तिमी मेरै लागि जन्मिएकी रहेछाैं मट्याङ्ग्री!

  अजम्बर काङमाङ राई

लेखक ” अजम्बर काङमाङ राई

रतन्छा गैह्री टाेल, खाेटाङबाट घाेडा माथि चढाएर, मेराे अघि अघि लगाएर, टेम्केकाे चिमालेभञ्याङ कटाएर दिल्पा नागी चारघरे भाेजपुरमा भित्र्याएकाे पनि एक कोरि तीन वर्ष बितिसकेछन्, कुमारी । सुख, खुशी र सफलताका क्षणहरू सम्झदा आखाकाे एकै झिम्काइ जस्ताे छाेटाे र दु:ख, बेखुशी र असफलताका क्षणहरू सम्झदा ताताे कराहि  माथि नाङ्गाे पाइतालाले टेकेर यतिका वर्ष कसरी बिताएँ हाेला भनेर अत्यास लाग्छ । जीवन र जगतमा जस्तै वैवाहिक जीवनमा पनि विराेधी तत्वहरूकाे एकता र संघर्षका द्वन्द्ववादी नियम लागू हुँदाे रहेछ । सायद यही नियमले वैवाहिक जीवनकाे रथ गुड्दाे हाे, खटखट खटखट खटखट !
गाेसाइकुण्डबाट भर्खरै झरेकाे त्रिशुलीजस्ताे वेगवान् म र देवघाटकाे जस्ताे गहिराे र फराकिलाे त्रिशुली तिमी! मुल एउटै अनि कुल एउट‌ै । वेग मारेर बग्नु म हुनुकाे पर्याय, गहिरिनु र फिजिनु तिम्राे पर्याय । भिन्न स्वाभाव तर एकाम्यता । वेगै वेगकाे धापले म, राजनीतिक रूपमा रणवन चाहरि हिँड्दा तिमी मुल घरमै बस्याैं; म फर्किएँ । मेराे हार हाेइन, जीत तिम्राे भयाे ।

लेखक र वहाका श्रीमती

थाेपा थाेपाकाे सञ्चय गर्ने तिम्राे बानी सुरु सुरुमा कन्जुस जस्ताे लाग्थ्याे । हाम्री आमा स्व.कितापश्ररी राई काठमाडौं आउनु हुँदा भन्नु पनि हुन्थ्याे, ‘तिमीहरूकाे ताल हेर्दा त के बस्नु हाैं । लुटी ल्यायाे, भुटी खायाे ।’ वर्ष दिनभरि खानेकुराहरू टन्नै भण्डारण गरेर नागीमा ढुक्कले बस्न अभ्यस्त आमालाई शहरिया जीवनशैलीले उकुसमुकुस हुन्थ्याे । ललितपुर ताल्छीखेलकाे भूइँतले दुईवटा काेठामा हामीले दु:खका पन्ध्र वर्ष सजिलै कटायाैं । सञ्चय गरेरै अहिले एउटा छानाे हाल्न सम्भव भयाे । सबैले कमाउछन् । जितुवा ‘जमाउने’ हुन्छ । तिमी जितुवा हाैं, चाम्लिङमा ।
आमाकै सामाजिकीकरणका कारण म खानेकुरामा कहिल्यै नाकनिक गर्दिनँ । विवाहपछि पनि कहिल्यै गरिनँ र गर्दिनँ पनि । मासुकाे अलि पारखी भने हुँ । मांस भक्षण र खानपिनका बारे तिम्राे आदर्श वाक्य सधै सम्झिरहन्छु  वालेम्रुङमा, ‘सँधै खाने बुढा, सबै खाने बुढा !’ तिम्रै कारणले म राेगमुक्त छु । तिमी मेराे निजी चिकित्सक हाैं । तिमी मेराे डाइटिसियन हाैं ।
मद्यपानबाट टाढा र लगभग घृणै गर्ने मेराे बानीमा थुप्रै पारिवारिक भेटघाट र भाेजहरूमा पनि म मदिरामुक्त भएकाे देखेर तिमीले भन्याैं, ‘साेसल ड्रीङ्क त गर्नुपर्छ । वियर त खानुस् ।’ सामाजिक हुँने लाेभमा वियरबाट सुरु भएकाे मेराे मदिरा यात्रा ह्विस्कीसम्म पुग्याे । हाेटल हायतकाे एउटा कार्यक्रममा म असामाजिक हुँने गरी पिएर ट्याक्सीमा ताल्छीखेल फर्किदा तिमीले गरेकाे छिछि र दुरदुर सम्झिदा अहिले पनि मन कटक्क खान्छ । त्यस दिनदेखि एउटा शिक्षा पाए कि प्राय: सबैका श्रीमतीहरूले अाफ्ना लाेग्नेले नपिएकै राम्रा मान्दा रहेछन् र पिइहाले पनि असामाजिक नहुँने गरी मात्रै । नत्र सामाजिक हुन वियर खान आफैंले उक्साउने श्रीमतीले यसरी छिछि दुरदुर नगरी बुढाेलाई गेटसम्मै आएर काेट खाेलिदिनु पर्ने हाेइन र ? त्यस दिनदेखि मैले कहिल्यै असामाजिक हुँने गरी पिएकाे छुइनँ, पिउदिनँ भनेर ‘सुप्तुलुङ’ छाेएकाे पनि छुइनँ ।
हाम्रा बाबा स्व. सूर्यधन राईकाे हामीप्रति दुईवटा सपना थिए, एक, छाेरा बुहारीबाट नाति नातिनी हाेस् र दुई, राजनीति गर्ने छाेराेले सार्वजनिक पद धारण गराेस् । बाबाका दुबै सपना अपुरै रहयाे, बाबालाई मट्टी दिनुप-याे । हुन त हामी पनि ‘क्रस लेग स्ट्राइक’ गरेर बसेका कहाँ थियाैं र बाबा ! बन्दाबन्दी (Lockdown) गरेर बसेका पनि थिएनाैं नि बाबा ! तर के गर्नु अाधुनिक चिकित्सा प्रविधिका उपलब्ध सबै सेवा सुविधा देश विदेशमा लिदा पनि तपाईंलाई काेपा बनाउन असमर्थ भयाैं बाबा ! साे सरी बाबा !! सालीकी छाेरी ज्याेति चाम्लिङ राईलाई देखाउदै आमाले भन्नुहुन्थ्याे, ‘तिमीहरूले पनि एउटी धर्मपुत्री बनाएकाे भए ज्याेति जत्रै भइसक्थी ।’ आमाकाे कुरामा कुमारी पनि सहमत नै है । वंश विस्तारकाे पुरुष अहं सहित म भन्थ्येँ, ‘हैट ! अर्काकाे बाच्छाे बाच्छी चाट्नु, मुखभरि राैं ।’ एकदिन डराईडराई कुमारीलाई ‘सराेगेसी’ विधिबाट एउटा बच्चा बनाअाैं न त भनेँ । देवघाटकी त्रिशुली कुमारीबाट त रसुवाका त्रिशुली जस्ताे गड्गडाउदै मेराे नाककाे दुबै पाेरामा चाेर अाैंला झन्झन्डै घुसारिदिन खाेज्दै उग्र रणचण्डीकाे रूपमा यस्ताे पाे अादेश अायाे गाँठे ‘ए ! अझै तपाईं मेराे कमजाेरी देखाउद‌ै हुनुहुन्छ ? सराेगेसीकाे कुरा गरे जीवन बीमा गर्नू ।’ लगलग काँप्दै मैले हस भनेँ । ए साथीभाइ हाे ! बुढीसँगै सुत्दा समेत मलाई पनि हेल्मेट लगाउन त मन छैन नि । हाेइन र ?
तिमी कति वर्ष पुग्याैं ? याे मेराे प्रश्न हाेइन । हामीले बिताएका वैवाहिक जीवन स्वर्णिम छन् । जीवनलाई रसपूर्ण / अर्थपूर्ण बनाउन र खुशीकाे बहार त अाफैंले ल्याउने हाे । ल्याइरहेकै छाैं । माेतीका दानाकाे उपहार त पहिल्यै टक्राएकै छु, अाज काेराेना भाइरसकाे संक्रमणबाट बच्न लकडाउनमा बसेकाे बेला बहुमूल्य ‘शब्दकाे माला उनेर’ हाम्राे विवाह र हाँसकाे टिउरा भएकाे टिसर्ट अाेढेकाे राेमञ्चकारी क्षण सम्झिने तिम्राे त्याे फाेटाे उपहारमा समर्पण गरेर कुमारी तिमीलाई भन्न चाहन्छु, ‘तिम्राे जन्म दिनकाे धेरै धेरै शुभकामना !’
सुयाेग्य छाेरीलाई मजस्ताे ‘मछा’लाई सुम्पने सासु स्व. सुनसरी राई निनाम्बुङमा, ससुरा रविसाेर राई वालेम्रुङ र जेठान सागरकुमारलाई भूइँ साेहाेरी हाैवा ।
प्रेमपूर्वक भाषामा तिमीलाई मैले र मैले तिमीलाई पुकार्ने छद्म नाम छ, जाे हामीमा मात्रै सीमित छ । अाज तिमीलाई मैले पुकार्ने साे मायालु शब्द सार्वजनिक गरिदिन्छु । म त चंगा हुँ, तिमी लट्टाई । बतासिदै जतिसुकै अकासिए पनि अन्तत: तिम्रै लट्टाइमा फर्कन्छु है । लट्टाइ राम्ररी समात है मट्याङ्ग्री”!!!

कुमारी तिमी मेरै लागि जन्मिएकी रहेछाैं !!!

( लेखक बरिस्ठ बामपंथी राजनितीज्ञ हुनुहुन्छ)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार