जन्मोत्सवमा ओली, महोत्सवमा दाहाल………..

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात्रामा भाग लिन धनुषा पुगेका छन्। पार्टीभित्र अमेरिकी सहयोग एमसिसीलाई लिएर तीव्र विवाद भइरहेका बेला अध्यक्षद्वय ओली र दाहाल आआफ्नै सुरमा जन्मोत्सव र महोत्सवमा रुमल्लिएका छन्। प्रधानमन्त्रीसहितको टोली दुईवटा हेलिकोप्टरमा तामझामसहित पुगेको थियो भने पूर्वप्रधानमन्त्री दाहाल पनि हेलिकोप्टरमै धनुषा पुगेका थिए। प्रधानमन्त्री ओलीको जन्मोत्सवमा भाग लिन झन्डै दुई सय गाडीमा सहभागी जन्मोत्सवस्थल पुगेका थिए। १ सय ५० हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको कार्यक्रममा कति खर्च भयो, यकिन छैन। त्यसो त जन्मदिनको अवसरमा ४ सय वृद्धवृद्धाका लागि लत्ताकपडा, १ हजार ५ सय विद्यार्थीका लागि डायरी र कलमसमेत हस्तान्तरण गरिएको थियो। यता धनुषामा दाहालले मिथिला विहारी भगवान्को डोला उठाएर परिक्रमा सुरु गर्नुका साथै हेलिकोप्टरमार्फत आकाशबाटै पुष्पवर्षासमेत गरेका थिए।

ओलीको तामझाम

६९औं जन्मदिन मनाउन घर पुगेका ओलीले छेउमै रहेका नेता सुवास नेम्बाङलाई भने, ‘यो घर म जन्मिनुभन्दा २० वर्ष अगाडि बनेको हो नि।’ प्रधानमन्त्रीले आफ्नो जन्मघरमा के गर्लान् भन्ने सहभागीको चासो थियो। उनले एकछिन घर हेरेर बुवा तथा पत्नीसँग गफ गरे। उनी २००८ फागुन ११ गते सोही घरमा जन्मिएका थिए। ‘बुवा, घर त राम्रै रहेछ। धेरै मकै फल्ने टारबारीमा हेलिप्याड बनेछ’, उनले आफ्ना बुवासँग भने। प्रधानमन्त्री ओली आफ्नो जन्मघरमा जन्मदिन मनाउन आउने खबरले तीनसल्लेमा स्थानीयको उलेख्य उपस्थिति थियो। प्रधानमन्त्रीको जन्मदिनको सन्दर्भ पारेर निक्कै राम्रो तयारी भएको थियो। जन्मदिनकै अवसर पारेर शिलान्यास र उद्घाटनका कार्यक्रम जोडिएका थिए। घरनजिकै बनाइएको हेलिप्याडमा ओर्लिएपछि प्रधानमन्त्रीले मध्यपहाडी लोकमार्गदेखि ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गरे। ओलीसँगै भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङ, कानुनमन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री विना मगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतको उपस्थिति थियो। प्रधानमन्त्रीसँग चिकित्सकको टोलीसमेत थियो। प्रधानमन्त्रीले संक्रान्तिमा पुनस्र्थापना भएको कृषि विकास बैंक शाखाको पनि उद्घाटन गरे। उद्घाटनपछिको कार्यक्रममा ओलीले भने, ‘बुवाहरु धरानबाट नुन बोकेर ल्याउनुहुन्थ्यो। अहिले गाउँमै गाडी आएको छ। पहिलाका दुःख घट्दै गएका छन्।’ उनले कृषि उत्पादन बढाउन गाउँलेलाई सुझाव दिए।

दाहालको परिक्रमा

उता दाहालले १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरुवात गर्दै यस परिक्रमाले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध गाढा बनाउने बताएका छन्। उनले मिथिला विहारी भगवान्को मन्दिरनजिकै धर्मशाला बनाउने घोषणासमेत गरे। आफू प्रधानमन्त्री हुँदा पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण सुनाउँदै पूर्वप्रधानमन्त्रीले धर्मशाला बनाउन आफूले पार्टीभित्र तथा सरकारसँग समेत पहल गर्ने बताए। धनुषाको मिथिलाबिहारी नगरपालिका–८ ठेरा कचुरीमा डोला बोकेर मिथिला माध्यमिकी परिक्रमा सुरु गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः मिथिलेश/नागरिक मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको यो परिक्रमा १५ दिनसम्म चल्नेछ। एक सय ३३ किलोमिटरको पदयात्रामा ठूलो संख्यामा नेपाल तथा भारतका साधुसन्त एवं सर्वसाधारण हिन्दु धर्मावलम्बी सहभागी हुने गर्छन्। परिक्रमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित सुरु हुन्छ। परिक्रमाको पहिलो दिन आइतबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु सोमबार बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन्। परिक्रमामा सहभागीहरु फुलहरको गिर्जास्थान हँुदै महोत्तरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विसौल हुँदै फागुन पूर्णिमाका दिन जनकपुर फर्कनेछन्।

संशोधनबिना एमसिसी पास हुँदैन’

जनकपुर – नेकपाका अध्यक्ष पुष्पकमल दहालले अमेरिकी सहयोग परियोजना एमसिसी संशोधनपछि मात्रै संसद्बाट अनुमोदन हुने बताएका छन्। जनकपुरस्थित विमानस्थलमा पत्रकारसँग उनले भने, ‘एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकमा संशोधन र परिमार्जपछि मात्रै एमसिसी अनुमोदन गर्नेबारे छलफल भएको छ। संशोधन र परिमार्जनबिना एमसिसी अनुमोदन हुने स्थिति छैन। राजीनामा गरिसकेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको प्रसंग झिक्दै दाहालले सत्तामा हुँदा कम्युनिस्ट नराम्रो हुने रोग नेपालमा पनि ‘अलिअलि’ देखापरेको बताए। बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने दाहालले बताए। उनले त्यो प्रकरणसँग जोडिएका हरेक विषयमा सम्बन्धित सबैको छानबिन हुने दाबी गरे। ‘सञ्चारमन्त्री प्रकरणमा छानबिन हुन्छ। लेखा समितिमा पनि छलफल भइरहेको छ,’ दाहालले भने। उनले प्रदेश २ को सरकारमा नेकपाको सहभागिताबारे कुराकानी चलिरहेको पनि बताए। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार