कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान………….

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्। नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा आज साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिइन्। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरिन्। संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट पारिन्। लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन्। “आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ”, सन्देशमा भनिएको छ । यस विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आआफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गरेकी छन्। रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार