पुष्कर बराल, न्युयोर्क, अमेरिका
लाग्छ मृत्यु नजीक नजीक आउँदैछ
हामी परपर भाग्न खोज्दैछौ
ऊ झनै नजीक नजीक पछ्याउदैँछ
हामी झनझन भाग्न खोज्दैछौ
तर मृत्यु त यतै आउँदैछ
अदृश्य बनेर
बेग गरेर
हावा जस्तै भएर
संधै आफैलाई चाहिने हावा पनि
अहिले भय रहित लाग्दैन
हावा पनि सफा गर्दैगर्दै फेरूँ लाग्छ
संधै हिड्ने गल्लीहरु पनि डरलाग्दा लाग्छन्
बाटो सडकमा मान्छे हैन रोग पो हिडेँ जस्तो लाग्छ ।
पहिला भिड़ सुरक्षित लाग्थ्यो
गाँउ भन्दा सहर उचित लाग्थ्यो
तर समय बंदलिदो रहेछ
मान्छेहरु एकान्त खोज्दैछन्
गाँउ पस्दैछन्
सहरमा मान्छेसंग मान्छे डराउँ छन्
मान्छेसंग मान्छे भाग्छन्
भिडमा मृत्यु दाह्रा टिटकिटाई रहेछन्
सहर बिमारले लम्पसार छन्
सहरमा मृत्युको रात छ
मृत्युका नारा जुलुसहरु पो छन् ।
बेलाबेला जीवन
खल्लो खल्लो लाग्छ
माटाको डल्लो जस्तो लाग्छ
जस्तो कि असिना पानीले प्याट्ट फुटाउने
जब रोगले असिना पानी पार्छ
हामी भिज्ने रहेछौ, चुटिने रहेछौ, फुट्ने रहेछौ ।
संधै सुख नहुन सक्छ
संधै दु:ख पनि नहुन सक्छ
यहाँ मन देखिदैन् तर
मन भरी पिरका पहाडहरु अग्लीएका छन्
डर सन्त्रासका शिखरहरु छन्
यहाँ तन देखिन्छ तर
तन देख्ने आँखामा आँशुहरु पनि देखिन्छन्
अझै तिनै आँशुले छोपिएका आँखाहरु
निलो उघ्रीएको आकाश जस्तो
फेरी एउटा समाज हेर्ने अभिलाषामा
एउटा कोठा भित्र थुनिएका छन्
बेला बेला बाहिर चिहाउँदै ।
बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।
संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’ ।