कोरोना त्रास : सुनसान हुन थाले जमघटस्थल……….

काठमाडौं – चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ। अहिलेसम्म विश्वका करिब १ सय ६२ देशमा कोरोना संक्रमण फैलिसकेको छ। यस भाइरसको संक्रमणबाट ७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ७ सय सय जना यो भाइरसबाट संक्रमित भएका छन्। डब्लुएचओले नेपाललाई उच्च जोखिमको सूचीमा राखेर सावधानी अपनाउन आग्रह गरेको छ। अहिलेसम्म पचास भन्दाबढी देशले शैक्षिक संस्था बन्द गरेका छन् भने चीन अमेरिका लगायत युरोपका देशहरूले भिडभाड हुने स्थलहरू बन्द गरेका छन्। इटालीमा डेढ करोड नागरिकलाई क्वारेन्टाइनमा राखेको छ। छिमेकी भारतले स्कुल कलेज बन्द गरेको छ। युरोपका कतिपय देश र अमेरिकाले संकटकाल घोषण गरिसकेका छन् भने चीन तथा अमेरिकाले बजेट नै छुट्टाएर रोग नियन्त्रणका लागि युद्ध स्तरमा कोरोना भाइसर विरुद्ध लडिरहेका छन्। फ्रान्सले पाँच जना भन्दाबढी नागरिकलाई एकै ठाउँमा भेला नहुन आदेश नै जारी गरेको छ। नेपालमा पनि सरकारले भिडभाड हुने ठाउँमा नजान जनतालाई आग्रह गरिरहेको छ। तर सरकारले कुनै पनि भिडभाड हुने स्थानलाई आवश्यक पत्र लेखेर भिडभाड कम गर्न आग्रह भने गरेको छैन। अत्याधिक मानिसहरुको आवतजावत हुने स्थानमा निर्वाद रुपमा मानिसहरु हिँडडुल गरिरहेका छन्। स्कुल कलेज लगायत, विवाह, भोज तथा विभिन्न कार्यक्रमहरु देशैभर भैरहेका छन्। अहिले स्कुलहरुमा परीक्षा चलिरहेको छ, साथै चैत ५ गतेपछि एसइइको परीक्षा संचालन हुँदै छ। शैक्षिक सत्रको अन्त्यसँगै स्कुल विदा भएपछि राजधानीमा विभिन्न मनोरन्जन हुने स्थानहरुमा बालबालिका आवतजावत बाक्लो हुने गर्दछ। यस्तै भिडभाड हुने स्थान मध्ये काठमाडौंको भृकुटीमण्डप पनि एक महत्वपूर्ण ठाउँ हो। यहाँ दैनिकजसो सभा, सम्मेलन तथा प्रदर्शनी भैरहेका हुन्छन्। भृकुटीमण्डप भित्र बगैचा, प्रदर्शनी हल, चमेना गृहहरु, काठमाडौं फनपार्क लगायत करिब ३१ रोपनीमा फैलिएको खुल्ला बजार छ। यो बजारभित्र करिब एक हजार पसलहरु संचालनमा छन्। फूर्सद वा छुट्टीको समयमा राजधानीका बालबालिका, युवायुवतीदेखि बृद्धवृद्धाहरू मनोरञ्जन लिन भृकुटीमण्डपस्थीत काठमाडौं फनपार्कमा आउने गर्दछन्। उपत्यकाका बालबालिकाका लागि सबैभन्दा सजिलो गन्तव्य हो भृकुटीमण्डपको फनपार्क। यहाँ बालबालिकाले मनोरञ्जन लिने थुप्रै खेल तथा मनोरन्जन सामाग्री छन्। जब स्कुल कलेजमा लामो विदा मिल्छ, तव फुर्सदिला बालबालिकाहरु आफ्नो घुम्ने रहर पुरा गर्न शहरका विभन्नि खुल्ला स्थानमा पुग्ने गर्दछन्। काठमाडौंको मुटुमा रहेको काठमाडौं फनपार्कका विदाको समयमा झनै भिड हुने गर्दछ। निरन्तर पढनु, स्कुल जानु, शिक्षक तथा अभिभावकको बन्धनबाट छुटेर रमाइलो गर्ने अवसर पाउन बालबालिकाले विदा नै कुर्नु पर्दछ। उनीहरुका लागि स्कुल छुट्टि हुनु नै रमाइलो गर्ने उपयुक्त समय हो। उपत्यकामा काठमाडौं फन भ्याली भक्तपुर, हुपील्यान्ड चोभार, टोखा क्येबः मिनी फनपार्क टोखा, सदर चिडियाखान जावलाखेल, फन पार्क, भृकुटीमण्डप लगायत हरेक सपिङ सेन्टरमा बालबालिकाको लागि खेल्ने सामाग्रीको बन्दोबस्त गरिएको हुन्छ। पहिलेको तुलनामा फनपार्क आउने मानिसहरुको सङ्ख्या घटेको छ।” काठमाडौं फनपार्कका म्यानेजर बोधराज कट्टेलले भने– “५ बर्ष भन्दा मुनिका, अपाङ्ग र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई छुट दिँदापनि भिजिटरको संख्या घटेको छ, भूकम्प गएको समयमा पनि भिजिटर घटेका थिएनन् तर अहिले कोरोना भाइरसको त्रासका कारण पहिलेको तुलनामा करिब ५० प्रतिशत भिजिटर घटेको छ। हामीले हाम्रा कर्मचारीलाई अनिवार्य मास्क प्रयोग गर्न लगाइएका छौं’, कट्टेलले भने– “यहाँ आउने मानिसहरु घुम्न, रमाउन, समय बिताउन ह्याप्पी मुडमा स्वस्थ मानिसहरु नै आउने भएकाले कोरोनाको त्रास छैन।” चैत ५ गतेपछि स्कुलहरुमा लामो छुट्टी हुने भएकाले बालबालिका र अभिभावकहरुको चहलपहल फनपार्कमा बढ्छ। कोरोना भाइरसका कारण सरकारले फनपार्क सञ्चालन नगर्न अनुरोध गरे बन्द गर्ने सोच बनाएको कट्टेलले बताए।

खुल्ला बजारमा ग्राहक घटे

२०४९ सालमा खुल्लामञ्चभित्र संचालनमा रहेको खुल्लाबजार तत्कालीन काठमाडौं महानगरपालिकाले अन्यत्र सार्ने र खुल्लामञ्च खालि गराउने निर्णय गरे पश्चात् समाज कल्याण परिषद् अन्तर्गत भृकुटी मण्डपको मातहतमा रहेको जमीनमा २०४९ साल पौष २ गते खुल्ला बजार स्थापना भयो करिब ३१ रोपनी जग्गामा फैलिएको यो बजारमा करिब एक हजार पसलहरु संचालन छन्। झण्डै एक हजार परिवारको रोजीरोटी यो बजारका कारण चलेको छ। यहाँपनि कोरना त्रासले व्यापार खस्किएको व्यापारीहरु बताउँछन्। पहिलेभन्दा आधा ग्राहक घटिसके कहिले त बुहनी पनि हुँदैन फेन्सी व्यापारी शंकर पौडेलले भने– “यस्तै हो भने त भाडा बुझाउन पनि सकिदैन। कोरोना भाइरसको त्रास त छदै छ व्यापार पनि राम्रो छैन। मानिसहरुको चहलपहल पहिलेको भन्दा आधी नै घटेको छ हामीले बजार सरसफाइमा ध्यान दिएका छौ, साथै सम्पूर्ण व्यापारी साथीहरुलाई सुरक्षित रहन पनि सजग गराएका छौं” खुल्ला बजार निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी ओलीले भने– “अहिले सरकारले नै कोरोना भाइरसको त्रास नलिन आग्रह गरेको छ, संक्रमण फैलिने सम्भावना भयो र सरकारले आग्रह गरेमा केही समय भिडभाड हुन नदिन र बजार बन्द पनी गर्न सकिन्छ।

प्रदर्शनी बुकिङ स्थगित

त्यस्तै भृकुटीमण्डपमा हुने भनिएको प्राय सबै प्रर्दशनीहरु स्थगित भएको भृकुटीमण्डप संचालन कार्यालय प्रमुख संजय कुमार मल्लीकले बताए। मल्लीकले भने– “बुकिङ गरेका संस्थाहरुले बुकिङ रद्द गरेका छन्, सरकारले भिडभाड नगर्नु भनेको बुझेर नै रद्द गरेका होलान्। भाइसरका बारेमा जनता पनि सचेत भएका छन् भिडभाडमा जानबाट सचेत छन्। उद्योग बाणिज्य महासंघले गर्ने भनेको अन्तराष्ट्रिय व्यापार मेला र फ्लोरी कल्चर एसोसिएसन अफ नेपालले गर्ने मेला रद्द भएको र यस्ता मेला नहुँदा भृकुटीमण्डप परिसरमा भिडभाड कम भएको मल्लीकले बताए। भृकुटीमण्डप कै आसपास नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, आर.आर क्याम्पस र बाल्मीकी क्याम्पस रहेका छन्। यहाँ दैनिक हजारौं विद्यार्थीको चहलपहल हुने गरेको छ। सरकारले भिडभाड हुने स्थान तथा संस्थाको पहिचान गरेर भिडभाड नियन्त्रण गर्न अहिलेसम्म पहल गरेको छैन। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार