बिग्रँदै चीन-अस्ट्रेलिया सम्बन्ध…….

सिड्नी — अस्ट्रेलिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिका विषयमा छानबिन हुनुपर्ने माग कडा रूपमा उठाएपछि चीनसँगको सम्बन्ध बिग्रँदै गएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र विदेशमन्त्री मरिस पेइनले अप्रिल अन्तिम साता कोभिड–१९ को महामारी कसरी फैलियो भन्नेबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । त्यसलगत्तै अस्ट्रेलियास्थित चिनियाँ राजदूत जेङ स्वाङले उक्त मागलाई ‘अनुत्तरदायी कदम’ को संज्ञा दिएका थिए । उनले यो अनुसन्धान हानिकारक हुने र यसले चिनियाँ ग्राहकले अस्ट्रेलियाको पर्यटन र शैक्षिक क्षेत्र बहिष्कार गर्न सक्ने बताएका थिए । त्यसयता दुई देशबीच व्यापारिक मनमुटाव त सुरु भइसकेको छ । चीनले अस्ट्रेलियाबाट निर्यात भइरहेको मासु नलिने र जौमासमेत अत्यधिक कर लगाउने निर्णय गरेको छ । अस्ट्रेलियाबाट ४ ठूला कम्पनीले चीनमा मासु आयात गर्दै आएका थिए । जुन हाल रोकिएको छ । त्यस्तो निर्यात समग्र खपतको कम्तीमा ३५ प्रतिशत रहेको थियो । समाचारमा जनाइअनुसार अस्ट्रेलियाबाट वार्षिक रूपमा ३.५ अर्ब डलर बराबरको मासु र करिब ६० करोड डलर बराबरको जौ चीनमा निर्यात हुने गरेको छ । चीनले अचानक गरेको यस निर्णयपछि अस्ट्रेलियाले यो मुद्दालाई विश्व व्यापार संघमा उठाउने बताएको छ । बर्मिङघमले आफूहरू चीनको यस निर्णयले अत्यन्तै निराश भएको प्रतिक्रिया दिँदै अस्ट्रेलिया ‘टिट फर ट्याट’ को प्रक्रियामा सहभागी नहुने बताए । अस्ट्रेलियाको सरकारमा आर्थिक सल्लाहकारका रूपमा एक दशक बढी काम गरेका अर्थशास्त्री डा. कृष्ण हमाल यो व्यापारिक मनमुटावभन्दा पनि दुई देशबीचको राजनीतिक मनमुटाव भएको दाबी गर्छन् । प्रधानमन्त्री स्कट मरिसनले आवश्यकताभन्दा छिटो प्रतिक्रिया दिएका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । यसका साथै चीनले अस्ट्रेलियाबाट निर्यात हुँदै आएको जौमा ८० प्रतिशत कर लगाउने निर्णय गरेपछि यो विवाद अझ चर्किएको विज्ञहरूले विश्लेषण गरेका छन् । यो अस्ट्रेलियामा उत्पादन हुने अनुपातको आधा हो । व्यावसायिक रूपमा चीनले मासुमा प्रतिबन्ध लगाएको र जौमा कर बढाएको भए पनि यसलाई ‘व्यापार युद्ध’ भन्न नमिल्ने व्यापारमन्त्री साइमन बर्मिङघमले बताएका छन् । अस्ट्रेलियाका तर्फबाट समस्याका लागि छलफल गर्नका लागि मन्त्रीबाट गरिएको प्रस्तावसमेत चीनले अस्वीकार गरेको सञ्चार माध्यमले जनाएका छन् । कृषिमन्त्री डेभिड लिटल प्राउड र व्यापारमन्त्री बर्मिङघमले चीनका समकक्षीसँग छलफल गर्न चाहेका भए पनि उनीहरू असफल बनेका छन् । साँच्चै भन्ने हो भने प्रधानमन्त्री मरिसन यो कुरा व्यक्त गर्ने विषयमा अलि छिटो भएका हुन् र यो कुरा चीनले अपेक्षा गरेभन्दा बाहिर भएकाले यो अवस्थाको सिर्जना भएको हो,’ हमालले भने । उनी अहिले दुई देशबीचको व्यापारिक सम्बन्धमा खराबी आएको देखिए पनि यो लामो समयसम्म नरहने दाबी गर्छन् । ‘आफ्नो सबैभन्दा नजिकको र ठूलो व्यावसायिक साझेदार राष्ट्रले अचानक छानबिनको कुरा उठाएपछि चीनले आफ्नोतर्फबाट असन्तुष्टिमात्र व्यक्त गरेको हो,’ उनले भने । मासु र जौपछि अस्ट्रेलियाको वाइन र दुग्ध पदार्धको आयातमा चीनले थप कडाइ गर्न सक्ने केही सञ्चार माध्यमले उल्लेख गरेका छन् । कृषिमन्त्री लिटल प्राउडले अस्ट्रेलियाले चीनद्वारा लगाइएको कर हटाउनका लागि आग्रह गरिने बताएका छन् । विदेशमन्त्री मरिस पेइनले अस्ट्रेलियाले आफ्नो देशको आन्तरिक हितलाई सधैँ प्राथमिकतामा राख्ने बताएकी छन् । चीनले भने यहाँस्थित ४ वटा ठूला व्यवसायको मासु नलिने निर्णय र जौमा लगाइएको कर पछिल्लो घटनाक्रमसँग सम्बन्धित नभएको दाबी गरेको समाचारहरूमा जनाइएको छ । ग्रिफिथ युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय मामलामा विद्यावारिधि गरिरहेका विक्रम तिमिल्सिना चीन कोभिड–१९ बारे स्वतन्त्र छानबिन होस् भन्ने पक्षमा नरहेको बताउँछन् । छानबिनको पक्षमा उभिएका मुलुकलाई चीनले व्यावसायिक र कूटनीतिक माध्यमबाट दबाब दिइरहेको उनको बुझाइ छ । पछिल्लो समयमा बढिरहेको घटनाक्रम हेर्दा चीनले चेतावनी मात्रै दिएको तिमिल्सिनाको भनाइ छ । ‘व्यापारिक रूपमा अस्ट्रेलिया चीनप्रति निर्भर रहेको र चीनसमेत अस्ट्रेलियासँग धेरै हदसम्म निर्भर रहेकाले यो टकरावले दुवैलाई असर पर्ने भएकाले यो धेरै बढेर जाने सम्भावना छैन्,’ उनले भने । तर पनि चीनप्रतिको नीतिमा भने अस्ट्रेलिया अन्य देशको तुलनामा बढी संयमित हुनुपर्ने उनको बुझाइ छ । भाइरस विश्वव्यापी रूपमा बढिरहेको सन्दर्भमा चीन, अस्ट्रेलियालगायत देश भने संक्रमण नियन्त्रणतर्फ उन्मुख भएका छन् । तर पनि यो भाइरसको उत्पत्ति, यसको विकासका बारेमा छानबिन हुनुपर्ने आफ्नो अडानप्रति अस्ट्रेलिया अडिग रहेको छ । हाल त्यस्तो छानबिनको पक्षमा सयभन्दा बढी मुलुकले समर्थन जनाइसकेका छन् । श्रोत: ईका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार