बादल यायाबर, काठमाडौ
झोक्किएको छु
मेरो आँखै अगाडिको ग्रेटवाल जस्तै
दायाँ लागेर बायाँपट्टि
बायाँ लागेर दायाँपट्टि
उल्टाई पल्टाई
कति सुनाउनु
जिन्दगीका गुनासाहरु
ऐठेनहरु
भाग्यले ठगिएका तथ्यहीन कथाहरु
यी मेरै छेउको
छिमेकी भित्ता कानहरुलाई ।
एक झुप्रो कथा
आमाको केश एक छानोबाट
आँशुको थोपा चुहुन्थे रित्तो भाडामा
कुहिरोभित्र भूमिगत लाटकोसेरो
बजाउथे एकोहोरो सङ्कटको बाजा मध्यरातमा
यस्तो बेला आमालाई
आफ्नो भोक भन्दा छोराछोरीको लागि भोक प्यारो लाग्दो रहेछ ।
त्यहीँ मायामा फुलेको म
आमाको निमित्त
एउटा ठूलो युद्ध लड्न चाहन्थे
हेनरी फोर्ड
बिल गेट्स
ज्याक मा
वारेन बफेट झैँ
म पनि मेरी आमाको आँशुका थोपाहरुलाई मोती बनाएर
यो पुजीबादी समाजमा
बिक्री गर्न चाहन्थे
तर…. तर !
जरैदेखि गाडिएका
मेरा पुर्खाहरु
जाड् र रक्सीको दहमा
निराशा, बाहना, गुनासा, अविश्वास, अन्धविश्वास
त्यही जरामा
अंकुरित ‘म’ र मेरो-जिन्दगी
म चाहन्थे
मेरो बुबाले युगौदेखि मान्दै आएका
देवता बनिएका ढुङ्गाहरुलाई
त्यहीँ ढुङ्गाहरुबाट
गगनचुम्बी शहर बनाउन चाहन्थे
तर…. तर !
झुपडीमा बस्नेले
महलको सपना देख्नु हुँदैन भन्ने
सपना नदेखाउने
यो परिवार समाज देशमा
सपना फुलाउनु हुँदैन भन्ने
सपना देख्नु हुँदैन भन्ने
मैले पनि
बिच बाटोमा आउँदा-आउँदै
आमाको आँसुलाई मोति बनाएर बिक्री गर्ने
र
बुबाको देवतालाई गगनचुम्बी बनाउने
मेरो कत्रो महत्वाकांक्षा सपना ?
जो आज गुन्गुनाहट गुनासा निरासा बाहनामा बदलिएका छन्
त्यसैले म झोक्किको छु
चर्किएको छु ।
कति सुनाउनु
उल्टाई पल्टाई
जिन्दगीको गुनासाहरु
निरासाहरु
बाहनाहरु
भाग्यले ठगिएका तथ्यहीन कथाहरु
यी मेरै छेउकै
छिमेकी भित्ता कानहरुलाई ।
बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।
संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’ ।