मानक सपना

Author : बिष्णु मुखिया सुनुवार
Published on : October 04, 2016


  
बिष्णु मुखिया सुनुवार

एउटा सपना लिएर

बाँचेको मान्छे

नखोस उस्को सपना

नब्युझाउ उसलाई रातमा

शीत पर्न देउ

बिहान हुन देउ

नखोस उस्को मजेत्रो मध्यरातमा,

 

बल्न देउ चेतनाको

एउटा दिब्य ज्योति

लम्पसार रातलाई पनि

थकाइ लागेको होला

सलेदो नखोज यतिखेर

जुन छ उज्यालो देखाउने

एक छिन मस्त निदाउन देउ

अघाउनदेउ उस्को निन्द्रालाइ,

 

किनकि ऊ भोलि बलियो भएर जाग्नुछ

पखाल्नु छ मानिसको आँखा

र बिचारमा जमेको धुलो मैलो

र कुविचार अनि बगाउनु छ

नदि स्वच्छ निर्मल बिचारको ।