मुक्कुमलुङ्मा र युःमा माङबारे मिथकहरू ..

  सुकमाया तुम्रुक

लेखक:गायक/समाजसेवी मान तबेबुङ (नाजम) फक्ताङलुङ-३ खेबेङ ताप्लेजुङ (हाल युके)

                अहिले विश्वमा नै आफ्नो पहिचान खोजका आन्दोलनहरु चर्किदै गएका छन। त्यस्तै हाम्रो देश नेपालमा पनि यहाँका रैथाने मुलबासीहरुको अनेकौ धार्मिक, भाषिक र भौगोलिक पहिचानका कुरालाई राज्यले एकात्मक शासन लादेर मास्नको लागि आफ्नो भए भरको बुद्धि र शक्ति प्रयोग गरि रहदा यस्को विरुद्धमा चर्का आवाजहरु उठ्नथालेका छन। यसैगरि पहिलेदेखी याक्थुङ लाजे (लिम्बुवान) का मुलबासि याक्थुङ जातिले आफ्नो पहिचानिक आन्दोलनहरु चरणबद्ध रुपमा पटक पटक गर्दै आएका छन।
त्यसकै स्वरुप केही महिना अघि देखि नेपालको पुर्वमा रहेको प्रशिद्ध याक्थुङ जातिको धार्मिक स्थल मुक्कुमलुङ डाँडाँको ऐतिहासिक ईतिहास र नामलाई व्राम्हणिकरण गरि पाथिभरा बनाइएकोले पुन त्यसको नामाङ्कण पूरानै मुक्कुमलुङ हुनु पर्दछ र त्यहाको माङरभगवान काली माता जस्ता हिन्दु नभएर याक्थुङ जातिको युमामाङको थान भएकोले पुन युमामाङर भगवानको स्थल हो भनेर नामाङ्करण गरियोस भन्दै संघर्स समिती पनि हालै बनेको छ। जुन कुराले याक्थुङ जातिमा केही चेतनाको आँखा खोलिएको हो कि भन्ने आभास हुन्छ।
यो मुक्कुमलुङ डाडा कसरी पाथिभरा भयो भन्ने बारे अहिले बिभिन्न खाले ईतिहास र मिथकहरु मान्छेले सुनाउदै आएको छन। धेरै जस्तो सुन्दा खल्लो लाग्दछ। म त्यै क्षेत्रको पुरानो मुलबासी याक्थुङ जाती मध्येको तबेबुङ थरको हुं। त्यसैले पनि यहाँको पुरानो ईतिहासका कुराहरु बारे निकै जानकार छु भन्दा फरक नपर्ला। हिजो अस्ति याक्थुङ लाजे प्रवेश गरेका गैर याक्थुङ जाति गुरुङ भेडि गोठाला संगको कथा जोडेर जबर जस्ती पाथीभरा बनाउने दयाँ लाग्दो कथा भन्दा शयौ बर्ष पुरानो याक्थुङ जाती सित जोडिएको असली कथा वा मिथक जिउदै छन। जुन मिथकलाई कसैले बाहिर नल्याउदा ओझेलमा पर्न गएको छ। जुन ऐतिहासिक मिथक आज पहिलो पटक लिखित रुपमा बाहिर ल्याउदै छु। यी कुराहरु मौखिक रुपमा हामिलाई हाम्रा पिता पुर्खाले पुस्तौ देखि सुनाउदै पुस्तान्तरण गर्दै आउनु भएको छ। जुन मिथकले मुक्कुमलुङ र युमामाङ भएको स्पष्ट पार्दछ।
हामी तबेबुङ थरको थामा देन मुक्कुमलुङ मन्दिर देखि केही तल याक्थुङ मुन्धुममा जहिलै बर्णन हुने स्थान पुपुरुम पुरुनेना भन्ने ठाँउमा हो। यहि स्थानमा हाम्रो पुर्खा तागासेनहाङ र वँहाको पत्नी पुपुरुम्माको ईतिहास जोडिन्छ। एक दुइ पुस्ता अघि सम्म यहाँ तबेबुङहरुको घर समेत थियो। अब यो थरको ईतिहासलाई छोडेर यो सित जोडिएको मुक्कुमलुङको मिथक तिर लागौं।
जुन तागासेनहाङलाई पुस्ता -१ मान्दा अहिले म झन्डै १९-२० पुस्ता वरिपरि पर्छु होला। उक्त बेलादेखि अहिले सम्म तबेबुङहरुले माङ्युङ गाँउ सिरानको डाँडाँको पानी ढलो पश्चिम र लिङ्खिम गाउँ सिरानको डाडाको पानी ढलो पुर्व गरि अहिले मुक्कुमलुङ युमा माङ थान भएको सम्म र वरिपरिका धेरै खर्कहरु आफ्नो मान्थे र भोगचलन गर्थे। पछि समय बित्दै जादा अरु नयाँ सिमानाहरु पनि बन्दैआए होलान। यसका आफ्नै कारणहरु पक्कै होलान।
पहिलेको जमानामा धेरै गाई, भैसि, सुङ्गुर, बाख्रा, भेडा जस्ता जीव जन्तु पाल्ने चलन थियो किन कि जुन बेला जसको बडि जीव जन्तु हुन्छ उ नै धनीमानी र शक्तिशाली पनि मानिन्थ्यो। त्यस्तै तागासेनहाङ पनि एक थिए। पछि उसले थाकथाक खिबोमा दरवार बनाई राज्य गरेको ईतिहास छ। भने खेबेङमा यक बनाएका थिए। माथी ईच्छिङ तेम्बेमा युद्धको लागि गडि पनि स्थापना गरेका थिए भन्ने सुन्नमा आउदछ। उहा कै पाला देखि मैले माथि भनेको स्थानका सेरोफेरोमा गाई गोठ राख्ने चलन थियो। त्यसरी गाई गोठ बस्दा वहाँ कै पुस्ता वरिपरिका पुस्तामा अचम्म्को घट्ना पटक पटक घट्यो।
गोठ बस्ने ति तबेबुङ गोठालाले एक दिन आफ्नो दुहुनो गाईहरुलाई दुहुने क्रममा सबै गाईको दुध आयो तर एउटा दुहुना गाईको पटक्क दूध आएन। गोठाला छक्क परे। अघि बाछोले दूध खायो कि भेनेर हेर्दा टाट्नो मै बाधिएको थियो। उ सोचाईमा पर्यो। अर्को दिन फेरि मज्जाले अरु गाइले जस्तै दूध दियो। केही हप्ता पछि गाई दुहुदै जादा फेरि दुदै आएन। गोठाला अर्को सोचाईमा परे।
एक दिन सबै गाइहरुलाई सधै झै चरनमा छोडि पठाए। भरै साझमा सबै गोठ फर्के तर ती गाई फर्केनन। गाई हराए पछि गोठाला गाई खोज्दै गए। साझ पर्न लाग्यो भेटेनन अनि गोठ फर्निके मन बनाए। भोक र तिर्खाले प्याक प्याक भएका गोठालाले फर्कने क्रममा सानो पानीको धारा भेट्टाए। तिर्खा मर्ने गरि पानी पिए। आफु सित भएको सानो ढुङ्ग्रोमा पानी पनि भरेर ल्याए। गोठमा आई पुगेर यसो हेरेको त गाई अघि नै गोठमा आएर सुति रहेको देखे। उसले पानीको ढुङ्ग्रो खम्बामा झुण्ड्याए अनि खाना खाएर सुते।
विहान उठेर गाईहरु दुहुन सुरु गरे। उसले त्यो गाईलाई त्यहा देखेनन। अनि,उसले हैन के हुँदै छ आज त पत्ता लाउनु पर्यो भनेर निधो गरे। उसले खाजा पकाउन हिजो झुन्ड्याएको पानि झार्यो। पानी पुरै जमेर नुन जस्तो भएको थियो। छक्क परेर उसले चाख्यो। नुन कै स्वाद पायो। उ झन तीन छक्क पर्दै गाई खोज्न हिड्यो। केही पर पुगे पछि गाई चरेको आवाज सुने पछ्याउँदै जादा पर अलिक अप्ठ्यारो ठाउमा पुगे। पछ्याएर जान सकेनन तर उसले माथी भिरमा ओढार जस्तो परेको ठाँउ देखे। त्यहाबाट गाई दुहुएको जस्तो आवाज आएको सुने। अनि के अचम्म भो भनेर मनमनै कुरा खेलाउदै गोठ फर्किए। गोठ पुग्दा घाम ढल्किन लागेको थियो। गाई अघि नै गोठमा पुगेको भेट्टायो।
यस्तो अचम्मको चमत्कार भए पछि सोच्दै सोच्दै सुते। उसले राती सपना देखे। सपनामा सिर्बन्दी, कन्ठा, साम्याङ्फुङ जस्ता गहनाले झपक्क सजिएकी कलिलो अनुहार भएकि तर कपाल भने सेतै फुलेकी,थुन्से र हसिया बोकेकि शुन्दर महिलालाई देखे। उक्त महिलाले उसलाई म तिमीहरुको युमा माङ हु। यो मुक्कुमलुङ थेगु मेरो बासस्थान हो। तिमी मेरो सन्तानहरुले यहाँ गाई बस्तु चराएर, फोहर मैला गरेकोले मेरो चित्त दुस्खेको छ। त्यै भएर तिम्रो गाईको दुध लुकाएर अनि तिम्रो दृस्टी देखि गाईलाई लुकाएर मेरो शक्ति प्रदर्शन गरेको हूं।

अब देखि मलाई निखुर कालो वा सेतो रङ्को गाईको दुध चढाएर मेरो पुजा आजा गर्छौ भने म यसो गर्ने छुइन। नत्र म अझ नराम्रो शक्ति देखाउने छु भनेर गईन।
गोठाला ले उठेर आफ्नो सपना अनुरुप नै कालो गाईको दुध चढाँउन सुरु गरे। यसैलाई पछि भ्रमित बनाउदै हिन्दु बलि प्रथालाई लादेर कालो बोको चढाउँदा राम्रो हुन्छभने र कालो बोको चढाउनेचलन बसाए। यसरी गोठालाले युमामाङको पुजा आजा गरे। झन फलिफाप भयो। हिजो अस्ति २०३३,३४ सालतिर त्यस क्षेत्रमा गोठ राख्नेगरेका लोकेन्द्र तबेबुङ पनि यहि मिथक सुनेर आएको र कालो/सेतो गाईको दुध मात्र चढाउने गरेको बताउनु हुन्छ।
त्यसैले युमामाङ बस्ने वा वँहाको शक्ति बसेको डाँडाँ भएकोले नै यसको नाम याक्थुङ भाषामा मुक्कुमलुङ(शक्ति रहेको पहाड) पहिले नै रहन गएकोथियो भने यो पहाडमा बस्ने शक्तिशाली माङ/भगवान चाहिँ युमामाङ हुन भन्नेमा दुई मत छैन। युमामाङ सम्पुर्ण याक्थुङ जातिको ज्ञान दाता शक्ति कि देवि हुन। जसलाई तागेरानिङ्वाफु माङको अर्को रुपमा पुज्ने गरिन्छ। पछि यस याक्थुङ लाजे( लिम्बुवान) क्षेत्रमा व्राम्हणहरुको प्रवेश पछि मात्र यसलाई पाथी भरेको जस्तो लुम्सो पहाड देखेकोले पाथीभरा नाम दिए र युमामाङलाई मासेर कालीमाता जस्ता आधार विहिन नाम दिए। जुन कुरा अत्ति नै गलत छ। जसको हामी सम्पुर्ण याक्थुङ जाती लगायत गैर याक्थुङ मुलबासिहरुको घोर आपत्ति छ।
त्यसैले अन्त्यमा विकाशको नाममा कुनै जाती विशेषको ऐतिहासिकतालाई मास्न पाइन्दैन। तोडमोड नगरी असली पहिचानलाई कायम राख्दै विकाश गरिनु पर्छ। याक्थुङ जाती प्रकृति पुजक भएकोले यस मुक्क्कुमलुङ परिसरमा बनेका फलामे र सिमेन्टेड मुर्ती सबै हटाईनु पर्छ। यसलाई पुन मुक्कुमलुङ युमामाङ मन्दिर भनेर नामाङ्करण गरिनु पर्छ भनेर सबै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु।
नोट: पुराना याक्थुङ बस्तिमा बसेका जान्ने बुज्ने बाहुन क्षेत्रीले
अझै पनि युमा माङ्लाई युमा महारानीको नामले
सम्बोधन गर्दै बिधिको रुपमा अलिकति जाड वा रक्सी
त्यो पनि नभए मर्चा भए पनि चढाएर पुजा गरेको
पाईन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार