ओली–दाहाल प्रस्तावले नेकपा विवाद नयाँ मोडमा, नेपालसहितका नेता असन्तुष्ट……

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि नेकपाको विवाद नयाँ दिशातिर मोडिएको छ । सचिवालयको शनिबारको बैठकमा ओली र दाहालले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव राखेपछि नेकपामा केही दिनयता जारी तनाव नयाँ दिशातिर मोडिएको हो । जबकी दाहाल र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । र, ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका थिए । तर, शनिबारको सचिवालय बैठकमा ओली र दाहाल मिलेर अचानक नयाँ प्रस्ताव ल्याएपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् । उनीहरुको असन्तुष्टि छ । नेकपा सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा अध्यक्ष ओलीले आफ्नो धारणा राखेका थिए । ‘अहिले पार्टी संकटमा छ । पार्टी संकटमा हुँदा देश पनि संकटमा पर्छ । पार्टी एकता गर्नुपर्‍यो, त्यसको निम्ति सबैले कमीकमजोरी स्वीकार गर्नुपर्‍यो । मेरो पनि कमजोरी भएका होलान् । अरुले पनि आत्मालोचना गर्नुपर्‍यो । हामी मिलेर जानु पर्‍यो,’ ओलीको भनाइ उद्धृत गर्दै सचिवालयका ती नेताले भने, ‘स्थायी कमिटीको बैठक ठीक ढंगले भएन । प्रचण्ड र मेरो बीचमा छलफल भएको छ । हामी सहमति नजिक पुगेका छौं । महाधिवेशन पहिला चैत्रसम्म गर्ने भनिएकै छ, सकेसम्म छिट्टै ल्याउँ । मंसिरमै गरौं । त्यसैबाट सबै समाधान गरौंला ।’ लगत्तै बोलेका दाहालले ओलीको प्रस्तावमा समर्थन जनाएका थिए । ‘हामी मिलेका छौं । सहमति गर्नुपर्छ । मैले आलोपालोको कुरा छोडिदिए । महाधिवेशन छिटो गरौं भन्नेमा हामी मिलेका छौं,’ दाहालको भनाइ थियो । तर, वरिष्ठ नेता खनालले छिटो-छिटो गरेर महाधिवेशन नहुने बताए । खनालको भनाइ उद्धृत गर्दे ती नेताले भने ‘तत्काल महाधिवेशन गरेर जाउँ भन्ने कुराले पदको व्यवस्थापनले मात्र संघर्ष भएको रहेछ । कि प्रधानमन्त्रीले राजीनामा गरेर पद व्यवस्थापन गर्ने कि पार्टीमा महाधिवेशन गरेर पदको व्यवस्थापन गर्ने भन्ने अर्थ लाग्छ । महाधिवेशन भनेको वैचारिक महाधिवेशन हुन्छ । छिटो-छिटो गरेर महाधिवेशन हुँदैन । तयारी नगरी महाधिवेशन जान सकिँदैन । बरु केन्द्रीय कमिटी बैठक बोलाउँ, त्यही छलफल गरौं ।’ वरिष्ठ नेता नेपालले महाधिवेशन छिटो गर्न सकिन्छ भन्नेमा आफूलाई विश्श्वास नभएको बताए । ‘दुई अध्यक्षले स्थायी कमिटी बैठक स्थगित गरिदिनु भयो । त्यसरी गर्न हुँदैन । व्यक्तिवादले समस्या खडा गरेको छ । आत्मालोचना गर्ने कुरा राम्रै भएको छ तर हृदयदेखि आत्मालोचना गर्नुपर्छ । किनकि मलाई शंका छ,’ नेपालको भनाइ उद्र्धत गर्दै ती सदस्यले भने ‘पहिला पनि आत्मालोचना गर्ने पछि त्यो टियर ग्यास हो भनिदिने पनि गरेको हो । महाधिवेशन छिटो गर्न सकिन्छ भन्ने मलाई लाग्दैन । अझै राम्ररी सोचौं, छलफल गरौं, स्थायी कमिटीमा पनि छलफल गरौं ।’ उपाध्यक्ष गौतमले अहिले प्रधानमन्त्रीको कार्यशैलीमा सुधार चाहिएको बताए । ‘कार्यशैलीमा सुधार प्रधानमन्त्रीको हो । त्यो सुधारसहितको प्रस्ताव आएको भए राम्रो भन्न सकिन्थ्यो । तर त्यो आएन । व्यक्तिवादी कार्यशैली कायम भयो भने तपाईं १४ वर्ष जेल बसेको के अर्थ भयो र ? हैन छलछाम हुन्न भने ठीकै छ । तर लिखित प्रस्ताव चाहियो,’ गौतमले भनेका थिए । गौतमले अध्यक्षको व्यवस्थापनका लागिमात्रै महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै केन्द्रीय कमिटीबाट टुंगाउन सुझाव दिएका थिए । ‘अध्यक्षको व्यवस्थापनका लागि महाधिवेशन गर्न खोजिएको हो भने किन महाधिवेशन गर्ने ? केन्द्रीय कमिटीबाट गर्न सकिन्छ,’ गौतमले भनेका थिए । प्रवक्ता श्रेष्ठले पार्टीमा छलछाम र खेलबाड बढी भएको बताए । उनले पार्टीमा छलफल भयो कि पार्टी एकतामा खतरा उत्पन्न भयो भनेर फुटलाई रोक्नु नै ठूलो उपलब्धि हुँदा अरु विषय थाँती रहने बताएका थिए । ‘राजनीतिमा दाउपेच सबै जान्नुपर्छ कृष्णले पनि हरेक षड्यन्त्र गरेर कौरवहरुलाई सिध्याए । चाणक्यले पनि षड्यन्त्र गरेर अर्को सत्ता स्थापित गरे । तर त्यो खेलबाड गर्नुहुँदैन भन्ने पक्षमा म हुँ । कृष्ण त आफू सत्तामा बस्ने थिएनन्, सत्तासँग मात्र जोडिएका थिए । सत्य स्थापित गर्न उसले सक्थे । चाणक्य पनि आफू सत्तामा नबस्ने कुरा थियो,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी त आफू सत्तामा बस्नेमा सहभागी हुँदै त्यस्तो खेलबाड गर्न लागेपछि सत्य स्थापित गर्नेतर्फ जाँदैनथ्यो । त्यसकारण हामीले कृष्ण र चाणक्यको भूमिका निर्वाह गर्नु हुँदैन । हाम्रो यहाँ खेलबाड बढी भयो । छलछाम बढी भयो । यसो गर्न हुँदैन ।’ वैचारिक र सैद्धान्तिक मुद्धालाई हल नगरी महाधिवेशन गर्न नहुने श्रेष्ठले बताएका थिए । अहिलेको समस्या समाधान केन्द्रीय कमिटीबाट गर्न पनि उनको सुझाव थियो । सचिवालय सदस्य ईश्वर पोखरेलले महाधिवेशनबाटै सबै समस्या हल गर्ने कुरा ठीक भएको बताए । ‘महाधिवेशन छिट्टै गर्ने प्रस्ताव आउँदा खुसी लाग्यो । महाधिवेशनबाट नै सबै समस्या हल गर्ने हो । यस्तो प्रस्ताव स्थायी कमिटीमा नल्याएको भएर विचलन भएको हो,’ पोखरेलको भनाई उद्धृत गर्दै अर्का एक सदस्यले भने । सचिवालय सदस्य रामबहादुर थापाले गुटहरु सक्रिय भएको कारण पार्टी फुटिसकेको बताएका थिए । उनले महाधिवेशन छिटो गर्ने भन्ने दुई अध्यक्षको प्रस्तावलाई समर्थन गरेका थिए । ‘पार्टी एकता कायम गर्ने हो । छलफलबाटै समाधान खोज्नु पर्छ । छिट्टै महाधिवेशन गर्ने अध्यक्षद्वयको प्रस्ताव ठट्ठक छ,’ थापाले भनेका थिए । महासचिव विष्णु पौडेलले पनि छिटै महाधिवेशन गर्ने दुई अध्यक्षको प्रस्ताव ठीक भएको बताए । ‘अध्यक्ष कमरेडको प्रस्ताव ठीक छ । हामी एकदम ठीक ठाउँमा आइयो,’ पौडेलले भने । सबै सदस्यहरुले आफ्ना धारणा राखिसकेपछि बैठकको अन्त्यमा अध्यक्षद्वयलाई लिखित प्रस्ताव ल्याउन सचिवालयका अन्य सदस्यहरुले सुझाव दिएका थिए । बालुवाटारको सचिवालय बैठक सकेर ओली र दाहाल राष्ट्रपति शीतल निवास पुगेका थिए । साथै महासचिव पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि गएका थिए । दुई अध्यक्षबीचको सहमतिलाई सचिवालय सदस्यले लिखित प्रस्ताव ल्याउन सुझाएपछि उनीहरु शीतल निवास पुगेका हुन् । पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ । दुई अध्यक्षबीच महत्वपूर्ण सहमति हुँदा महासचिव पौडेल र स्थायी कमिटी सदस्य शर्मा साक्षीको रुपमा राख्ने गरेका छन् ।

संभव छ त ‘अर्ली’ महाधिवेशन ?

तत्कालीन एमाले–माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता हुँदा तीन महिनाभित्र एकीकरण प्रक्रियाका बाँकी काम सकेर दुई वर्षभित्र एकता महाधिवेशन गर्ने सहमति थियो । अन्तरिम विधानअनुसार नेकपाको महाधिवेशन ०७७ जेठभित्र भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म एकताका पूरा काम सकिएका छैनन् । नेकपा विधानमा दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने, एकताको राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैँले आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने उल्लेख छ । माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटी बैठकले ०७७ चैतभित्र महाधिवेशन गर्ने नयाँ तालिका छ । तर, यो त्यति सहज भने छैन् । महाधिवेशन अगाडि नेकपाले एकताका बाँकी काम टुंग्याउनपर्ने, सदस्यता नवीकरण सक्नुपर्ने, तल्ला कमिटी र जनसंगठनको अधिवेशन सक्नुपर्ने, कार्यदिशाको बहस गर्नुपर्ने साथै नेतृत्वको संरचना र आकार टुंग्याउनुपर्ने हुन्छ । तर, यहीबीचमा कोरोना संक्रमण र चाडबाडसमेत भएकाले मंसिरको महाधिवेशन सहज भने नरहेको नेकपाकै नेताहरुको बुझाइ छ। श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार