काठमाडौँ — चराहरू गुँड फर्कन लागेका बेला सोमबार साँझ सविता रनपहेंली घर बाहिर निकालिएका असरल्ल झिटीझाम्टाका माझमा टोलाएर बसिरहेकी थिइन्, १० महिनाकी छोरीका साथ । ‘अब कहाँ जाने ?’ उनी आफैंलाई सोधेजस्तरी बोलिरहेकी थिइन्, ‘साँझ परिसक्यो, के गर्ने ? थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती ‘खौरखी टोल’ मा लस्करै उभिएका १ सय ३६ छाप्रामध्ये सविताको पनि एउटा थियो, जहाँ महानगरको डोजर आउने भएपछि बोक्न सकेजतिका सामानहरू निकाल्न तल्लीन थिए बस्तीवासी । हतार–हतार निकालिएका सरसामान र त्यसमाथि भौंतारिइरहेका चिन्ताग्रस्त अनुहार हेर्दा यस्तो लाग्थ्यो, सहरमा बमबारीसहितको हमला भएको छ र मानिसहरू हतारिँदै सुरक्षित स्थानमा कतै जान खोज्दै छन् । हतारमा झिकिएका ओढ्ने–ओछ्याउने, भाँडाकुँडा र अन्नपातको विरहलाग्दो पसारोले युद्धग्रस्त कुनै क्षेत्रका त्रसित बासिन्दाको झल्को दिन्थ्यो । त्यसमध्येको एउटा सानो छाप्रो अघिल्तिरको रछानमाथि राखिएका आफ्ना सामानसहित १९ वर्षीया सविता उदास अनुहार लिएर त्यसै टोलाइरहेकी थिइन् । यही दिन आउला भन्ने डर उनका ससुरा भक्तबहादुर रनपहेंलीलाई थियो । उनी उच्च रक्तचापका बिरामी छन् । १० वर्षअघि २०६९ वैशाख २६ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चलेको डोजरले भक्तबहादुरको सिरीखुरीसहित छाप्रो किचीमिची पारिदिएको थियो । त्यसपछि धेरै महिनासम्म पाटीको बास भएको परिवारले चार नङ्ग्रा खियाएर बल्लतल्ल फेरि छाप्रो जोड्यो । नदी किनारका सुकुम्बासी बस्ती हटाएर पार्कहरू बनाउने योजनाका साथ ‘अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति’ ले गत कात्तिक २४ मा १० दिनभित्रमा बस्ती तुरुन्त खाली नगरे महानगरको डोजर लगाएर भए पनि उठाउने सूचना जारी गरेपछि बस्तीमा सबको रक्तचाप बढ्यो । बाबुरामको डोजर काण्डपछि उच्च रक्तचापको सिकार भएका भक्तबहादुरको त हृदयाघातले ज्यानै गयो । उनैको किरिया बसेका सासू र पतिले ‘सामानहरू छुन नहुने’ भएपछि त्यसलाई निकाल्ने जिम्मेवारी सविताको काँधमा आइलाग्यो । आमाजु र अरू आफन्तलाई पनि बोलाएर सविताले थाङ्ना भोटा त निकालिन्, तर जाने ठाउँ कहाँ हो, त्यो भेट्न सकिनन् । पतिवियोगमा डुबेकी सविताकी सासू पवित्रा काजकिरिया गर्ने समय पनि नदिई घर खाली गर्न आएका अधिकारीका व्यवहारले क्षुब्ध छिन् । ‘यो देशमा सरकार छैन कि क्या हो ?’ उनी भन्छिन्, ‘किरिया बस्न पनि नपाउने ?’ छोरा २७ वर्षीय मधुरन रनपहेंलीलाई बाबुको शोक मनाउने समय पनि मिलिरहेको छैन । पत्नी र आमासहितको परिवारलाई कसरी सुरक्षित ओत दिने भन्ने पीरले किरियापुत्री बसेको अवस्थामै छटपटाइरहेका थिए । ‘१८ वर्षदेखि हामी यहीं छौं,’ उनी भन्छन्, ‘एक्कासि आएर लौ निक्ली भनेर हुन्छ ? निक्लेर कहाँ जाने ?’ नगर प्रहरी महिलालाई घेरा हालेर हिर्काउँदै स्थानीय, सुकुम्बासी बस्तीमा भक्तबहादुर रनपहेंलीको किरिया बसेका श्रीमती, छोराहरू र घर भत्किने भएपछि स्थानीयले बाहिर निकालेका सामान । सुकुम्बासी टोलका हरेकको प्रश्न यही नै छ । ‘रात पर्न लाग्यो, घर छोड् भन्छन्,’ सविताकी छिमेकी १७ वर्षीया रोशनी परियार उसैगरी टोलाइरहेकी थिइन्, ‘दुई साना भाइहरू छन्, तिनलाई लिएर म कहाँ जाऊँ ?’ यही बस्तीमा जन्मिएकी रोशनीका लागि संसार नै यही हो । उनका बाबु कतारमा श्रम गर्छन् । आमा गीताका साथ रोशनी र उनका दुई भाइहरू यहीं बस्छन् । काँकडभिट्टाको यस्तै ऐलानी जमिनमा उनका हजुरबा–हजुरआमा बस्छन् । हजुरबा बितेपछि उनकी आमा गीता काँकडभिट्टा गएकी छन् । कक्षा ९ मा पढ्ने रोशनी स्कुल गएका बेला खबर आयो– घरमा डोजर चल्ने भयो, सामान निकाल्न आऊ । पढाइ छाडेर उनी दौडँदै घर आइन् । ओढ्ने–ओछ्याउने र सकेका केही सामान निकालिन् । तर जाने कहाँ ? यो भने उनलाई सुझिरहेको थिएन । यही अवस्थामा थिए सुकुम्बासी टोलका सबै जना । स्थानीय सरकारले आफूहरूलाई शत्रुलाई भन्दा नराम्रो व्यवहार गरेको उनीहरूको बुझाइ छ । ‘हामीले यो जमिन छोड्दैनौं भनेकै छैनौं,’ पौरखी टोल विकास समितिका सचिव गोपाल पौडेल भन्छन्, ‘सरकारले हामीलाई कतै न कतै बस्ने व्यवस्था गरिदेओस्, यो ठाउँबाट हामी आफैं निस्कन्छौं ।’ उनका अनुसार बस्तीमा ५२ जिल्लाबाट आएकाको १ सय ३६ घर छन्, जो डेढ दुई दशकदेखि यहाँ बस्दै आएका छन् । झन्डै ९ सय मानिसको यो बस्तीमा स्कुले विद्यार्थी २ सय २५ जना छन् जो प्रहरी र डोजर देख्नेबित्तिकै भयभीत हुने गरेको उनी बताउँछन् । साभार : इका