रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश……

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश विद्याराज पौडेलको इजलासले उक्त आदेश दिएको हो । साथै तीनजनालाई साधारण तारेख र एकजनालाई धरौटीमा छाड्नसमेत आदेश दिएको छ । चौरजहारी नगरपालिका–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतले जानकारी दिएको छ । कारागार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ (१) र (३) तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको जिल्ला अदालतले जनाएको छ । इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगरलाई थुनामा राख्न आदेश दिइएको छ । घटनामा जोडिएकी मल्ल थरकी किशोरीको आमालाई एक लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको पीडितका तर्फबाट बहसपैरवी गरेका अधिवक्ता आरसी गौतमले बताए । आरोपित इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छोड्न आदेश भएको छ । तीबाहेक अरु सबै आरोपित पुर्पक्षका लागि थुनामा जाने छन् । मुख्य दोषीलाई नै उन्मुक्ति दिन खोजीको भन्दै पीडित पक्षले आक्रोस व्यक्त गरेका छन् । कूल ३४ जना प्रतिवादीमध्ये घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् । जेठ १० गते जाजरकोट भेरी–४, का नवराज विक आफ्नी प्रेमिकालाई लिन उनको घर जाँदा वडाध्यक्ष, केटीका आमा बुवालगायत गाउँलेले आक्रमण गरेका थिए । आक्रमणपश्चात् नवराजसहित गणेश विक, सन्दीप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार