अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू…………..

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ। सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत ७ गतेदेखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णयसमेत गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले पूर्वसावधानी अपनाउन दर्जनभन्दा बढी निर्णय लिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट सुरु हुन लागेको एसइई परीक्षा पनि स्थगित गर्न निर्देशन दिएका हुन्। पोखरेल नेतृत्वको समितिले एसइईको तयारी पूरा भएको जनाउँदै त्यसबाहेक स्कुल र क्याम्पसको पठनपाठन चैत महिनाभरि बन्द गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले विश्वमै कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै पूर्वसावधानी अपनाउन सबै तहका परीक्षा रोक्न निर्देशन दिएका हुन्। समितिका निर्णयलाई निरन्तरता दिंदै प्रधानमन्त्रीको निर्देशनमा एसइईसहितका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘पार्टीको सचिवालय बैठकमा पनि एसइई परीक्षासहितका विषयमा कुरा उठेपछि प्रधानमन्त्रीले नै सबै परीक्षा रोक्ने निर्णय लिनुभएको हो,’ थापाले भने, ‘उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समितिकै निर्णयको निरन्तरता हो यो पनि।’ शिक्षा मन्त्रालयले परीक्षाका लागि सबै तयारी पूरा भएको भन्दै परीक्षा स्थगित नगर्ने मंगलबार साँझ जनाएको थियो। सरकारले स्कुल र क्याम्पसहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय पनि गरेको छ। ‘बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयको पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने,’ निर्णयमा भनिएको छ। सरकारले आम नागरिकलाई अत्यावश्यकबाहेक हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ। सरकारले डान्सबार, सिनेमाहल, मनोरञ्जन स्थल, क्लब ३० अप्रिलसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रु राख्नुअघि सवारी साधनलाई संक्रमणरहित गर्नुपर्ने, सर्वसाधारणलाई भीडभाडमा यात्रा नगर्न अनुरोध गरेको छ। सार्वजनिक स्थललाई निश्चित समयको अन्तरमा सफाइ गर्ने जिम्मा स्थानीय निकायले गर्नुपर्ने जनाउँदै बैठकले उपभोग्य सामग्रीको कृत्रिम अभाव बनाई कालोबजारी र मिसावट गर्नेगराउनेलाई तत्कालै कारबाही गरिने जनाएको छ। सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न समेत यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। उक्त कार्यको अनुगमनमा नेपाल प्रहरी परिचालन हुने उल्लेख छ। सरकारले चैत ७ को मध्यरातदेखि लागू हुनेगरी अप्रिल १५ सम्ममा युरोपका सबै मुलुकका नागरिकलाई नेपाल आउन रोक लगाउने निर्णय गरेको छ। युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उच्च जोखिममा रहेका देशहरूबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ। ‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाइनेछ,’ पोखरेल नेतृत्वको समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। त्यससम्बन्धी सूचना विदेशस्थित कूटनीतिक नियोग तथा आवश्यक निकायमा सम्प्रेषण गर्ने निर्णय बैठकले गरेको छ। कुनै यात्रुले सरकारद्वारा ट्राभल एजभाइजरी जारी गरको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनी आफैंले उडान रद्द गरेमा तथा यात्रा मिति सार्नुपर्ने अवस्थामा पनि टिकटको मूल्य पूरै फिर्ता गराउनेसमेत निर्णयमा उल्लेख छ। यो कार्यको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्नेछ। आवागमनमा लगाएको प्रतिबन्धका कारण आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकले निर्धारित भिसा अवधिभित्र आवेदन गरेमा प्रचलित कानुनबमोजिम भिसा नियमित गराइने समेत जनाइएको छ। यस कार्यका लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ।

विदेशबाट आएकालाई घरमै क्वारेनटाइन

सरकारले विदेशबाट आएकालाई घरमै क्वारेनटाइन बस्न निर्देशन दिएको छ। उनीहरूमा कोरोना संक्रमणको लक्षण देखिएमा भने घरमै चिकित्सक पठाउने तयारी भइरहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने। घरमै क्वारेनटाइनमा बसेकाले भने सरकारले उपलब्ध गराएका बिभिन्न नम्बरमा आफैं सम्पर्क गर्नुपर्नेछ। यो सेवा लिन सेवाग्राहीले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्रले उपलब्ध गराएका ९८५१२५५८३४, ९८५१२२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न सक्नेछन्। यसका साथै जानकारी पाएअनुसार सरकारले स्वास्थ्यकर्मीको टोली घरमा पठाउने व्यवस्था गरेको छ। यसका लागि सरकारले सातवटा घर क्वारेनटाइन टोली गठन गरिसकेको पाण्डेले जानकारी दिए। कोरोना परीक्षण निजी तर विशेषज्ञ चिकित्सकले सिफारिस गरेका बिरामीको समेत कोरोना परीक्षण गर्ने व्यवस्था सरकारले गरेको छ।

१८ वटै नमुना नेगेटिभ

मंगलबारसम्म परीक्षण गरिएका सबै नमुनामा कोरोना नेगेटिभ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। बुधबारसम्ममा ५ सय ३० जनाको नमुना संकलन भई रिपोर्ट आइसकेको छ। बुधबार प्राप्त भएका १८ वटै नमुनाको रिपोर्ट नेगेटिभ पाइएको हो। थप नमुनाको रिपोर्ट बिहीबारसम्ममा आउने प्रयोगशालाले जनाएको छ।  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार