प्रचण्ड–माधव पक्षको विश्लेषण : स्थिति अत्यन्तै तरल छ, जतिबेला जे पनि हुनसक्छ !……

नेकपा प्रचण्ड–माधव पक्षले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सो पक्षले विकसित परिस्थितिको आँकलन गर्दै अघि बढ्न र सोही अनुसार रणनीति बनाउनुपर्ने भएकाले पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने निश्कर्षका साथ आकस्मिक बैठक बोलाउनु परेको जनाएको हो । शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेताहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए । केन्द्रीय सदस्य निरज आचार्यले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा दुवै अध्यक्षले विश्लेषणसहित आगामी दिनमा चाल्नुपर्ने कदम र योजनाबारे जानकारी गराएको बताए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा प्रचण्डले आकस्मिक बैठक बस्नुपर्ने कारणबारे सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए । त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझैपनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए । ‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्तै तरल छ । यो तरल अवस्थामा एक दिनमा ५ वटासम्म खबर आउँछन् । ती खबरहरु केही आधिकारिक पनि हुन्छन् त केही गलत पनि हुन्छन्,’ समसामयिक घट्नाहरुप्रति सङ्केत गर्दै अध्यक्ष नेपालले बैठकमा विश्लेषण गरेका थिए । ‘कामचलाउ प्रधानमन्त्री केपी ओलीले साम, दाम, दण्ड, भेद चारवटै विधि अपनाइरहेका छन् । उनको यो नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आन्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’ अध्यक्ष नेपालले ओलीले विभिन्न भ्रमहरु छरेर मानिसहरुलाई अल्मल्याइरहेको बताए । ‘यो ओलीको भ्रमका कारण हो । कसलाई के भनेर आफ्नो पक्षमा ल्याउने र कसलाई के भनेर त्रसित पार्न हो भन्नेमा ओली सिपालु रहेछन् । मैले पनि बल्ल थाहा पाएँ,’ अध्यक्ष नेपालले अनुभव सुनाए । उनले ओली पावरको ‘मिस युज’ गर्दै जाँदा मानिसहरुलाई भ्रममा पार्न पनि अभ्यस्त बनेको बताए । त्यसक्रममा नेता नेपालले ओली कुनै सीमाभित्र नबाँधिने व्यक्ति भएको टिप्पणी पनि गरे । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन पहल गरेको भनेर ओलीले प्रचार गरे । हाम्रै नेतृत्वमा पनि भ्रम पैदा गर्ने कोसिस गरे, त्यो जारी नै छ । अनि धारे हात लगाउँदा लगाउँदै पनि अनेक किसिमका दूत हामीसँग वार्ता गर्न पठाइरहेका छन् । ओलीको गुलियोमा हामी भुल्नु हुँदैन’, अध्यक्ष नेपालको भनाइ थियो । देशभित्र र बाहिर प्रचण्ड र आफुबीचको सम्बन्ध कति चल्छ भनेर सोध्न थालिएको भन्दै उनले यसबारे जवाफ दिदाँदिदाँ हैरान हुनुपरेको नेपालले सुनाए । ‘यो सब भ्रम ओलीले छरेका हुन् । त्यसकारण हामी सजग हुनुपर्दछ । केपी ओलीले प्रतिनिधि सभा भंग गर्दैनन् भन्ने सोचेका थियौँ, तर गरिदिए’, अध्यक्ष नेपालले संविधानमै व्यवस्था नभएकाले आफुहरु ओली त्यो दिशातर्फ जालान् भनेर सोच्दै नसोचेको बताए । ‘त्यही भएर हामी अन्तिमसम्म पनि सहमति र सम्झौताका लागि कोसिस गर्दै थियौ । तर त्यसो गर्दागर्दै ओलीले प्रतिनिधि सभा भंग गरेर बज्रप्रहार गरिदिए’, अध्यक्ष नेपालले विश्लेषण सुनाए । संविधानमा हुँदै नभएको अधिकार छ भनेर ओलीले प्रतिनिधि सभा विघटनको अधिकार छ भनेर अहिले अपव्याख्या गरिरहेको पनि दावी गरे । ‘ओलीमा आफु नभए सबै डुबाउने प्रवृति रहेछ । त्यो उनको एमालेमा हुँदैदेखिको हो । त्यसकारण ओली व्यक्तिवादी, गुटवादी र निरंकुश हुन्, यसमा भ्रम नराख्नुहोला’, नेपालको भनाइ थियो । ओलीसँगको लडाइँ बैचारिक भएको भन्दै जित आफुहरुकै हुने पनि बताए । ‘यो ठूलो वैचारिक संघर्ष हो । यो हामीले जित्नैपर्छ । अरुको कुरा त के वामदेव गौतमकै कुरा गर्नुस् । उहाँले भन्दै हुनुहुन्थ्यो, प्रतिनिधि सभा बिघटन बदर भएपछि त म यतैको हो नि मेरो नाउ नहटाउनुुस् । हो त्यसैले तपाईंहरु कसैले पनि दुविधा नराख्नुस्,’ अध्यक्ष नेपालले सदस्यहरुलाई आश्वस्त पार्न खोजे । उनले सर्वोच्चमा भएको बहसमा कुनैपनि अधिवक्ताहरुले प्रतिनिधि सभा विघटनका लागि आधार नभएको भनेर गरेकाले फैसला पनि सोही अनुरुप आउने र त्यसपछि फरक ढंगले अघि बढ्नुपर्ने अवस्था आउनसक्ने भएकाले तयारी अवस्थामा बस्न निर्देशन दिएका थिए ।

‘ओलीसँग ४० प्रतिशत पुग्दैन’

बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले ओली पक्षसँग ४० प्रतिशत केन्द्रीय समितिको संख्या पनि नरहेको भन्दै उनलाई छुट्टै पार्टी बनाउन समेत कठिन रहेको धारणा राखेका थिए । ‘हामी पार्टी विधानले गरेको व्यवस्था भन्दा बाहिर गएकै छैनौ । पार्टी विधानअनुसार बैठक बसेर ओलीलाई पहिला अध्यक्षबाट र पछि पार्टी सदस्यबाट निकालेको मात्रै हो । यो विधानसम्मत हामीले गरेको निर्णयलाई आयोगले मान्यता नदिने कुरै छैन,’ श्रेष्ठको भनाइ थियो । नेता श्रेष्ठले ओलीले संविधान र राजनीतिक प्रणाली नै सिध्याउने षड्यन्त्र गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्नुको विकल्प नभएकाले आन्दोलनलाई जारी राखिएको प्रस्ट पारेका थिए । उनले तत्काल सांगठानिक एकीकरणका बाँकी कामको टुंगो लगाउने गरी गृहकार्य भइरहको भन्दै त्यो काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार