सलहका झुन्ड सुदूरपश्चिममा……

सलहका झुन्ड सुदूरपश्चिम प्रदेश पुगेको छ । सलह कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ । सलहले किसानको बालीमा त्यति क्षति नगरे पनि किसान भने त्रसित भएका छन् । ‘ससानो झुन्डमा आएका सलह अब ठूलो बथानमा नआउलान् भन्न सकिँदैन,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम कार्यसमिति अध्यक्ष प्रकाशबहादुर थापाले भने, ‘सलह पुगेको सूचना पाउनेबित्तिकै किसान चिन्तित बनेका छन् ।’ सलह आइपुगेको खबर पाउनेबित्तिकै ग्रामीण क्षेत्रका किसान बिहान बेलुका खेतबारीको रेखदेखमा खटिएका छन् । ‘सलह पुगेको खबर पाउनेबित्तिकै दैनिक खेतमा पुग्ने गरेको छु,’ किसान खुसीराम डगौरा थारूले भने, ‘अघिल्लो वर्ष गरिमा धानले ठग्यो, यसपालि फेरि सलह आए भने त ऋण माथि ऋण थुप्रिन्छ ।’ उनी अहिले सलह धपाउनका लागि तयारी अवस्थामा सरसमानको जोहो गरेर बसेका छन् । ‘थाल, डोरी तथा धुँवा बनाउन चाहिने पराललगायतका सामान तयारी अवस्थामा राखेको छु,’ उनले भने । कैलालीको लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका क्षेत्रमा सलहको झुन्ड देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट बताउँछन् । उनका अनुसार कञ्चनपुरको बेलौरीसम्म सलह पुगेको खबर छ तर क्षतिको विवरण भने आइसकेको छैन । बिहीबार मात्रै कैलालीको अत्तरियाबाट दुई झुन्डमा सलह टीकापुर र धनगढीतर्फ गएको अत्तरियाका कृषि प्राविधिकको भनाइ उद्धृत गर्दै ज्ञान केन्द्रका प्रमुख भट्टले भने, ‘शुक्रबार बिहान कृषि प्राविधिकको टोली सहलको झुन्डको खोजीमा गएको छ ।’ प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदी किनार क्षेत्रमा आइपुगेको स्याटलाइटले देखाउँछ ।’ सलह नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए । ‘हामीले सलहबाट किसानले क्षति बेहोर्नु नपरोस् भनेर एउटा ¥यापिड रेसपोन्स टिम तैनाथ गरेका छौँ,’ उनले भने, ‘त्यो टिमले तुरुन्तै उद्धार गर्छ ।’ यस्तै, सलह भित्रन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि पूर्वतयारी थालेको छ । उपमहानगरपालिकाले १९ वटै वडाका वडा अध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरेको छ । धनगढीका नगरप्रमुख नृपबहादुर वडले सलहको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनबारे छलफल गरेको बताए । ‘जोखिम घटाउन स्थानीय स्तरमा के गर्न सकिन्छ, सबै उपाय अपनाउन वडा अध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिइएको छ,’ उनले भने । धनगढी उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलहले जतिबेला पनि खतराको घण्टी बजाउन सक्ने भएकाले खेतीपातीमा गर्ने क्षति घटाउन प्रजनन गर्न सक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुल र जाल प्रयोग गर्न सकिने विधि अपनाउन किसानलाई सुझाएको बताए । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार