परिवर्तन

Author : नवीन प्यासी
Published on : December 14, 2017


  
नवीन प्यासी

निधारबाट खसेको पसिनाले

जब आफ्नो मुल्य खोज्दै

तरबारको धार बन्छ

र अडिन्छ गर्धनमा

तब आँखा चिम्म गर्छ

कुरुप समयले,

 

जब फूलहरूले हिर्काएर

चर्काउँछ शोषक झ्यालहरू

तब चुप रहन्छ भ्रमको पाठशाला

जब बाटोहरूले ठाडाउन थाल्छ्न्

काँडाहरूको पर्खाल

तब एकाएक रोकिन्छ घोडाको टाप

र बज्न थाल्छ जीवनको सुमधुर लयहरू,

 

जब हल्लिन्छ दमित धरतीको छाती

तब घट्छ कुर्सीको उचाइ र आयतन

जब सल्कउछन् सिमान्तकृत

बुट्यानहरूले आगोको मसाल

तब ढल्छ बुढो सल्लाको निरंकुश सत्ता,

 

जब कारखानामा काटिएका हत्केलाहरूले

माग्न थाल्छन्-औंलाहरूको हिसाबकिताब

जब युगदेखी थिचिएका मस्तिष्कमा

हुन्छ- चेतनाको बिस्फोट

ठिक यतिबेला छिनिन्छ गर्धन

र लेखिन्छ रगतले इतिहासको,

 

नयाँ अध्याय जहाँ भूगोलको

हरेक अँध्यारो कुनाबाट उदाउछ सूर्य

जहाँ कलिला हातहरूले खोल्छन्

नयाँ सभ्यताको पर्दा ।