दलितको बेग्लै सुर्य कहा छ ?

भानु दाहाल, काठमाडौ

 

झाडिभित्र एक थुङ्गा फुलेको गुलाफजस्तो छोरो

बुहारी लिनगएको, अझै आइपुगेको छैन,

अब हरेक साँझ बत्ती बालिनेछन्,

ढोका उज्यालो हुनेछ र मन लाग्नेछ घरै बसिरहूँ जस्तो

स्त्रीको ममतामय वासनाले घर न्यानो हुनेछ

छोरो बुहारी लिन गएको छ

मानबहादुर विश्वकर्मा

एकछिन आरन छोडेर

हर्ष, उमङ्ग र खुशीहरूसँग आगनमा बालन नाच्छ

छोरो बुहारी लिन गएको छ ।

 

एक्कासी !

आरनमा आगो कसरी निभ्यो ?

या आँखामा के को छायाँ हो धमिलो ?

बलेसीमा छोरोको लाश लडेको छ

मानिसहरू के भन्दै छन् ?

‘उच्चजातसँग प्रेम गर्नु यस्तै घातक हुन्छ ।’

मानबहादुर चिच्यायो

ए उच्चजात !

अभाव, दुःख, कष्टका पिरामिड उठाएर

मानिस-मानिस वीच उपेक्षाका दरार बनाएर

तिमीलाई कुन मोक्ष प्राप्त हुन्छ ?

देखाइदेओ बाटो

दलितको लागि मात्र झुल्किने जुन तारा कहाँ छ ?

बेग्लै चल्ने हावा कहाँ छ ?

दलितको लागि मात्र बग्ने नदी कहाँ छ ?

ए, उच्चजात !

सारा दलितहरूको आत्मा शान्तिको लागि

छोरोको लाश बोकेर म त्यहाँ जानेछु,

तिम्रा लागि

आरन भन्दा रापिला प्रश्नहरू छन्

घन भन्दा गह्रौं घृणा छ

भाटी भन्दा पुरानो दर्द छ

ए, उच्चजात !

फलाम गल्ने यो आगोमा

पग्लिएन तिम्रो दोषी आत्मा

तरवार बनाउने मेरो सिपले

काटिएन कहिल्यै असमानताको पर्खाल

दुष्मन मार्ने हतियार बनाउँने मै हुँ

तर मार्न सकिनँ तिम्रो संक्रिणता

भन ए उच्चजात !

कहाँ छ दलितका लागि छुट्टै संसार

मेरो आरन बोकर म त्यहाँ जानेछु ।

 

संयोगवश

मानबहादुरकै आँगन भएर

उसकै आवाज हराउने गरी नारा घन्किरहेको छ-

स्टप किलिङ दलित !

स्टप डिस्क्रिमिनेशन् !

अन्तरजातिय प्रेमको सम्मान गर !

तर

मानबहादुर प्रश्न गर्छ-

के यि नाराहरुले अव अरु नवराजहरुको हत्या रोकिन्छ ?

 

बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।

संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार