कविता

The real me (१)

सञ्जिव राई, नेपाल

 

मभित्रको

हिँसा

क्रोध

घृणा

डर

त्रास सप्पै एकैचोटी प्रकट भईराछ यतिखेर

कोरोनाको भेषमा

 

ती ईटालीका नर्स कस्तो तत्वले बनेकी थिईन् कुन्नी

जसले आफु सँक्रमित भइसकेपछि अरुलाई नसरोस भनेर आत्म हत्या गरिन्

सँक्रमितहरुको उपचारमा

दिन रात नभनि खटिइरहने

ती स्वास्थ्यकर्मीहरुको मन मस्तिष्क के ले बनेको छ ?

किन लाग्दैन मर्नदेखि डर उनीहरुलाई ?

के उनीहरुका चाहि सम्झेर रुने नाता परिवारहरु कोहि हुदैनन् ?

 

म भने यता खाकी वर्दी र वेतको लौरीमा शक्तिको उन्माद बोकेर हिँडिरहेछु

मलाई त बस्स यहि मौकाको तलाश थियो

कहिले मूक्त होऊँ भइराथ्यो मलाई मभित्रको सँवेदनशिलतादेखि

कहिले फुकालुँ भइराथ्यो सेन्स अफ ह्यूमरको यो आवरण

खैः को थियो त्यो मभित्र

जसले बन्दुक र बारुदलाई गाली गरिरहन्थ्यो

आज तेसलाई भगाइदिएर

म आनन्दले हिडिरहेछु यो सुनसान सडकमा

अराजकताको बुट बजार्दै

मेरो यो मनोविज्ञानलाई कसरी अर्थ्याउलान् कुन्नी विज्ञहरुले ?

 

धन्यवाद कोरोना !

मलाई मेरो सक्कली स्वतन्त्रता

प्रदान गरेकोमा !!

 

 

जोखाना (२)

 

जस्तो कि….

हजुरको अनुभुती यात्रामा

म सँगसँगै हिँडिराछु

कण कणमा सम्वेदनाको झरीले

लछप्रै भिजिरहेछु

 

स्वेटरको धागो उधारेजस्तो

हजुरको पत्र पत्र ध्वार ध्वार उघारी रहेछु

र छ्याङ्ग देखिरहेछु पारदर्शी हजुरलाई

 

जस्तोकि….

बुढासुब्बा मन्दिरमा पुजारीले

भाकल गरेर चढाएको कुखुराको

मुटू कलेजो निकालेर अघिल्तिर राख्छन्

र हेर्न थाल्छन जोखाना

तेसरी नै राखिदिनुभा छ हजुरले

आफ्नो मुटू मेरो अघिल्तिर

म हेर्दैछु जोखाना

र देखिरहेछु ठडिएको शिर

मेरो प्रेमको ।

 

कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता।

संयोज: मगेन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार