भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास…………

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले विपक्षीले गैरविषयलाई नै विषय बनाएर सरकारविरुद्ध अनावश्यक प्रचार गरिरहेको टिप्पणी गरे। संसद्मा लगिएको विधेयकको उद्देश्य र विषयवस्तुबारे स्पष्ट भएर भन्दा पनि कुरै नबुझी विपक्षीले विरोध गरिरहेको उनको भनाइ थियो। ‘कुखुराको एउटा चल्ला फट्यांग्रो टिपेर कुद्छ, त्यो चल्लाले के टिप्यो भन्नेसमेत थाहा नपाएका अरू चल्लाहरू पछिपछि कुद्छन्,’ उनले भने, ‘विपक्षीहरू पनि चल्लाहरूझैं कुदिरहेका छन्। प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी देशीविदेशी शक्तिको षड्यन्त्र र हमला परास्त गर्दै पार्टी एकता प्रक्रिया अघि बढिसकेकाले सफलतापूर्वक निष्कर्षमा पुग्ने दाबी गरे। अरू पार्टीसँग नेकपाको तुलना हुनै नसक्ने उल्लेख गर्दै उनले नेकपा जनाधारयुक्त पार्टी भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, सार्वभौम सत्ता र स्वाधीनताका विषयमा कोहीकसैसँग सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनले जनताको त्याग, तपस्या र सहिदको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्दै त्यसको कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गरे। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विश्व समृद्धिको बाधक अमेरिकी साम्राज्यवाद भएको आरोप लगाए। उनले त्यस्ता प्रवृत्तिविरुद्ध जुध्न पार्टी सुदृढ र एकताबद्ध बनाएर अघि बढे मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा व्यक्त गरे। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताले अनुभूति गर्नेगरी जनताको जीवनमा परिवर्तन नल्याउने हो भने राजनीतिक क्रान्तिको अर्थ नहुने बताए। उनले महाधिवेशनसम्मका लागि कार्यदिशाको विषय थाती राखेको जानकारी दिए। ‘अबको कार्यदिशा जनताको बहुदलीय जनवाद कि एक्काइसौं शताब्दीको जनवाद भन्ने विषयमा अहिले विवाद गर्नुको औचित्य छैन, ‘उनले भने, ‘यसबारे आगामी महाधिवेशनले निर्णय गर्छ।’ त्यसरी महाधिवेशनमा छलफल गर्दा पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भएर नभई नेकपाका नेता–कार्यकर्ता बनेर छलफल गर्ने र निर्णय गर्ने उनको भनाइ थियो। नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेताहरू नवसामन्तजस्तो भएको टिप्पणी गरे। जनतामाझ नपुग्ने, झुपडीमा नपुग्ने गर्दा जनतासँग पार्टी तथा नेता टाढिँदै गएको र सम्बन्ध बिगँ्रदै उनको भनाइ थियो।

कडा सुरक्षाबीच कालो झन्डा प्रदर्शन

प्रधानमन्त्री ओली पोखरा आउने भएपछि सोमबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। विमानस्थल र कार्यक्रमस्थल पोखरा सभागृहवरपर पनि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको थियो। तर कडा सुरक्षाबीच नेविसंघका कार्यकर्ताले पोखरा विमानस्थलअगाडि प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका छन्। प्रधानमन्त्री १२ बजेतिर पोखरा आइपुगेका थिए। प्रदर्शनकारीले सुरक्षण मुद्रण प्रेसमा संस्थागत भ्रष्टाचार भएको, यती होल्डिङ्सलाई सार्वजनिक जग्गा दिएको, नेकपा सरकार भ्रष्टाचारमा डुबेको भन्दै नाराबाजीसमेत गरेका थिए। समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताको कालो झन्डा देखाउने प्रयास भने सफल हुन सकेन। उनीहरूले पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न भने भ्याए। प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता निर्दोषविक्रम पौडेल र असीम सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर करिब चार घन्टापछि छाडेको थियो। त्यस्तै प्रधानमन्त्रीविरुद्ध नाराबाजीमा उत्रिएका समाजवादी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईं, गण्डकी प्रदेश अध्यक्ष रेशम सापकोटा, जिल्ला नेता विशाल तिमिल्सिना र पृथ्वीनारायण क्याम्पस अध्यक्ष प्रभास भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर करिब चार घन्टापछि छाडेको जनाइएको छ। प्रधानमन्त्री काठमाडौं फर्किएपछि मात्र उनीहरूलाई छाडिएको कास्की प्रहरीले जनाएको छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार