अशोक चाम्लिङ, अमेरिका
हेर्दा कस्तो कस्तो देखिन्छ
तर यो यस्तै छ ।
हर दिन
बिरामी र मृतकको तथ्यांक बढिरहेको छ
अनुपात हिजोको भन्दा आजको ज्यादा छ
‘सुनामी बिध्वँस’ छ
छेउ छाउका मान्छेहरू ढलेका छन
मान्छेको मूल्य सकिएको भान हुन्छ
आफ्नो वरिपरि यमराजको अट्टहास छ
बलियो मानसिकता
केवल मेरो एक मात्र हतियार छ
मानौँ म तेश्रो बिश्व युध्दको
एक बहादुर योध्दा हुँ
किनकी
अहिले म बिश्व महामारी प्रकोपको
इपिसेन्टरमा छु
हेर्दा कस्तो कस्तो देखिन्छ
तर यो यस्तै छ ।
म एक शक्तिशाली देशमा छु
एक भ्रम
म सुरक्षित ठाँउमा छु
अर्को भ्रम
डलर शक्तिशाली हो
तेश्रो भ्रम
म त
लकडाउन नहुने देशमा छु
जो बन्द गर्नको लागि बनेकै हैन
स्वतंत्रताको देशमा छु
जहाँ मानब अधिकार नै ठूलो छ
त्यसैले यहाँ मान्छेहरू
अधिकारको गलत उपभोग गर्छन्
र म यस्तो देशमा छु
जहाँ
मर्ने मरेर जान्छन्
बाँच्नेहरूलाई बचाउन
अर्थशास्त्रका संयन्त्रहरू
निर्बाध चलायमान जो हुनु छ
हेर्दा कस्तो कस्तो देखिन्छ
तर यो यस्तै छ ।
भाइरसको जात हुदैन
भाइरसको धर्म हुदैन
भाइरसको देश हुदैन
भाइरसको सिमा हुदैन
भाइरसले कोपभाजन गर्दैन
तर दिमाखको भाइरसले कोपभाजन गर्दो रहेछ
जस्तो की सोचको भाइरसले भन्छ-
मेरो अनुहारको बनौट हुन्छ
रंग हुन्छ
क्षेत्र, सिमा, देश र महादेश हुन्छ
हेर्दा कस्तो कस्तो देखिन्छ
तर यो यस्तै छ ।
धन्य हो भाइरस !
तिम्रो हाउगुजीले
मर्नुको भय
र बाँच्नुको लालसालाई महसुस गराएकोछ
समाज र परिवारको महत्वलाई सम्झाएकोछ
मानवताको महत्व दर्शाएकोछ
पहिले र अहिलेमा
केहि त फरक छुट्टाएकै छ
नत्र त यान्त्रिक छ मान्छे
अप्राकृतिक छ मान्छे
अन्धो छ मान्छे
जो
शक्तिले उन्मत्त हुन्छ
आडम्बरले बाँचेको हुन्छ
होडबाजीको दौड्मा हुन्छ
हेर्दा कस्तो कस्तो देखिन्छ
तर यो यस्तै छ ।
हो
हेर्दा कस्तो कस्तो देखिन्छ
तर यो यस्तै छ ।
कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता।
संयोजन: मगेन्द्र राई