पर्देशिको जीवन

Author : सरिता सुनुवार
Published on : September 07, 2016


  
सरिता सुनुवार

एक भारी वाध्यतालाई बुई गर्दै

सपनाहरुका छरपस्ट विस्कुन लगाई

सुन्दर भोली खोज्न

दुर देशमा भौतारी रहेछु

आफ्नो प्यारो गाउँ घर भन्दा

पर-

धेरै परको भूगोलमा

यायावर जीवन बांचीरहेकोछु

माटो, देश र आफन्तदेखि

भौगोलिक दुरता नाप्दै गर्दा

हिजोआज यस्तो लाग्छ

भाग्यले ठगिएकी

कर्मले हेपिएकी

म बिचरी

केवल बिचरी         

हिजो र आज

देश र परदेश केलाउदा केलाउदै

कतै केही नमिले जस्तो

केही हराए जस्तो

लाग्छ मन बिरक्तिन्छ

यताबाट जोडेपनि उताबाट जोडेपनि

जिन्दगीका गणितमा भागा नलागेर

शेष रहेको भागफल जस्तै

देख्छु मेरा रहर

म परदेशमा हुनुले हो वा

आज मैले टेकी रहेको भूगोल

परदेश भएर हो

निरश र उराठ देख्छु

मेरो परदेशी जीवन   

 

प्रीती-४, रामेछाप हाल, लेबानन