगरेर अलपत्र पारेको छ।पप्पुले नै ठेक्का लिएको सुर्खेतको गिदेरी र भेरी पुल पनि अलपत्र छ।महोत्तरीको औराही लगायतका पुललामो समयदेखि निर्माण नहुँदा लथालिंग अवस्थामा छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने कोस्टल–पप्पु जेभीलाई चौतर्फी दबाबपछि कालोसूचीमा राखेर कारबाही गरिसकेको छ। कार्यालयले वर्षाैंदेखि सडक तथा पुलका आयोजना अलपत्र पार्दै आएको कोस्टल–पप्पुलाई तीन वर्षसम्म कुनै पनि निकायको ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने गरी कालोसूचीमा राखेको छ। कार्यालयले कालोसूचीमा राखेर कारवाही गरेकामध्ये राजनीतिक पहुँचका हिसाबले सबैभन्दा शक्तिशाली कम्पनी नै कोस्टल–पप्पु जेभी हो। कोस्टल–पप्पुका सञ्चालक प्रतिनिधिसभाका सांसद हरिनारायण रौनियार हुन्। रौनियार राजनीतिक पहुँचकै कारण कालोसूचीमा पर्नबाट उम्किँदै आएका थिए। पप्पुले दुई दर्जनभन्दा धेरै पुल अलपत्र पारेको छ।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार