कोरोनाबारे पूर्वतयारी झिनो

काठमाडौं – सरकारी अधिकारीहरूले कोरोनाको पूर्वतयारी बलियो भएको बताए पनि व्यावहारिक पक्ष भने झिनो र कमजोर देखिएको छ। कतिपय विशेषज्ञ र डाक्टरहरूले नै सरकारले पूर्वतयारीमा संयमता नअपनाएको भन्दै आलोचना गरिरहेको बेला सरकारको तयारी झन् कमजोर देखिन थालेको हो। हालसम्म तीन ठाउँमा कोरोना संक्रमितको उपचार गर्न सकिने योजनामात्रै सरकारको छ। टेकु, पाटन र बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितलाई राखिने भन्दै सरकारी अधिकारीले बताउँदै आएका छन्। तर भयावह वा संक्रमितको संख्या धेरै भयो भने कहाँ लगेर उपचार गर्ने भन्नेबारे सरकारले राम्रो पूर्वतयारी गर्न सकेको छैन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीले सरकारको तयारी पर्याप्त नभएको जानकारी दिए। उनले अहिले बढी सचेतना अपनाउनु र पूर्वतयारी गर्नुपर्ने बेला भए पनि त्यसप्रति त्यति जोड नदिइएको बताए। ‘हामीकहाँ कोरोना देखियो भने स्थिति भयावह हुन्छ, त्यसकारण पूर्वतयारी र सजगतामा कुनै कमी राख्नुहुँदैन,’ उनले भने, ‘तर सरकारको तयारी पुग्दो छैन।’ डाक्टर रमेश आचार्यले सरकारले अहिले पूर्वतयारी र जनतामा सचेत हुन कार्य गर्न आवश्यक रहेको जानकारी दिए। उनले सरकारको फितलो नीति र काम गर्ने तरिकाले जोखिम निम्तिन सक्ने भन्दै यसतर्फ बढी ख्याल गर्नुपर्ने बताए। ‘यो सामान्य विषय होइन, ठूल्ठूला देशका लागि त यति कठिन बनेको रोग हामीकहाँ आयो भने के होला, त्यसकारण पूर्वतयारीमा कुनै कमजोरी राख्नुहुन्न,’ उनले भने। सरकारले टेकु अस्पतालमा २० वटा आइसियुसहित ९५ आइसोलेसन कक्ष निर्माण गरिएको छ। पाटन अस्पतालमा भएको धेरैजसो शड्ढयामा कोराना संक्रमितलाई राख्न सकिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोख्रेलले जानकारी दिए। उनका अनुसार पाटन अस्पतालका चार सय शड्ढयामा कोरोनाका बिरामी राख्न सकिनेछ। त्यस्तै, बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पतालमा पनि कोरोना संक्रमित राख्ने गरी तयारी भइरहेको उनले बताए। ‘त्यस्तो भयावह अवस्था आयो भने हामीले अन्य निजी अस्पतालसँग सहकार्य गर्छाैं, कसैका घर, विद्यालय, होटललगायतलाई पनि आइसोलेसन कक्ष बनाउन सकिन्छ,’ उनले भने।

रोकथाममा छात्रवृत्तिका विद्यार्थी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथामका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूलाई परिपत्र गर्र्दै प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका मेडिकल कलेजमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न भनेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सरकारी छात्रवृत्तिमा एमडी÷एमएसमा अध्ययन गरिरहेका विद्यार्थीलाई सम्बन्धित मेडिकल कलेजसँग आवश्यक समन्वय गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यकताअनुसार परिचालन गर्न भनिएको छ। त्यस्तै मन्त्रालयले नेपाल सरकारको छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरिरहेका विद्यार्थीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यकताअनुसार एमडी÷ एमएसमा अध्ययन गरिरहेका विद्यार्थीको सहयोगीका रूपमा परिचालन गर्न निर्देशन दिएको छ। सरकारको छात्रवृत्तिमा अध्ययन गरी अध्ययनपश्चात कार्यरत वरिष्ठ चिकित्सकहरू (एमडी/एमएस शैक्षिक योग्यता भएका), मेडिकल अधिकृत (एमबिबिएस शैक्षिक योग्यता भएका) खटाएको निकायका न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्नसमेत संघीय मन्त्रालयले प्रदेश मन्त्रालयहरूलाई परिपत्र गरेको हो। स्वास्थ्य मन्त्रालयले भाइरस नेपालमा प्रवेश गर्न सक्ने खतरालाई आँकलन गर्दै जनशक्ति परिचालनका लागि प्रदेश मन्त्रालयसँग समन्वय गरेर छात्रवृत्तिका विद्यार्थी परिचालन गर्न अनुमति दिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाको भनाइ छ। स्वास्थ्य मन्त्रालयअन्तर्गको स्वास्थ्य सेवा विभागले कारोना भाइरसको उपचारको पूर्वतयारी स्वरूप भेन्टिलेटर र आइसोलेसनका लागि आवश्यक पर्ने शड्ढया खरिदको प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले अत्यावश्यक पर्ने भएकाले आइसोलेसनका लागि एक हजार जनरल शड्ढया र करिब दुई दर्जन भेन्टिलेटर खरिद प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले एक हप्ताको समय दिएर द्रूत प्रक्रियाबाट खरिद प्रक्रिया अघि बढाएको छ। सरकारले काठमाडौंका ठूला अस्पतालमा आइसोलेसन वार्डको संख्या बढाउने निर्णय गरिसकेको छ। त्यहीअनुसार आइसोलेसन वार्डको संख्या वृद्धि गर्न नयाँ खरिद प्रक्रिया अघि बढाएको प्रवक्ता डाक्टर देवकोटाले जनाए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र न्यून संख्यामा कोराना भाइरसको आशंका गरिएको परीक्षण गरिएको आरोप खेपिरहेको सरकारले अन्य ठाउँबाट समेत परीक्षण गर्ने भएको छ। मन्त्रालय स्रोतका अनुसार काठमाडौंको वीर अस्पताल, पोखरा, धुलिखेल , चितवन र धरानलगायत स्थानमा समेत परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी थालेको छ। सरकारले यसअघि नै सातवटै प्रदेशमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको प्रयोगशाला स्थापना गर्ने निर्णय गरिसकेको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार संक्रमित बिरामीलाई आइसोलेसनमा राखेर आवश्यक परीक्षण गर्न सक्नेछ। त्यस्तै, काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर अस्पताल र वीर अस्पतालले निर्माण गरेको नयाँ भवन तथा ललितपुरको पाटन अस्पताललाई कोरोना संक्रमित बिरामीको मात्र उपचार गर्नेगरी व्यवस्थापन मिलाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं महानगरको १२ बुँदे प्रयास

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले भोलिबाट अनुगमन थप तीव्र बनाउने भएको छ। उपप्रमुख तथा अनुगमन तथा सुपरिवेक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अनुगमनलाई आन्तरिक र बाह्य गरी दुई कोणबाट हेर्ने निर्णय गरेको हो। कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थालाई आन्तरिक अनुगमनका रूपमा अगाडि बढाउँछौं भने बजारमा औषधियुक्त तथा दैनिक उपभोग्य वस्तुको उपलब्धता, मूल्य र गुणस्तरजस्ता विषयलाई बाह्य अनुगमनका रूपमा अगाडि बढाउने उपप्रमुख खड्गी श्रेष्ठले बताए। बैठकमा प्रशासन विभाग प्रमुख नमराज ढकालले, विभागले तयार पारेको १२ बुँदे निर्णय कार्यान्वयन कार्ययोजना प्रस्तुत गरेको हो। ढकालका अनुसार विभागतर्फ वित्त र प्रशासन विभाग, सूचना तथा सञ्चार र सहरी स्वास्थ्य महाशाखासँगै जिन्सी शाखाबाट निर्णय कार्यान्वयन हुनेछ। यससँगै अत्यावश्यक सेवाअन्तर्गत सेवा दिइरहेका वातावरण व्यवस्थापन, दमकल, एम्बुलेन्स, सूचना तथा सञ्चारतर्फका कामहरू पनि अनुगमन गरिनेछन्।

१६ स्थानमा साबुन–पानी

नोवल कोरोना भाइरस रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने १६ स्थानमा सर्वसाधारणलाई हात धुनका लागि साबुनसहित पानी–ट्याङकी व्यवस्था गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रण नहुँदासम्म बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, सुन्धारा, बानेश्‍वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगन्ज चोक, शिक्षण अस्पताललगायत स्थानहरूमा आइतबारदेखि पानिट्याङ्की राखिएको छ। प्रसुती गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढी हुने स्थानमा पानी–ट्यांकी र साबुन राखेर हात धुन सहज बनाइएको छ। कोरोनाको संक्रमणबाट बच्न हात धुनुपर्ने अनिवार्य रहेकाले नेपाल प्रहरीले ठाउँठाउँमा पानी र साबुनको व्यवस्था गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले वित्तीय संस्थासँगको सहकार्यमा उपत्यकाभर साबुन–पानी राखिएको जानकारी दिए। उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने स्थानमा बाटोमा ओहोरदोहोर गर्दागर्दै सर्वसाधारणले हात धुन सक्नेछन्।

लोकदोहोरी भवन संक्रमितलाई

नेपाल लोकदोहोरी प्रतिष्ठानले कोरोना संक्रमित देखिए उनीहरूलाई राख्नका लागि आफ्नो भवन प्रयोग गर्न दिने भएको छ। लोकदोहोरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीलगायत टोलीले आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्दै कारोना रोकथामका लागि आफूहरू सरकारलाई सहयोग गर्न तत्पर रहेको बताएको थियो। टोलीले कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना फैलाउने कार्यमा कलाकार लागिपरेको जानकारीसमेत गराएका थियो। लोकगायक पंगेनीले प्रतिष्ठान र कलाकारका अन्य संस्थाहरू सरकारसँग समन्वय गर्न स्वास्थ्य मन्त्रालय पुगेको जानकारी दिए। उनले क्वारेन्टाइन कक्षका लागि प्रतिष्ठानको भवन सरकारलाई केही समयका लागि हस्तान्तरण गर्न सकिने बताए। सबै पक्ष कोरोनाविरुद्ध लागिरहेका बेला हामीले पनि केही गर्नुप-यो भन्ने लागेर मन्त्रालय पुगेका थियौं,’ उनले भने। गायक पंगेनी, हेमन्त शर्मा, राधिका हमाल, शंकर बिसीलगायत मन्त्रालय पुगेका थिए। टोलीले बजारमा मास्कको अभाव भइरहेको बेला सरकारले त्यसतर्फ चासो दिनुपर्ने ध्यानाकर्षणसमेत गराएको थियो। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार