कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको आरोप….

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको दलका सांसदहरुले आरोप लगाएका छन् । लकडाउनको दुई महिनाको अवधिमा निर्माण गर्नुपर्ने आइसोलेसन अस्पताल र क्वारेन्टिनको व्यवस्थापन नगर्दा प्रदेशमा कोरोना संक्रमतिको उपचार नै प्रभावित भएको सांसदहरुको भनाई छ । प्रदेश ५ प्रदेशसभाको शुक्रबारदेखि सुरु भएको छैटौं बैठकमा दलका तर्फबाट बोलेका सांसदहरुले कोरोना संक्रमितको उपचार र क्वारेन्टिनको व्यवस्थापन चुस्त बनाउन सरकारको ध्यानार्कषण गराए । नेपाली काँग्रेस संसदीय दलका उपनेता विरेन्द्र कनौडियाले लकडाउनको दुई महिनासम्म सरकारले सम्भावित जोखिमको पूर्व तयारीको काम गर्न नसकेको बताए । आइसोलेसन र क्वारेन्टिन निर्माणमा सरकारले बल्ल तयारी गरेको भन्दै कोरोना महामारीप्रति सरकार संवेदनशिल नभएको आरोप उनले लगाए । ‘हामी दुई महिना लकडाउन गर्‍यौं तर क्वारेन्टिन व्यवस्थापन भएन, क्वारेन्टिनमा खाना पाएका छैनन्’ उनले भने । उनले रुपन्देहीको सुनौली, कपिलवस्तु, बाँकेका भारतीय सीमामा हजारौं नेपालीहरु अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । भारत सरकारले रेल चलाउन थालेपछि हजारौं नेपाली नागरिहरु सीमामा आएर अलपत्र परेको भन्दै व्यवस्थित रुपमा नेपाल ल्याउने तर्फ प्रदेश सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । जिल्लाहरुमा क्वारेन्टिनमा अलपत्र रुपमा राखिएको भन्दै त्यसतर्फ ध्यान दिन समेत नेता कनौडियाको आग्रह ट । उनले परीक्षणको दायरा फराकिलो बनाउन समेत सुझाव दिए । राष्ट्रिय जनमोर्चाका तर्फबाट बोल्दै सांसद तारा जिसिले सिमामा लाखौंका नागरिकले अमानवीय व्यवहार सहेर बस्नुपरेको भन्दै सुरक्षित तरिकाले नेपालमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले बाध्य भएर हिँडेर सीमा आएका नेपालीलाई तुरुन्त नेपालमा ल्याउने व्यवस्था गर्नुपर्ने बताइन् । उनले सामान्य ज्वरो रुघाखोकी लाग्दा पनि कोरोनाका आशंकामा दुव्र्यहार हुने गरेको भन्दै सामुदायिक स्वास्थ्य संस्थालाई बलियो बनाउन आग्रह गरिन् । सांसद जिसिले कारोना महामारीमा स्थानीय तहले काम गरेको बताउँदै प्रदेश सरकार सेतो हात्तिको रुपमा रहेको भन्दै प्रदेश सरकार नै खारेज गर्नुपर्ने माग उठाईन् । उनले अनावश्यक खर्च घटाउनुपर्ने भन्दै आवश्यक परे सांसदहरुको सुविधा पनि सरकारलाई दिन तयार रहेको बताइन् । बैठकमा सांसद समाजवादी पार्टीका सांसद कल्पना पाण्डेले कोभिड १९ को ंसंक्रमण नियन्त्रणमा सरकारले लापरवाही गरेको आरोप लगाइन् । उनले सीमावर्ती क्षेत्रमा गर्नुपर्ने पूर्व तयारी नहुँदा प्रदेश ५ कोरोना महामारीको रुपमा फैलिएको बताइन् । उनले मुख्यमन्त्री प्रदेशको समस्यामा भन्दा वालुवाटारमा बढि ध्यान केन्द्रीत गरेको भन्दै प्रदेशमा ध्यान दिन आग्रह गरिन । रुपन्देहीका मर्चवारी, सम्मरीमाई कोटहीमाई गाउँपालिकामा रहेका क्वारेन्टिनमा भेडाबाख्रालाई जस्तै गरि रादिएको भन्दै यसले झन जोखिम निम्तिएको बताइन् । अर्का सांसद सहर्षराम यादवले कपिलवस्तुमा मात्रै करिव ८ हजार नेपाली सीमामा अलपत्र भएकाले उनीहरुलाई तत्त्काल नेपालमा ल्याउनुपर्ने बताए । गाउँपालिका र नगरपालिकाहरुले क्वारेन्टिन निर्माणको प्रक्रिया अघि बढाएको भएपनि भारतबाट आउने हजारौंर्का व्यवस्थापन गर्न नसकेको बताए । यस्तै सांसद सन्तोषकुमार पाण्डेले रुपन्देहीको सुनौली नाकामा देशैभरका नागरिकहरु आउने गरेकाले उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर सम्बन्धित जिल्ला र गाउँपालिकामा पठाउने व्यवस्था गर्नुपर्ने बताए । नेकपा संसदीय दलका तर्फबाट सांसद पार्वती पुन गहतराजले कोरोना महामारीका बेलामा प्रतिपक्षी र सत्तापक्ष नहुने भन्दै सबै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्नेमा जोड दिईन । उनले सरकारले लकडाउन गरेकै कारण ठूलो क्षति हुनबाट रोक्न सफल भएको बताइन् । छैटौं अधिवेशन बजेट अधिवेशन समेत भएकाले अब कोरोना महामारीले निम्तयाएको असरलाई कम गर्र्ने गरि निति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । प्रेशसभा बैठकको शुरुमा सभामुख पूर्ण घर्तीमगरले छैटौं अधिवेशन आह्वानको प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र पढेर सुनाएका थिए । बैठकमा पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बजार नियम तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए । यस्तै भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पेश गरेको सडक निर्माण तथा मर्मत सम्मार तथा विस्तार सम्बन्धमा गर्न बनेको विधेयक भौतीक पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ । प्रदेशसभाको छैटौं अर्थात बजेट अधिवेशन ६५ दिनपछि बसेको हो । कोरोना महामारीका कारण बैठकमा प्रदेशसभा सदस्यहरुको भौतीक दुरी ५ फिट रहने गरि सिटको व्यवस्था गरिएको छ दर्शक दीर्घा समेत हटाइएको छ । बिहीबार सांसद, सुरक्षाकर्मी, कर्मचारी र मर्यादापलाक र पत्रकारहरुको समेत आरडिटी मार्फत कोरोना परीक्षण गरिएको थियो । अर्को बैठक शनिबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । एनअेाएन

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार