लकडाउन फेरि एक साता बढाउन सुझाव………….

काठमाडौं – कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो। भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए। कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनलगायतपछि मात्र लकडाउन खुल्न सक्ने बैठकपछि उनले बताए। उनले जोखिम कम भएका जिल्लामा छोंटो दुरीको यातायात सेवा अवस्था हेरी सञ्चालन गर्न सकिने जानकारी पनि दिए। अझै एक साता लकडाउन लम्बाएपछि अवस्था हेरेर थप निर्णय लिनुपर्ने उनको भनाइ छ। ‘कम जोखिम भएका जिल्लामा छोटो दुरीमा सवारी साधन चलाउन पनि सकिन्छ, स्थिति हेर्न अझै बाँकी छ’, उनले भने। भारतले एकैपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो भने नेपालले पटकपटक गरी दुई साता लकडाउन गरेको छ। अर्को लकडाउन तेस्रो साताका लागि हुनेछ। चिकित्सकका अनुसार कोरोना भाइरस मानिसको शरीरमा दुईदेखि १४ दिनसम्म सक्रिय हुन्छ। कतिपयको शरीरमा भने २४ दिनसम्म पनि सक्रिय भएको पाइएकाले कम्तीमा लकडाउन तीन साता हुनुपर्छ। ‘तर बीचमा संक्रमितबाट अरुमा फैलिएको अवस्थामा भने लकडाउन अवधि बढ्न पनि सक्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने। १४ दिनपछि कोरोना संक्रमणका लक्षणको विकास हुने र संक्रमितबाट अरुमा पनि सर्ने सम्भावना भएकाले लकडाउन कम्तीमा तीन साता हुनुपर्ने सोही अस्पतालका अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताए।   एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार