सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर……………..

नेपालगन्ज – कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु जब नेपाल–भारत सिमानाका दसगजासम्म आइपुगे, उनीहरुलाई नेपाल सरकारले प्रवेश गर्न अनुमति दिएन। भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भएपनि नेपाल छिर्ने निधो गरे। कोही जिल्लाको राप्तीपारी नरैनापुर क्षेत्रका नाकाबाट प्रवेश गरे, भने कोही नेपालगन्ज आसपासका अबैध नाकाबाट। नेपाली सुरक्षाकर्मीले यतातिर प्रवेशमा कडाई गरेपनि सीमापारि भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई साथ दिए। सीमामा अलपत्र परेका मध्ये सयौं ब्यक्तिहरु राप्तीपारी नरैनापुर, खयरभट्टी लगायतका अबैध नाकाबाट प्रवेश गरे। त्यसरी प्रवेश भएका मध्ये डेढ सयभन्दा बढी ब्यक्तिलाई फेला पारेर नरैनापुर गाउँपालिकाले क्वारेन्टाइनमा राखेर खाने र बस्ने ब्यवस्था मिलाइसकेको छ। यता, नेपालगन्जसँगै जोडिएको जयसपुरको अबैध नाकाबाट दुई दिनअघि सीमा प्रवेश गरेका १ सय ६४ जनालाई भने सीमाक्षेत्रमै रोकियो। उक्त समूहमा रहेका महिला र बालबालिका गरी ९ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याएर राखियो। तर, बाँकी १ सय ५५ जना नेपाली नागरिक दुई दिनदेखि खुल्ला आकाशमुनि बसिरहेका छन्। चिसो खेतको सुताई, रातभर लामखुट्टेको टोकाई र भोको पेटले उनीहरु झन् बिरामी पर्ने खतरा बढेको छ। उनीहरु नेपाल–भारत सिमानाका दसगजा छेउमै रहेका रुखमुनि रात कटाउन बाध्य भइरहेका छन्। आफुहरु क्वारेन्टाइनमा बस्न तयार रहँदा समेत सरकारले बेवास्ता गरेको उनीहरुको दुखेसो छ। ‘हामीहरु सबै जना भारतबाट फर्केका हौं, कामकाज बन्द भएपछि अर्काको देशमा बस्ने अवस्था नै भएन,’ उनीहरु भन्छन् ‘बाटोमा धेरै दुःख, कष्ट सहेर घरसम्म आएका हामीलाई सरकारले ढोका थुनेर आउन नदिदाँ साह्रै पीडा भएको छ, हामी यहाँबाट कहाँ जाने ? बरु हामीलाई नेपालभित्रै क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाइयोस्। संकटको बेलामा घर खोज्दै आइपुगेका आफुहरुलाई सरकारले ढोका थुन्नु अन्यायपुर्ण भएको उनीहरु बताउँछन्। हरेक बिन्ती गर्दापनि सरकारले सुन्न नचाहेको गुनासो गरे। सीमा क्षेत्रमा अलपत्र परेका यि नागरिकलाई नेपाल प्रवेश नगराएकोप्रति यहाँका नागरिक समाज, अधिकारकर्मी, आमसर्बसाधारणले पनि सरकारको आलोचना गरिरहेका छन्। नेपालगन्ज उपमहानगरपालिकालाई समेत नेपाल सरकारको नीति चित्त बुझेको छैन। सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्ने पक्षमा उपमहानगरपालिका छ। तर, स्थानीय प्रशासनले प्रवेश गराउन माथिबाट आदेश नभएको भन्दै उपमहानगरपालिकाको कुरा सुन्न चाहेको छैन। उपमहानगरपालिकाले ती नेपालीलाई आफ्नो स्रोत र जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमै पुगेर मंगलबार बेलुकीबाट खाना र पानी खुवाउन थालेको छ। सीमा क्षेत्रमा पुगेर नेपाली नागरिकको अवस्था प्रत्यक्ष देखेकी नगर उपप्रमुख उमा थापामगरले भारतबाट फर्केका नेपालीको स्थिति एकदमै ‘नाजुक’ रहेको बताइन्। ‘भारतबाट फर्केका नेपालीहरु दसगजा छेउमै बसेका छन्, १ सय ६४ जना मध्ये ९ जना महिला र बालबालिकालाई प्रशासनले क्वारेन्टाइन सम्म ल्याएर राख्न दियो, अरुलाई ल्याउन दिएन,’ उनले नागरिकसँग भनिन् ‘सीमामा रहेका नेपालीलाई उपमहानगरपालिकाले आफ्नो स्रोत र जनशक्ति प्रयोग गरेर खानपिनको ब्यवस्था गरेको छ।’ उनीहरुको लागि बस्ने ब्यवस्था नहुँदा कष्टकर जीवन बिताइरहेको थापाले सुनाइन्। सरकारले सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपालमै ल्याएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नु नै उपयुक्त हुने उनको धारणा छ। ‘बरु उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखौं, बाँके जिल्लाको पनि नेपालगन्जका छन, भने हामी क्वारेन्टाइनमा राख्न तयार छौं, तर यसरी बिजोगमा नपारौं,’ उनले थपिन्। स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा अझै ५० जना अट्न सक्ने उपमहानगरपालिकाले जनाएको छ। जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइन पनि अहिलेसम्म खाली अवस्थामै रहेका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि आवत–जावत गर्न नदिन माथिबाटै कडाई गरिएको बताए। ‘अहिलेसम्म कसैलाई पनि आवत जावत गर्न नदिने भनेर माथिको निर्देशन छ,’ उनले भने। सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकको विषयमा के गर्ने भन्ने विषय छलफलमै रहेको प्रजिअ खड्काले सुनाए।   एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार