सुन्दर चेतना-भय र भयवाद

Author : देश सुब्बा
Published on : February 01, 2009


  
देश सुब्बा

          भयवादको धारणा विकास हुन थालेको पनि एक दशक हुन लागेको छ । विश्वका दर्शन, साहित्यले सह्रशताब्दी, दुईसह्रशताब्दी मनाउँदै छन् धमाधम । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ-हङकङ, काठमाण्डौँ र धरानमा विमर्श, छलफल हुँदै । छोटो अवधिमा राष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ गतिशीलता देखाउँछ । यो सकारात्मक पक्ष हो । यो सबैको जीवनमा सधैँ आइपर्ने स्थायी चेतना हो । जीवन यसैको चालमा चल्दछ । यो नकारात्मक भयो भने निस्सार, अराजक, उत्श्रृंखल, अतिवादी, युद्ध बन्छ । यस अर्थमा यो एउटा भयाभय रोग हो । यस्तो रोग सबै मान्छेमा हुन्छ, प्राणीमा हुन्छ । तर अर्कोतर्फ हेर्ने हो भने सुन्दर चेतना हो । हामी सुन्दर चेतनाको कुरा गरिरहेका छौ भयवादमा । यो चेतना उर्जाशील र प्रगतिशील भनिरहेका छौँ । भयबाट निस्किने छुट्टै महापथ हो भनिरहेका छौँ ।

          यसको आकाश फराकिलो छ । यो धेरै तन्काउन सकिने विषय हो । नेपाली साहित्यमा दर्शनमाथि प्रयोग विरलै पाइन्छ । भयवादले इटा थप्ने काम गरेको छ-आदिवासीमा प्रयोग गरेर । भयवादमा समालोचना, समाचार, लेख, रचनाहरू लेखिन थालिएको छ । यी प्रयाप्त छैनन् । अझै प्रशस्त पुस्तक लेखिनुपर्छ । विश्वले हजारै वर्षदेखि गरिरहेको प्रगतिमा नेपालीपन थप्नुछ । यसको ��"भरल्यापले हिजोको दृष्टिकोण, मान्यता, स्थायी र सत्यलाई नयाँ आयाम दिने छ । नेपाली साहित्यमा नयाँनयाँ प्रयोग हुन थालेको पनि निकै भैसक्यो । अझै थपिएको थपिए छन् । त्यसैले भयवादले चुप लागेर बस्ने समय छैन । विश्व भयाभय बन्दैछ -बेरोजगार, हत्या, आतङक, युद्ध, पृथ्वीको बढ्दो तापक्रम, प्राकृतिक प्रकोप, वायु प्रदुषण, वनविनाश, भोक, रोग, अनिकाल, आणविक हतियार, रेडियो विकिरण, जीव, वनस्पतिको लोप, धार्मिकयुद्ध, जातीययुद्ध जस्ता तमाम कारणले निरन्तर अगाडि बढ्दै जाने बेला छ ।

          दर्शनको ग्यापबाट उठाएको वाद 'भयवाद' । जीवनलाई हेर्ने नयाँ प्रआँखा । जीवनलाई यो कुनाबाट हेर्ने सिद्धान्त बनेन कतैबाट । भयवाद भन्दछ-जीवनदेखि मृत्युसम्म वा संभावित घटनादेखि घटनासम्म भयको परिभ्रमण हुन्छ । यसैमा मान्छे खेलिरहेको हुन्छ, हाँसिरहेको हुन्छ, बाँचिरहेको हुन्छ । यो प्रगतिशील चेतना हो । चेतनाको अवस्थालाई सामान्यतया तीन किसिममा विभाजन गरेको पाउँछौँ-जागृत, सुप्त, सुषुप्त । यी तिनै अवस्थामा चेतना फरक हुन्छ र भयपनि । ती प्रत्येक प्राणीको फरकफरक चेतना हुन्छ । ज्ञान भएपछि भय हुन थाल्दछ । कसैलाई रोग लागेको थाहा नभइन्जेल भय हुँदैन । निरोगी मान्छेजस्तै खानेपिउने गर्छ । थाहा भएपछि उसलाई भय हुन थाल्दछ । सागै बस्ने, खाने, मान्छेहरू पनि रोग सर्ने डरले परपर भाग्न थाल्दछन् । भयले सबैको गतिविधि, व्यवहार, क्रियाकलाप प्रभाव पार्दछ । यस सिद्धान्तले यही कुरालाई व्याख्या गर्दछ । जीवनमा भय निरपेक्ष छ वा जीवनका नौरसहरूमा शक्तिशाली । र जगत् जीवनमा सापेक्षित छ । जीवनले नै जगत्को व्याख्या गर्दछ । यो खासगरी शून्यता, प्रकटको ग्यापबाट उठेको दर्शन हो । समयको सुक्ष्म खण्डमा नयाँ नयाँ प्रकट भैरहेको हुन्छ वा प्रकट एउटा ग्याप हो, एउटा शून्यता हो । जीवन-चेतना-ज्ञान-भय-भयवाद यो यसरी सुत्रबद्ध छ । यसैबाट निस्किने महापथमा हिँड्छौ, प्रयास गर्दछौँ हामी । यसबाट निस्किने मान्छे वा प्राणीको आ-आफ्नै नौला पथहरू हुन्छन् ।

          सबै चेतनशील मान्छेलाई समान किसिमको भय हुन्छ भन्ने हुँदैन । एउटै विषयमा कसैलाई बढी त कसैलाई कम हुन्छ । मान्छेमा फरक चेतना, फरक सहने क्षमता र त्यसलाई ग्रहण गर्ने फरक क्षमता हुन्छ । सबै मान्छेलाई भय त हुन्छ नै । तर चेतना, सहनशीलता, ग्रहणीय क्षमताको कारणले फरक हुन्छ । त्यस्तै जीवन, जगत्, मृत्यु, आफन्त, सम्पत्ति, स्वर्ग, नरक सबै थाहा नभएको भए मान्छेलाई भय हुँदैनथ्यो । तर चेतनाको विकाससागै थाहा पाउँदैजान्छौँ र भयभीत हुँदै छौँ ।

          भयवादमा एउटा प्रचलित शब्द प्रयोग हुँदै आएको छ । त्यो हो-प्रकट । आदिमकालबाट प्रकटलाई साधारण रूपमा प्रयोग गरिन्दै आइएको छ । भयवादमा यो बलियो छ । किनभने जीवन र जगत् प्रकटको लामो श्रृंखला हो । छेलिएको, जेलिएको, थिचिएको भागबाट निस्किने एक्जीट हो-प्रकट । चेतनशील प्राणीले समयको सानो खण्डमा देखेर, सुनेर, बुझेर, सोचेर र एउटा अवस्थाबाट अर्को अवस्थामा फडको मार्छ । जीवनमा पाना पल्टाएको जस्तो हुन्छ प्रकट । यस्ता प्रकट जीवनभरि नै भैरहेको हुन्छ । तर कतिपय उल्लेखनीय हुन्छन्, कतिपय हुँदैनन् । मान्छेले ज्ञान प्राप्त गरेको वा इनलाइटमेन्ट भएको पनि प्रकट नै । त्यसैले भयवादमा यसको ठूलो महत्व छ ।

          सजिव प्राणीलाई आन्तरिक र बाहृय चारैतिरबाट भयको मण्डलले घेरेको हुन्छ । यो यति सक्रिय र प्रभावकारी हुन्छ जसरी जीवनलाई निर्देशन, नियन्यण गर्दै जान्छ । यसको प्रभावमा मान्छेको निर्णय प्रभावित हुन्छ-सानोदेखि ठूलोसम्म । एउटा संभावित घटना वा जीवन हुन्छ र मृत्यु । यस बीचमा सबैभन्दा ठूलो भूमिका भयको हुन्छ । घटना घटिसकेपछि एउटा भय समाप्त हुन्छ, अर्को तयार परेर बसिरहेको हुन्छ । त्यो पनि घटछ्, र फेरि अर्को ।

          प्रकट एउटा पल्लव हो । खासगरी छेकिएको, जेलिएको ढाकिएको ठाउँहरूबाट निस्किने । जीवनमा धेरै दर्शनले बोलेर गएका छन्, बोल्दैछन् । धर्मशास्त्रले बोलेका छन् । त्यस्तै इतिहास, मनोविज्ञान, विज्ञानले बोलेको बोलेकै छन् । कसैले गहिरो प्रभाव छोडेका छन् त कसैले कमसल । कतिपय दीर्घकाल, कति अल्पकाल । भयवाद पनि समानान्तर बोल्दैछ । तर यसमा ओज, तेज, कान्ति सबै छ । जीवनको सामिप्यमा छ । कतिले सहजै स्वीकारिरहेका छन् । कतिले असजिलो तरीकाले । जीवनमा यो सर्वयाप्त छ । यसलाई सम्हाल्न सके जीवन सहज बन्दछ । जब एउटा रेखा अर्को रेखामा ओभरल्याप गर्छ निश्चितै त्यहाँ गहिरो प्रभाव पार्दछ ।

          यो शक्तिशाली छ । यो प्रगतिशील, उर्जाशील, घनात्मक सुन्दर चेतना । यो हिजो थियो, आज छ, भोलि पनि हुनेछ । तर हिजो यो कतै छेलिएर मार्जिनल थियो । अहिले समानान्तरमा छ । हिजो भयको महत्व अन्तै थियो सिमान्तमा । आज समानान्तरमा । यो सुकरात, प्लेटो, एरिसटोटल, कान्ट, निचे, सास्त्रे, माक्र्स, फ्राइड सबैबाट आएको छ । मनोविज्ञान, नृतत्व शास्त्र, इतिहास, दर्शन शास्त्र, धर्मशास्त्रले बोलेको कुरा आएको छ यसमा । अहंमता, इष्र्या, घृणा, क्रोध, षडयन्त्र, लोभ, अस्तित्व सबैबाट । रूढिवादी, अन्धविस्वास, धर्म, रीतिरिवाज, सबैमा । यो जीवनको भित्री सौन्दर्य हो । यतिको व्यापक जीवनलाई समेट्ने अरु वाद छैन जगतमा । यो एउटा मानवीय जीवनको सर्वव्यापी विचार हो । यसले सम्पूर्ण जीवको, वनस्पतिको र प्रकृतिको चाल हेर्दछ-एककोषिय जीवदेखि बहुकोषिय जीवसम्म, महाशक्ति राष्ट्रदेखि शक्तिहीन राष्ट्रसम्म । युद्ध, अहमता, अस्तित्व सबैमा भय खोज्ने समय भयो । दृष्टिकोणहरूको अनकन्टार जंगलमा थपिएको एउटा सुन्दर प्रजाति ।

          यो कला, साहित्य, दर्शन, समालोचना सबैतिरबाट उठिरहेको छ । यो एउटा प्रयोग । धर्म, दर्शन, मनोविज्ञान, विज्ञानबाट लिइएको । नेपाली साहित्य र विचारमा यसको विमर्श निरन्तर छ । अझै प्रशस्त हुन बाँकी छ । यो विश्वको लागि नेपाली उपहार मान्नु हुन्छ डा. टंक न्यौपाने । यो विश्व रंगमञ्चमा कला देखाउने नेपाली उर्जा । दिनदिनै यसको ख्याति बढिरहेको छ । डब्लुडब्लुडब्लु डट फियरिज्म डट ब्लकस्पट डट कम यसको सूचना केन्द्र हो । यो भयवादको केन्द्रीय पुस्तकालय । यसलाई दिनहु जस्तो डायास्पोरा र नेपालका थुप्रै पाठक, श्रोताले हेरिरहेका छन् । डायास्पोराबाट सञ्चालित वेव पत्रिकाहरूले उच्च महत्व दिएर प्रकाशन गरिरहेका छन् ।

          यो हङकङबाट उठेको एउटा आन्दोलन । डायास्पोराको एउटा प्रतिष्ठा । गरिरहेको आविष्कारको बोधार्थ । अब यसलाई अन्तराष्ट्रिय जगतमा लाने सुसमय भएको छ । हजारौ वर्षदेखि दौडिरहेका भुसतिघ्रेहरूलाई मैदानमा आएको खबर दिने बेला भएको छ । यसलाई विभिन्न समूह, ट्रष्ट बनाएर अगाडि बढाउन सकिन्छ । यसले नेपाली गौरव मात्रै दिदैन, जीवनलाई आवश्यकतानुसारको सेवा दिन्छ । यो विचार, साहित्य हुँदै कलामा, भौतिक विज्ञानमा, चिकित्सा विज्ञानमा आउनुछ । भाषालिपि, धर्मसास्कार, इतिहास सबैतिर आउनुछ । प्रतिपल मान्छेसित भएको चेतना । हामीले यसलाई सबैतिरबाट देख्नुछ । यो सबैभन्दा बढी युद्धले विक्षत् नेपाललाई थाहा छ, भोकले निलिरहेको इथोपियालाई थाहा छ । भयवाद त्यही खोजिरहेको छ यसबेला ।
     
          बाँकी अध्ययनको लागि लगअन गर्नुहोस् www.fearism.blogspot.com