हरित सुन्दरी

Author : भावना परिष्कृत सुनुवार
Published on : September 21, 2016


  
भावना परिष्कृत सुनुवार

उ त्यहाँ धेरै पहिल घना बन थियो

उहिले बाजेले श्याँदरमा

ढोल बजाउन

ढोल बनाउने ढोलेहेरुलाई भन्नुहुन्थ्यो-

रुख काट्दा तन्नेरी नकाट्नु, बुढ्यौली छाट्नु

एक रुख कटान गर्नु पहिला

दुइ बिरुवा अवश्य रोप्नु

नत्र भूमिदेबी रिसाउछिन

बाढी पहिरो खसाउछिन

रुख बिरुवा नलगाए

बन जंगल नजोगाए

बन देवताको श्राप पर्छ

इन्द्रेणीको बाण लाग्छ

पानी पधेराको मुहान सुक्नेछ

धर्ति तातिएर सुख्खा हुनेछ

डढेलो लाग्नेछ

आकासको देवता रिसाउने छ

बर्षात हुन छाड्ने छ

जीव जन्तु मनुवा सबै पानी पिउन नपाएर

घाँस अन्न खाना नपाएर

अनिकालमा अकाल मर्नेछन

साखा सन्तानहरु-

हराउदै र मासिदै जानेछन,

 

भूमि आमासंग अनुमति मागेर

लाछेर खानु मासेर नखानु

लाछी खाए त् फेरि पलाउछ

जरै मासी खाए पछि त हराएर जान्छ

बाजे यसो भन्नु हुन्थ्यो

बिरुवामा माटो र पानी दिंदै

पातहरु सुम्सुमाउदै

अहिले सम्झदा

कति बुज्जकी रहेछन

हाम्रो बाजे जस्तो लाग्छ

सहि बाताबरण संरक्ष्ण र सन्तुलनको ज्ञान

बाजेसँग पो थिएछ

र त उ बेला जता ततै

घना हरियाली थियो,

 

चोट लाग्दा दोख पर्दा

घरको घुरेनमै पाइन्थ्यो

भाँती भाँतीका जडिबुटी

हिजो आज श्याँदरमा ढोल बजाउन

नयाँ ढोल बनाउन मुश्किल छ

मेरो गाउँमा नजिकैको बन

आफ्नै थांत थलोको

आफ्नो जमिनको जंगल

खै कसले पो डाका डालेसी

हातबाट फुत्त अधिकार थुतेसी

न भूमिको पूजा गर्दै ढोल बनाउन रुख छाट्न पाइयो

न क्षमा प्राथना गर्दै

त्यो आफ्नै भूमिमा बिरुवा लगाउन जान पाइयो,

 

हिजोको त्यो घना जंगल

बाजे पुर्खाहरुले

हामी रैथानेहरुको पसिनाले सिचाई गर्दै

मेहनतको मलजल भर्दै

पूजेको त्यो भूमि

आज शृंगार बिनाको बिधवा जस्ती देखिन्छिन

चराहरुको हुल र चिर्बिरको संगीतमा सुन्यता छाएको छ

जन्तु जनवारहरु तस्करको आँखामा

परदेखि मृग चरेको र खरायो खेलेको हेर्न

चिडिया खानामा धाउनु परेको छ

छैनन् अग्ला र सग्ला रुखहरु

अनि जडी बुटिका अनेकन प्रजातिहरू

बायु मण्डलमा स्वच्छ हावा प्रदुषित भएको छ

रोगका अनेकन जीवाणु हुर्काउदै

कल कारखानाको धुवाको मुश्लो मडारिएर

ओजन घट्दै छ

बन जंगलको बिनास

मानवको कुनियतले हुना थालेसी

डाले घाँस नपाएर,

चरण क्षेत्र उजाडिएर

पशु पालनमा ह्रास आएको छ

गोबर मलको सट्टा

अनेक कृतिम मलले

माटोको उर्बर घटेको छ,

फूलहरु रस भर्दै हास्न नसक्ने भएका छन्

मिठो मह बनाउने माहुरीहरु

लोप हुन थालेका छन्

उर्लेर सुसाउदै बग्ने खोला अनि

बैश छल्काउदै छंगछंग खस्ने झरना

सोकमा डुबेर सुक्दै गएको छ

भूमि माताको श्रापमा प्रलय आउन लागेको छ,

 

त्यसैले अब साबधान हुँदै

आज विश्व बाताबरण दिवसको दिन

उहिले बाजेले भन्नु भाको कुराको स्मरण गर्दै

अब हामी सबै नातिहरु मिलेर एक संकल्प गरौं

यो हाम्रो धर्ति हसाउन

पर्याबरनको संरक्षण गर्न अठोट कसौं

यो धर्ति हामी सबैको साझा बसेरा हो

रुख बिरुवा उसको शृंगार हो, आत्मा हो

धर्तीलाई सुन्दर बनाउनु

बाताबरनको संरक्षण गर्नु

हामी मानवकै कर्तब्य हो

स्वस्थ तनमा मात्र

स्वच्छ मन र आत्माको बास रहे जस्तै

स्वच्छ हराभरा पर्यावरनमा मात्र

स्वस्थ र दिर्घायु जिवात्माको बिकल्प छ

हरियाली जहाँ छ यी सब त्यहाँ सम्भव छ

महिमा बुझिकन बिज बिरुवा रोपौं

उजाड भूमि सबै तिर हराभरा पार्दै

पृथ्वीलाई हरित सुन्दरीको ताज पहिराउ

 

 

बिश्व वातावरण दिवस (जुन ५, २०१६) को अवसरमा लेखिएको कविता