रुबाई, मुक्तक

प्रकाश आङ्देम्बे, झापा दमक

 

(क)

आफुलाई भुलेर अरुको चियोचर्चा गर्नुपर्छ यहाँ त

अरु मरे मरुन आफ्नो झोली भर्नुपर्छ यहाँ त

साह्रै असल, साह्रै राम्रो, मिलनसार भने सबले

जाबो यत्ती प्रसंसा सुन्न पनि मर्नुपर्छ यहाँ त ।

 

(ख)

प्रत्येक प्रहर सिनोमा हुन्छ

सम्पूर्ण रहर सिनोमा हुन्छ

जतिनै उचाईमा उडे पनि

गिद्दको नजर सिनोमा हुन्छ ।

 

(ग)

लाग्छ सिमापारको मान्छे हुनुपर्छ

या त बलात्कारको मान्छे हुनुपर्छ

मलामीमा समेत चुटकिला सुनायो

सायद सरकारको मान्छे हुनुपर्छ ।

 

(घ)

जाबो जुम्रा त शिरमा पुग्छ

कमजोर मात्र तक्दिरमा पुग्छ

हामी त जिउँदो मान्छे पो त

बगरको ढुंगा त मन्दिरमा पुग्छ ।

 

(ङ)

अँध्यारो मै बसेर त घाम मिल्दैन

सजिलै त काम मिल्दैन नाम मिल्दैन

फालिनु, बग्नु, पुरिनु, कि जल्नुपर्छ

यहाँ त लासलाई पनि आराम मिल्दैन ।

 

(च)

प्रेमको बदलामा घृणाको सौगात देखियो

आलो घाउमा नुनचुक छर्ने आफन्तकै हात देखियो

जलाउँछु भनेर आएकाहरु खरानी भएर गए

कठै, आगो र दुश्मनको नि औकात देखियो ।

 

बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।

संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार