बाटुलीको बैँश

Author : ईन्द्र थेगीम
Published on : May 19, 2017


  
ईन्द्र थेगीम

     पन्ध्र पुगेर सोर्‍ह बर्ख लागि भोलिबाट 'बाटुली'। एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरि । जन्मदिन परेको साईतमा आफुले हाकेको ताकेको सबै पूरा होस्भनी भगवानलाई बार्गेनिङ गर्न पेरेन्ङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा, घुरेनवारिबाट उचाली नसक्नुको काँक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है डल्ली भन्दै आमाले भारी लगाई दिइन् । बाटुलीने आमालाई ढोग गरिन् अनि धरान पुगेर लगत्तै फोन गर्छु भनेर बाचा गरिन्। बुवा बितेपछी घरमा मान्छे भन्नू नै दुई आमा छोरी मात्र थिए। आमा हतार भित्र भन्सामा छिरेर स्टिलको कचौरामा भरी मोहि लिएर निस्किन् ।

आमा- यो स्वाट्टै पार डल्ली, भोलि तेरो जन्म दिनको शुभ साईत हुन्छ। बाटुली- हतारमा कचौरा समाउछे र एकै सासमा पिएर लु आमा म बाटो लागें है भन्छे। तल डिल मुन्तिर पुगेसी एकफेर आमालाई हेर्दा, सारिको सप्कोने आँसु पुछेको देखिन् । धनकुटा सदरमुकाम सम्म पुर्याउनलाई संगै पढ्ने बाटो मास्तिरको साथी बल बहादुरलाई गुहार मागेकी थिई।

बाटुली- ओए बले ! भात नखाई आएको होस् भने चेन् भो पर्दैन है भारी बोक्न सघाउन लाई। भन्दै खिनौटे ज्यानको बल बहादुरलाई ब्यङ्ग हानी। बले- (बोल्दैन) हिजो आज बलेलाई बाटुलीने जे जे बोले पनि मीठो लाग्न थालेको छ। प्रतिउत्तरमा ऊ केही बोल्दैन। मुसुमुसु हांस्दै बाटुलीलाई अघाउन्जेली हेर्छ। गाउँबाट बस स्टेण्डसम्म उक्लिंदा तीन, चार घण्टाको घुमाउरो बाटोमा, बलेले आफ्नो दाजु जस्तै लाहुर लाग्ने बिचार सुनायो। एस. एल. सि.को रिजल्ट आउन्जेल भरपुर कसरत गरेर आफ्नो ज्यान बनाउने कुरा गर्यो। बाटुली असिन पसिन हुँदै बलेको कुरा सुनिरही। उनलाई थाहा थियो यो सब बलेले किन बेलिबिस्तार लगाउँदैछ भनेर । क्विनेटोमा उक्लिनै लाग्दा बल बहादुरको दाहिने खुट्टाको बुढी औंला ढुंगामा ठोक्किएर रगत आउन लाग्यो। बाटुलीने मिल्लिक्कैमा कलिलो बनमारा निचोरेर बलेको आलो चोटमाथी छर्किदिई।आफुले बेरेको मजेत्रोको सानो फेरो च्यातेर बुढी औंलालाई पट्टी गरि। बाटुली यतिबेला बिछट्टै राम्री देखिएकी थिई। हिंड्दा हिंड्दा पसिनाले लप्पक्कै भिजेको अनुहार त्यो पाखैभरी फुलेको गुराँस भन्दा कम थिएन। उनको बान्की परेको अनुहारलाई त्यो चन्चल जोर आंखाहरु कति सुहाएको। बले सास रोकेर बाटुलीको सौन्दर्य रस पान गरिरहन्छ । बाटुलिको नाकको पोहरा र ओंठ माथी पुरुक्कै पसिना आएको देखेर, बले-को भाग्यमानी होला नि बाटुलीलाई यतिधेरै माया गर्ने !

बाटुली -थुक्का धेरै नजिस्क्या है बले मार्छु ऐले भन्छिन् बाटुली। हो यतिबेला ख्याल ख्याल मै सहि "म तिमिलाई माया गर्छु" भन्न खुब कोशिश गर्यो। तर हरेक चोटी भन्नू अघि बाटुलीको मनोभावनामा ठेस लाग्ला, म संग ठुस्केर बोलचालै बन्द होला भनेर ओकल्न लागेको शब्द मुखभित्रै चपाएर राख्यो। छङछङ बग्ने खोलाको छेवैनेर ओभानो परेको ठाउंमा थचक्कै बसेर बाटुलीने घरबाट बोकि ल्याएको मकै भटमासको पोका खोली ।भर्लाको पातमा पोको पारी ल्याएको गुन्द्रुकको अचार खोल्दै बले तिर हात बढाई।

बाटुली- ओए बले ! लु खान सुरु गरौं ! मलाई अबेर हुन्छ धरान पुग्नुलाई फेरि। बाटोमा तैंले जे जे भनिस् नि म सबै सुनिरहेकि छु।तर मेरो बैँस मात्र कल्पेर स्वार्थी हुन सक्दिन हेर् ।मेरो सपना भित्र आमा, पढाई ,जागिर, माया लुकेको छ ।म मेरो आमालाई मरुन्जेलसम्म भस्मे फांडेको हेर्न सक्दिन।म मेरो बैंश खेर फालेर तंलाई लाहुरमा पठाउन पनि सक्दिन। बले- केही नभनी केवल मायालु नजर जुधाउंदै मकै, भटमासको फ्वांक लगाउँछ।

बाटुली- बरु त भन तेरो दाजुलाई धरानमा बसेर उच्च शिक्षाको लागि खर्च पानीको बन्दोबस्त गरिदिनु भनेर। बले- सोंचमग्न हुन्छ, अझै केही बोल्दैन। बाटुली- तेरो जस्तो भाग्य मेरो कहाँ ? भोलि बुढा सुब्बा मन्दिरमा भाकलसम्म गर्न सक्छु- कि म गाउँमा सबैभन्दा अब्बल नम्बर लिएर पास हुनपाउं। उच्च शिक्षाको लागि गाउँ बिकास समितिले मेरो नाम सिफारिस गरिदेओस् भनेर। बाटुली बोलिरहंदा एक शान्त तलाउमा साना साना ढुंगा फ्यांकेर तरङ्ग उत्पन्न भएको महसुस गर्यो बलेले । एक ठूलो परिवर्तनको मुस्लो मडारिंदै आफुतिर आएको देख्यो। निश्चिन्त भएर अब उप्रान्त लाहुर जाने सपना त्यतिबेलै तुहाईदियो। अबभने चुपचाप् चुपचाप् दुबै बसस्ट्याण्डतिर लागे, बाटुली गहिरो सोंचमा थिई। बले अब बाटुलीसंगै सपना देख्ने मनमनै प्रण गर्दै थियो। पेरेङ्गोमा चेपिएको भाले क्वोँएक, क्वोँएक कराउंदै थियो। लौ आउनुहोस् ! धरान धरान ! खै म टिकट काटिदिन्छु- बलेले मायालु एक नजर फ्यांक्यो बाटुलितिर। बसभित्र छिर्ने बेलामा बलेले एक सोलि सुकेको बदाम अनि दुई-चार दाना सुन्तला हातमा थम्याईदियो। भाले मर्छ है होस गर् भन्यो। बाटुली भित्र छिरेर झ्याल नेर गएर टाउको बाहिर निकाली। टिं टिं--- पंप्ंप --- गुड्यो अब बस धरान तर्फ। बाटुलीले हात हल्लाउंदा बलेले आफ्नो मुटु छाम्यो। ढुकढुकी ज्यादै बढेको थियो, छातिमा नजानिंदो तातो अनुभूति भयो। धुलोने बाटो नढाकुन्जेल बलेले घांटि उतैतिर तेर्स्याईरह्यो।

क्रमश......