अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार……

अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् । अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाको सदस्य भएको भन्दै झुटो बोलेका थिए । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेको छ जसले आफ्नो चिनियाँ सेनासँग ‘अघोषित सम्बन्ध’ भएको बताउँदै आएका थिए । अमेरिकी वकिलका अनुसार यो चिनियाँ योजनाको एउटा हिस्सा हो जसअनुसार चीनले गोप्य रुपमा आफ्ना सेनाका वैज्ञानिकलाई अमेरिका पठाउने गर्छ ।न्याय विभागका वकिल जोन सी डेमर्सले एक पत्रकार सम्मेलन जारी गर्दै चिनियाँ सेनाका सदस्य रिसर्च भिसाका लागि आवेदन दिने गरेको र आफ्नो वास्तविक पहिचान लुकाउने गरेको जानकारी दिए ।

खुल्ला समाजको फाइदा उठाउने कोसिसः

बयानमा भनिएको छ, ‘यो हाम्रो खुल्ला समाज र हाम्रो शिक्षण संस्थाको फाइदा उठाउने चीनको कम्युनिष्ट पार्टीको योजनाको एउटा अर्को हिस्सा हो ।’ गिरफ्तारीअघि अमेरिकाली चीनका एक वैज्ञानिकले सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा शरण लिएको घोषणा गरेको थियो । त्यसको एक दिन अघि अमेरिकाले ह्यूस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएका थिए । अमेरिकाले त्यहाँका अधिकारी बौद्धिक सम्पदाको चोरीमा संलग्न भएको आरोप लगाएका थिए । बिहिबार चिनियाँ व्यक्तिको गिरफ्तारी अघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी आरोपलाई द्वेषपूर्ण लाञ्छना बताउँदै चीनले यसको जवाफी कारवाही गर्ने र आफ्नो जायज अधिकारको सुरक्षा गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला केही महिनादेखि व्यापार, कोरोनाभाइरस र हङ्गकङका नयाँ सुरक्षा कानूनको मुद्दामा चीनसँग निकै दुश्मनी मोलेका छन् ।

उनीहरुमाथि के आरोप छ ?

जो चार व्यक्तिविरुद्ध भिसाको विषयमा धोका दिएको आरोप छ उनीहरुको नाम हो वाङ्ग शिन, सङ्ग शेन, जाओ कायकाय र ताङ्ग जआन । ताङ्ग जुआनले सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा शरण लिएको बताइँदै छ ।अमेरिकाका अनुसार चारै जनाले चिनियाँ सेनामा काम गरेको बारे झुटो बोलेका थिए । उनीहरुले पहिला सेनासँग काम गरेको तर आफूहरु अहिले सेनाको हिस्सा नभएको वा आफू कहिले पनि सेनासँग आबद्ध नभएको भन्दै झुटो विवरण दिएर धोका दिएको अमेरिकाले जानकारी दिएको छ । वाङ्ग शिनलाई जुलाई ७ मा लस एन्जेल्स विमानस्थलमा गिरफ्तार गरिएको थियो । उनले आफू चिनियाँ सेनासँग सैन्य युनिभर्सिटी ल्याबमा काम गर्ने गरेको बताएका थिए तर भिसा आवेदनमा उनले सन् २०१६ मा सेनाको जागिर छोडिदिएको बताएका थिए । साङ्ग शेन र जाओ कायकायलाई जुलाई १८ मा गिरफ्तार गरिएको थियो । अभियोजकको आरोप अनुसार साङ्ग शेनले उनी एक न्यूरोलोजिस्ट भएको र सेनाको जागिर छोडिदिएको बताएका थिए तर वास्तवमा उनी चिनियाँ वायुसेनाको अस्पतालमा अहिले पनि कार्यरत छन् । यता जाओ कायकायले सेनासँग कहिले पनि काम नगरेको जानकारी दिएका थिए तर उनली अहिले पनि चीनको एउटा ठूलो अनुसन्धान संस्थामा काम गर्छन् । ताङ्ग जुआन चिनियाँ वायुसेनाकी सदस्य हुन् । अमेरिकाको एक एजेन्टले उनलाई सैन्य युनिफर्ममा देखेका थिए र उनी अहिले पनि वायुसेनाको मेडिकल युनिभर्सिटीमा काम गर्छिन् भन्ने कुराको प्रमाण पनि जुटाएका थिए । ताङ्ग जुआनले आफ्नो भिसा आवेदनमा आफूले कहिले पनि सेनामा काम नगरेको भन्ने जानकारी दिएको आरोप लागेको छ । स्रोतः बीबीसी (रापा)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार