ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल………

काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो। नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचनामा रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिन्छ कि भनेर अध्ययन भइरहेको बताए। ट्रस्टलाई आम्दानी हुने भएकाले निजी क्षेत्रलाई लिजमा दिएर फाइदा लिनुपर्ने उनको तर्क छ। ट्रस्टको अधिकतम हित हेरेर रिसोर्ट खोल्न दिने र त्यसबाट ट्रस्टले बिनालगानी फाइदा लिने कार्यकारी सचिवको भनाइ छ। ‘ती संरचनाहरु के गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै यस्तै हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन’, उनले भने। नेपाल ट्रस्टले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ठाकुरले जस्तै सहसचिव राजेश्वर ज्ञवालीले पनि ट्रस्टको स्वामित्वमा रहेका हिमागृहलगायतका सम्पत्ति लिजमा दिने तयारी भइरहेको बताएका थिए। तर विज्ञले भने ऐतिहासिक संरचना निजी क्षेत्रलाई व्यावसायिक प्रयोनजनका लागि दिनेभन्दा पनि ट्रस्ट अथवा सरकारी निकायले नै व्यवस्थित गरेर सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने व्यवस्था मिलाउन सुझाव दिँदै आएका छन्। स्रोतका अनुसार ट्रस्ट सञ्चालक समितिमा निजी स्वार्थ समूहका प्रतिनिधिको बाहुल्य रहेकाले ट्रस्टको ऐतिहासिक सम्पत्तिसमेत व्यापारिक स्वार्थमा लिजमा दिने चलखेल भइरहेको छ। यती होल्डिङ्स प्रालिसँग निकट सञ्चालक समिति सदस्य सीताराम सापकोटाले सार्वजनिक रुपमै ट्रस्टको सम्पत्ति लिजमा दिने विषयमा भटाभट निर्णय गर्दै जाने अभिव्यक्ति दिएका छन्। यसले पनि ट्रस्टको स्वामित्वमा रहेका ऐतिहासिक महत्वका सम्पत्ति निजी क्षेत्रले उपभोग गर्नेगरी दिने प्रपञ्च भइरहेकोमा विज्ञहरुले चिन्ता प्रकट गरेका छन्। नेपाल ट्रस्टको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा समेत रत्नमन्दिर, हिमागृह, दियालो बंगला र हेटौंडाको कान्ति ईश्वरीभवनलाई संग्रहालयको रुपमा रुपान्तरण गरेर सर्वसाधारणका लागि खुला गरिने उल्लेख छ। रत्नमन्दिर, हिमागृह, दियालो बंगला र कान्ति ईश्वरी भवनमा सशुल्क प्रवेश तथा अवलोकन गर्न ट्रस्टले नियमावलीसमेत ल्याइसकेको देखिन्छ। नेपाल ट्रस्टको सम्पत्ति अवलोकन शुल्क निर्धारण नियमावली, २०७२ मा पूर्वराजपरिवार (राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावशान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्ति) को सम्पत्ति कानुनबमोजिम नेपाल ट्रस्टको स्वामित्वमा आएका यस्ता ऐतिहासिक सम्पत्तिलाई संरक्षण गरेर ट्रस्टले निर्धारित शुल्क लिई सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने उल्लेख छ। तर निजी क्षेत्रबाट सञ्चालक समितिमा नियुक्त भएका सदस्यहरुको स्वार्थमा ट्रस्ट नियमावलीलाई बेवास्ता गर्दै निजी क्षेत्रलाई रिसोर्ट खोल्न दिने चलखेलमा लागेको हो। ट्रस्ट सञ्चालक समितिका पूर्वसदस्यहरु पनि रत्न मन्दिर, हिमागृह, दियालो बंगलाजस्ता ऐतिहासिक महत्वका भवन अवलोकन गर्न दिने तथा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नियमावली ल्याएको दाबी गर्छन्। ट्रस्टले उक्त संरचनाहरुमा रिसोर्ट खोल्न दिने भनेको सुनेर आफूहरु पनि आश्चर्यमा परेको उनीहरुको भनाइ छ। ऐतिहासिक महत्वका संरचनासमेत व्यापारीको हातमा पुग्ने खतरा रहेको भन्दै सञ्चालक समितिका पूर्वपदाधिकारीले चिन्ता व्यक्त गरेका छन्। नेपाल ट्रस्टका पूर्वकार्यकारी सचिव भीमप्रसाद उपाध्ययले ट्रस्टको सम्पत्ति निजी क्षेत्रलाई रिसोर्ट खोल्न दिनु उपयुक्त नभएको तर्क गर्छन्। उनले आफ्नो पालामा हिमागृहमा जैविक विविधता पार्क बनाएर अघि बढाउने गरी प्रक्रिया अघि बढाएको बताए। हिमागृह, रत्नमन्दिर, दियालो बंगला र कान्ति ईश्वरी भवनलाई ट्रस्ट आफैंले व्यवस्थापन गरी संग्रहालयमा रुपान्तरण गरेर सर्वसाधारणलाई सशुल्क अवलोकनका लागि खुला गर्न सक्ने उनले बताए। ‘ती ठाउँहरुमा सुरक्षा व्यवस्थापन, भौतिक संरचना निर्माण तथा मर्मत सम्भार गरी संग्रहालय बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि कसरी व्यवस्थापन गर्ने भनेर ट्रस्टले नियमावली नै ल्याइसकेको छ। त्यसैमा टेकेर अघि बढ्दा ट्रस्ट र राष्ट्र दुवैको हित हुन्छ, ट्रस्ट स्थापनाको उद्देश्यअनुसार सम्पत्तिको संरक्षण र सदुपयोगसमेत हुन्छ।’ ट्रस्ट सञ्चालक समितिमा सचिवहरु हटाएर निजी क्षेत्रका व्यक्तिहरुको बाहुल्य बनाइएकाले पनि ट्रस्टको सम्पत्ति व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिन दबाब परेको हुन सक्ने उनको भनाइ छ। पछिल्लो समय ट्रस्टले पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति खोजबिन गरेर ट्रस्टको स्वामित्वमा ल्याउने भन्दा पनि फेला परेको सम्पत्ति व्यापारी पोस्नेगरी प्रयोग गर्न थालेको ट्रस्टकै पूर्वपदाधिकारीहरुको आरोप छ। ऐतिहासिक महत्वका दरबारमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने, गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बाँकी छँदै म्याद थप्ने, दरबार मार्ग र ताहाचलको जग्गा अनियमित ढंगले लिजमा दिएको घटनाबाट आफूहरुको आरोप पुष्टि हुने उनीहरु बताउँछन्।

नेपाल ट्रस्टको स्वामित्वमा आएकोे सम्पत्ति
सम्पत्ति (भवन) रहेको स्थान र जग्गा क्षेत्रफल

महाराजगन्ज, काठमाडौं एक रोपनी ७ आना
ताहाचल, काठमाडौं ६२ रोपनी २ आना

टेकु, काठमाडौं १९ रोपनी १२ आना
कमलादी, काठमाडौं ८ रोपनी १ आना

दरबारमार्ग,काठमाडौं एक रोपनी १४ आना
लाजिम्पाट, काठमाडौं ६ रोपनी १३ आना

गोकर्ण, काठमाडौं ३ हजार ९ सय ७१ रोपनी
शेषनारायण, फर्पिङ, काठमाडौं ६८ रोपनी १२ आना

सामाखुसी, काठमाडौं ९ आना
रत्नमन्दिर, पोखरा एक सय ७४ रोपनी ४ आना

दियालो बंगला, चितवन ७ सय ६७ रोपनी १२ आना
कान्ति ईश्वरी गृह, हेटौंडा २ रोपनी

स्रोत : नेपाल ट्रस्टको कार्यालय  , साभर:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार