यो गोर्खे

Author : केदार 'संकेत'
Published on : July 06, 2016


  
केदार 'संकेत'

महारानी हजुर !

कुन बेला कुन बेला

म तपाईंको दरबारअगाडि

बुटका टापको आवाज बजार्न आइपुगेछु

कृपया निन्द्रामा भए नतर्सिनु होला

इ सय बर्षसम्म

यो गोर्खा बटालियनमा

यत्ति सस्तोमा बेचिएँ छु कि

हेक्कानै भएन, पत्तै लागेन

आज हिसाब माग्न यो गोर्खे तपाईंको दरवार छेउ सम्म

खुकुरी फालेर, हिक्मत भिरेर आएको छु ।

 

नोकरी नै ठूलो हो भन्ने सम्झेर

बर्मा देखि फोकल्याण्डसम्म

चाइना बोर्डरदेखि बोस्निया र

प्यालेसदेखी अफगान सम्म

कहाँसम्म पो पुगिनँ र ?

 

मैले हङकङ पचास ड्रि्री घामलाई घाम भने कि

बेलायती चेरापुञ्जी डाटमोरको हुरी बतास र

कठ्यांग्रिदो ठिही झरीलाई मैले

चिसो झरी पो सम्झेर

भिजेको टेन्टमा कक्रिएर निदाएँ  कि !

 

हैन आजको गोर्खालीको शान, मान र इज्जत कहाँनिर छ र ?

अनि कहाँतिर छ गोर्खालीको इतिहास ?

महारानी हजुर !

आजसम्म यो गोर्खे सिपाही किन

एक कप चियाको मूल्य जसोरी बेचियो सस्तोमा

जाबो एउटा लण्डनमा गोर्खेको मूर्ती रोप्दैमा

के गोर्खेको इतिहास लेखिएको सम्झिनु पर्यो र ?

 

मैले त सधै ग्रेट ब्रिटेनको सेवा गर्नु 

तपाइकै देश बचाउन

गोर्खालीको सस्तो तर चौडा छाती तेर्साएर

फ्रन्ट लाइनमा गएर तातो गोली खानु पर्ने रे

दुइ शताव्दीपछि आज के भयो यो सिपाहीलाई

नालापानी र ग्यालीपोलीको लडार्ँइंभन्दा बढि

यो गोर्खेको रगत आज किन तातीयो बेस्सरी ?

 

तपाईंको देशको आप्रवासी

- त्यो भारतीय

- त्यो चिनियाँ

- त्यो पाकिस्तानी

- त्यो बङ्गाली

  पूर्वी युरोपेलीहरुले

कुन बेला हजुरको खातिर एक थोपा रगत चुहायो ?

कुन दिन हजुरको दरवारमा पहरा दियो ?

रेलको लिग बनाउने कामदारलाई यहाँ सरकार बनाइन्छ

धिक्कार छ बफादार गोर्खे

तिमीले यो राष्ट्रको नागरिक हुन

दुइ शताब्दी पर्खिनु पर्यो ।

 

महारानीको क्यू आर ले के भन्छ कुन्नी ?

बिकराल ती हरेक लडाईहरुमा

नालापानी देखी अफगान सम्म

पिस्तोलले लड्यो कि लडाईं

बन्दुक ले लड्यो ?

त्यो किल्ला र सिमानाहरु 

अफिसरको काँधको फुलीले मात्र थाम्यो कि

सिपाहीको बन्दुकले थाम्यो ?

 

महारानी हजुर !

बिगतका लडार्इंहरुमा यो सिपाहीको आँखा फुट्यो

अब तपाईंको देशमा पसेको दुश्मन देख्न नसकुँला

मेरो खुट्टा तालेबानको बमले लुछेर बालुवा जस्तै बनायो

तपाईंका दरवारमा गार्ड बस्न र हजुरको अर्ली गर्न नसकुँला

लडाईंमा तपाईलाई स्यालुट ठोक्ने दाहिने हातैमा गोली लाग्यो

अब पाँच ��"लीको हत्केलाले सलोट टक्याउन नसकुँला ?

आँखाहरु बमका छिर्काहरुले उडाईंलाँदा

हजुरको प्यालेस अगाडि अब

'गोर्खे हृयाट' लगाएर बडेमाको कुनै परेड खेल्न पनि नसकुँला 

महारानी हजुर ! हामी बिमारी भएको छैनौं

हामीलाईं मन दुखेको दबाई हैन, पक्का पक्कामा

समान हकको पुनरावलोकन हुनु पर्योको माग हो

अवोत 'इयु' पनि छोड्नु भो !

अदालतमा दाखिल भएका हाम्रा माग सेलाएर जान नदिइयोस ।

 

फेरी पनि, खुकुरीभन्दा सस्तोमा

यो गोर्खे किन बेचियो महारानीको देशमा ?

कहाँ छ यहाँको मानव अधिकारवादी ?

र कुन वोकिलका बाकसमा थुनिएको छ समानहकका धाराहरु ?

आशाको आकाश हेरेर बाँच्नु मात्र सक्दैन अव

यो गोर्खेले 

 

(महारानी हजुरी ९० ��"जन्मदिनको शुभ कामना सहित !)

(क्यू आर-कुइन्स रेगुलेसन)