पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण……….

काठमाडौं – पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो। पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको मौसमलाई आइतबार सफा बनाइदिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्। जाडो याममा बढ्दो प्रदूषण राजधानीको विशेषता नै हो। यो समयमा उपत्यकाको तापक्रम घट्दै जाँदा धुवाँ–धुलोले प्रदूषण बढाउँछ। राजधानीका विभिन्न स्थानमा जडान गरिएका सात वटा प्रदूषण मापन स्टेसनमध्ये अमेरिकी दूतावासले स्थापना गरेको दुई स्टेसनले वायुको गुणस्तरको सूचकांक अर्थात एयर क्वालिटी इन्डेक्स (एक्वा)लाई आइतबार अद्यावधिक गरेका छन्। तिनले वायु प्रदूषणको स्तरलाई मोडरेटू अर्थात स्वास्थको लागि त्यति धेरै असर नपर्ने मध्यमस्तरमा ओर्लेको देखाएका छन्। प्रदूषणलाई मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका शुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर भन्दा व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ। सन् २०१२ को राष्ट्रिय वायुको गुणस्तर मापन निर्देशिकाले पिएम २.५ मापन गर्दा प्रति घनमिटर वायुमा ४० माइक्रोग्राम शुक्ष्म कण र पिएम १० नाप्दा प्रतिघनमिटर वायुमा १२० माइक्रोग्राम सम्मका शुक्ष्म कणलाई गुणस्तरीय वायु भनेर राष्ट्रिय मापदण्ड तोकेको छ। रत्नपार्कमा रहेको प्रदूषण मापन स्टेसनले आइतबार दिउँसो ३ बजे पिएम २.५को स्तर १९.९ माइक्रोग्राम प्रतिघनमिटर रहेको देखाएको छ र यो विश्व स्वास्थ संगठनले तोकेको दैनिक सरदरको मापदण्ड ९२५ माइक्रोग्राम प्रति घनमिटरभन्दा कम हो,’ वन मन्त्रालय अन्तर्गतको वातावरण विभागमा कार्यरत वातावरण निरीक्षक राजेश्वर पौडेलले बताए। अन्तर्राष्ट्रियरूपमा वायु प्रदूषणको मात्रा नाप्ने एक्वा इन्डेक्सअन्तर्गत ५१ अंकदेखि १०० अंकसम्मको स्थितिलाई पहेलो रंग दिएर जनस्वास्थका लागि त्यति धेरै असर नपर्ने मानिएको छ। आइतबार दिउँसो अमेरिकी दूतावासले स्थापना गरेको दुवै स्टेसनले एयर क्वालिटी इन्डेक्स (एक्वा)लाई ५५ अंकमा रहेको देखाएका छन्। स्वास्थ्यको हिसावले संवेदनशील अवस्थामा रहेका बिरामीबाहेक प्रदूषणको यो अवस्था रहेको दिनमा सबैले बाहिर सक्रियरूपमा काम गर्न सक्छन्,’ नेपालस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमा भनेको छ। गत साता मात्रै राजधानीको एक्वा सरदरमा १५० भन्दा बढी रहेको थियो, जुन जनस्वास्थका लागि अस्वस्थकर मानिन्छ। महाशाखाले पश्चिमी वायुका कारण काठमाडौको प्रदूषण केही मात्रामा घटेको, उच्च हिमाली क्षेत्रमा हिमपात भएको र केही पश्चिमी जिल्लामा वर्षा पनि भएको जनाएको छ। यो वायु मेडिटेरियन समुद्रदेखि पाकिस्तान, अफगानिस्तान र भारत हुँदै नेपाल भित्रिने गर्छ। यो क्रम अरु ३ दिनसम्म चल्ने अनुमान गरिएको छ,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन्, ‘हिउँदे मौसममा पुसदेखि फागुनसम्म पश्चिमी वायुको प्रभाव बढी हुन्छ। विशेषज्ञ तथा सरकारी अधिकारीहरू दक्षिण एसियाली खेलकुदको उद्घाटनको दिनदेखि प्रदूषणको स्तर र मौसममा आएको सुधारलाई संयोग मान्छन्। यसलाई सुखद संयोग नै मान्नु पर्छ र यसले सबै सहभागीलाई राम्रै गरेको छ,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन्। त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र विभागको प्रोफेसर रामप्रसाद रेग्मी हरेक वर्षको हिउँदमा एक–दुई पटक मजबुत पश्चिमी वायुले राजधानीको प्रदूषणलाई घटाउन सहयोग गर्ने तर केही दिनमा पश्चिमी वायुको प्रभाव घटेसँगै प्रदूषण पूर्ववत स्थितिमा पुग्ने गरेको बताउँछन्। राजधानीको प्रदूषणको अत्यधिक स्तरलाई थेग्न सक्ने क्षमता छैन,’ उनी थप्छन्,‘पश्चिमी वायु त भल आएजस्तो हो, आउँछ र जान्छ। यसले प्रदूषणलाई छोटो समयका लागि मात्रै घटाउँछ। हिउँदमा बाहिर खुला स्थानमा आगो बाल्न नहुने, सार्वजनिक यातायतले निकाल्ने प्रदूषणलाई बढी नियमन गर्नुपर्ने, राजधानीमा रहेको इँटाभट्टाले गर्ने प्रदूषणलाई न्यूनीकरण गर्नुपर्ने र वायु प्रदूषणका बारेमा जनसाधारणमा चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने रेग्मी तर्क गर्छन्। राजधानीमा १२ लाख मोटरसाइकल र ३ लाख चार पांग्रे गुडने यातायात व्यवस्था विभागको तथ्यांकले देखाएको छ। भौगोलिकाभन्दा पनि मानवीय कारणले हामीले वायु प्रदूषणलाई बढाइरहेका छौं,’ प्रोफेसर रेग्मी भन्छन्। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण राजधानीमा मात्रै झण्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ। विश्व स्वास्थ्य संगठन, विश्व बैंक, युएन इन्भारोमेन्ट तथा क्लाइमेट एन्ड क्लिन एयर कोलिसन मिलेर बनाइएको ब्रेथलाइफ नामक अन्तर्राष्ट्रिय अभियानका अनुसार नेपालमा घरभित्र र बाहिर हुने दुवै खाले प्रदूषणका कारण वर्षेनी ३७ हजार ३ सय ९९ मानिसको मृत्यु हुने गरेको छ।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार