बाटो हराएपछी–चन्द्र रानाहँछा

हुरी चलिरहेको साँझ

सरकार घरभित्र पसेको मौका छोपेर

कुख्यात अभियुक्त जस्तो

निस्कियो चोकमा एउटा नागरिक आफ्नो डेराबाट

हेर्यो सर्सर्ती उसले

अभिमानले उभिएको साँढे जस्तो चन्द्रागिरी

ध्यानस्त स्वयम्भू

मुस्कुराईरहेको पशुपतिनाथ

र आँसुले भिजिरहेको आर्यघाटलाई…

कुट्यो आवेगमा मुड्किले भुँइ

ढाक्यो धुलोले उसको जलिरहेको छाती ।

 

पुग्नु थियोे कसैगरी सुदूर गाउँ

छैन बस , जीप उसलाई पुर्याउँने

मन्जुर थियोे हिडेरै नाघ्ने नौडाँडा

छैन भर यात्राको पाईतलाले नाप्ने ।

 

आकाशै आकाश दगुरिरहेको

बादलमा चढेर जान मिल्दैन

उभौली भित्र्याउन

उभै उभो पर्वत छितिज काटीजाने

पंछीहरुलाई पछ्याई लान सकिदैन

शहरको यो निस्पट्ट जंगलबीच

गाउँ पुग्ने बाटो भेटिदैन ।

 

पानी छिटाउन लागेको साँझ

मालिक घरभित्र ओतिदै गर्दाको साईत पारेर

कुनै सुराकी जस्तो

निस्कियो चोकमा एउटा मजदुर आफ्नो डेराबाट ।

 

सरकारले कतै बाटो छेक्ला

खानतलासी गर्ला

कारबाही होला

मुख ढाक्ने माक्स छैन

हत्केला छेक्ने पन्जा छैन

झोलामा सेनिटाईजर, साबुन र गोजीमा खर्च छैन

केवल छ पेटमा भोकको बारुद

र छ मनमा घरको गाढा सम्झना ।

 

चोकमा उ सालिक झैँ उभिएको छ

झरी निरन्तर परिरहेछ

छिनछिनमा बिजुली चम्किरहेछ

साँझ क्रमशः कालो , अँध्यारो हुँदै गईइरहेछ

घरीघरी आँखा फुर्फुराईरहेछ

अघिल्तिरको बाटो हराएको छ ।

 

फर्किएर हेर्यो उसले

आफू डेरा गरि बसेको पुरानो घरलाई

जहाँ घरबेटीले भर्खरै मैनबत्ती सल्काएको छ

लाग्यो उसलाई

बत्तीको प्रत्येक नयाँ उज्यालोले फर्क फर्क भनिरहेछ ।

 

मेघ गर्जिरहेको साँझ

क्रूर शासक झैँ

आफू उभिएको चोक समेत भयानक हुँदै गएपछि

एउटा बिरानो बिछिप्त परदेशी जस्तो निथ्रुक्क भिजेर

फर्कियो उ चोकबाट गह्रौं गरि आफ्नो डेरातर्फ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार