निशित मोक्तान, सिक्किम
अपाहिज छ एउटा समय,
जसको परिधिमा
बन्द छन्
हरेक जिन्दगी
जहाँ, भय त्रास, र,
व्यग्रताले घेरेको साङ्लामा
मान्छे क्षण क्षण
तड्पिन्दै….
मृत्युको खेल
हेरी बस्छ
ट्वाल्ल परेर….
होडबाजीमा
कुद्ने पाईलाहरू
हिजआज
फूर्सद निकालेर
ईश्वरसित,
आयुको पैंचो
मागीबस्छ
निरन्तर ….
अपाहिज बनेका
अट्टालिका महलहरूमा
चहलपहल छैन पट्टक्कै
नितान्त एक्लो भएर,
आकाशतर्फ चिच्चाईरहन्छ
अर्धमृत शहर,
यसरी….
ए मृत्यु !
एक मुठी
ताजा श्वास
फेर्न दे फेरि !
एक मुठी
चिसो बताससित
रम्न दे फेरि !
कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका लागि प्राप्त कविता ।
संयोजन: मगेन्द्र राई ।