जुर्मुरायो याक्थुङ (लिम्वु) प्रवुद्ध समुह ( भिडियो सहित )

आदिवासी समुदायको हक अधिकार, पहिचानलाई संविधान, ऐन कानुनहरुले सम्वोधन नगरिरहेको र राज्य संयन्त्रले किनारिकृत गर्दै लगेको सन्दर्भमा याक्थुङ (लिम्वु) समुदायका प्रवुद्ध समुहले थरगत समुहहरुलाई संगठित गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ सहितको विद्धत समुहले ३२६ भन्दा वढि याक्थुङ थरगतहरूलाई संगठित गर्न राजधानीमा उपलब्ध थरगत प्रतिनिधिहरूलाई भेला गरेर अवधारणा सार्वजनिक गरेको हो ।

आदिवासी याक्थुङ थरगतहरू किन संगठित हुनुपर्ने ? भन्ने सन्वन्धमा भेलाले विचार विमर्श गरेको छ । मर्दा पर्दा भेला हुने र वंशावली निर्माणको लागि संगठित भएका थरगतहरुको क्षेत्राधिकारमा व्यापकिरण गर्दै अवधारणा पत्रले भनेको छ, थरगतहरूको आ आफ्नो पकड क्षेत्रको गाउँ गाउँ स्तरको विकास, भाषा, लिपि, संस्कृति, ऐतिहासिक स्थल, परम्परा, भूमि, प्राकृतिक स्रोत, चर्चेको वन जंगल, चिहान, माङ्गेन्ना यक, मुन्धुमी स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्दै सन्धी, सम्झौता, अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको आफ्नो प्रथाजनित भूमीलाई व्यवहारिकरुपमा स्थापित गर्नेछ । यसको साथै लोप भईसक्न लागेको लिम्बुहरूको प्रथाजनित परम्परागत संस्थालाई थरगतहरू बसोबास रहेको गाउँ गाउँमा ति प्रथाजनित संस्थाहरूलाई स्थापित गर्दै तिनीहरूलाई न्यायिक र शासकीय स्वरुपमा कार्य गर्न सबल र शसक्त बनाउनेछ ।

थरगतहरूलाई संगठित गर्दै उद्देश्यअनुसार काम गर्नको लागि किरात याक्थुङ चुम्लुङसहित ८ सदस्यीय सहजिकरण सचिवालय रहने गरी व्यवस्था भएको छ । सचिवालयमा चुम्लुङ अध्यक्ष योगराज वनेम, उपाध्यक्ष डा. कमल तिगेला, अमर तुम्याहाङ र स्वतन्त्र व्यक्तित्वहरु चुम्लुङका संस्थापक अध्यक्ष नन्द कन्दङ्वा, चलचित्र निर्देशक नवीन सुब्बा, आदिवासी जनजाति विज्ञ तथा अधिवक्ता शंकर लिम्वु, अधिवक्ता अमृता थेवे र राम मादेन रहेका छन् । भेलाले सहजिकरण समुह र अवधारणा पत्रलाई अनुमोदन गर्दै लिम्वुवानी भूमिमा वृहत भेलाको आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार