प्रहरी हेडक्वार्टरमा कोरोना आतंक, फेरि लकडाउन होला ?…..

काठमाडौँ । पछिल्लो समय प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण धमाधम देखिन थालेको छ । पछिल्ला नौ दिनमा मात्रै प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ७२ जनालाई कोरोना भाइरस पुष्टि भैसकेको छ । प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्र्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए । कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म २५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन ११ मा पहिलोपटक प्रहरी हेडक्वार्टरमा चार जनामा कोरोना देखिएको थियो । कोरोना संक्रमिमध्ये २ जना सवारी र २ जना सञ्चार शाखामा कार्यरत थिए । कठायतले भने, ‘सुरुमा संक्रमित चार प्रहरीमा ज्वरो, रुघा–खोकी देखिएपछि परीक्षण गरिएको थियो । सुरुमा संक्रमण पुष्टि भएकाहरुबाट नै संक्रमणको स्रोत खोजी भइरहेको छ । प्रहरी हेडक्वार्टरभित्रै कार्यरत प्रहरी कर्मचारीलाई कसरी कोरोना संक्रमण पुष्टि भयो भनेर चासोको विषय बनेको छ । प्रहरी हेडक्वार्टरमै कोरोना भाइरस कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको प्रवक्ता कठायतले बताए । उपत्यकाको विभिन्न ठाउँमा हुने जुलुसबाट प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमण फैलिएको हुनसक्ने प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा कार्यरत एक अधिकृतले रातोपाटीसँग भने, ‘सुरुमा कोरोना संक्रमित हुने प्रहरी हेडक्वार्टरभित्रकै एक चालक हुन् । ती चालक उपत्यकामा हुने विभिन्न विरोध तथा समर्थनका जुलुस, सभाको सुरक्षा तथा नियन्त्रणका लागि खटिने प्रहरीको गाडी चलाउँदै आएका थिए । ती अधिकृतले भने, ‘असार अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले निकालेको जुलुसमा पनि गाडी चलाएर ती चालक पुगेका थिए माइतीघर मण्डला ।’ माइतीघर मण्डलामा निकालिएको जुलुसबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने ती अधिकृतले भने, ‘प्रहरी हेडक्वार्टरबाट ती चालकले गाडी चलाएर गएका थिए, जो प्रहरी हेडक्वार्टरभित्र कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति हुनसक्छन् । त्यस्तै पछिल्लो समय बालुवाटारमा प्रत्येक दिन ‘इनअफ इज इनअफ’ अभियान्ताहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि कोरोना भाइरसको जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।

फेरि लकडाउन होला ?

पछिल्लो समय दिनानुदिन उपत्यकाको चोक–चोकमा प्रदर्शन भइरहेको छ । लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकासहित देशैभर कोरोना संक्रमितहरुको संख्या पनि दिनानुदिन बढेपछि सरकारले भाइरस संक्रमण नियन्त्रण गर्न फेरी लकडाउन गर्ने संकेत गरेको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालय जोरबिजोर प्रणाली समेत लागू गर्ने तयारीमा छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार जोरबिजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी समेत पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले रातोपाटीसँग भने, ‘यस विषयमा आवश्यक छलफल भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो । स्रोतः रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार