किसन राईले वाचेको किस्सा

देबेन्द्र खेरेस (कवि/लेखक)

हङकङका पत्रकार तथा समाजसेवी किसन राईको असामयिक निधन भएको वर्षदिन वितिसकेकोछ। पाँच वर्ष अघि हङकङको एक साहित्यिक कार्यक्रमको भेट नै हाम्रो अन्तिम हुन गयो। तर अझ पनि कुनै कार्यक्रम वा भीडहरूमा देख्छु/भेट्छु झै लागिरहेछ। घटना सत्य हुदाहुदै पनि मनले स्वीकार्न गार्हो हुदो रहेछ।

हङकङमा ऐभरेष्ट दैनिक पत्रिका प्रकाशन सुरू भएसंगै किसन राईसंग साक्षात्कार हुने अवसर मिलेको थियो। उनको पत्रकारिता र साहित्य तथा समाजिक सेवामा संसग्नताले धेरैले किसनलाई राम्ररी चिन्न र बुझ्न सक्यो भन्ने  लाग्दछ। सन् २००८ सालमा बेलायत वसाई सरेपछि म उनको फेसवुक फलोवर थिए। उनको हरेक स्टाटसहरू हेर्ने र कहिले काहि मन छोएको विषहरूमा लाईक र कम्मेन्ट गर्ने गरेको थिए। तर उनले कहिलै पनि मेरो कम्मेन्टलाई लाइक वा प्रतिकृया दिएन। पछिल्लो पटक किसन राई नेपाल जाने खबर फेसबुकबाट थाहा भएको थियो। र, नेपालको पश्चिमी क्षेत्र भ्रमणका फोटोहरू देखेर म उस्साहित भएको थिए। किसनमा नया सोचहरू  आएछ भन्ने लागेको थियो। उनको लामो समय हङकङ बसाइको क्रममा औलामा गन्न सकिने बाहेक  हङकङ  बाहिर गएको जानकारी थिएन। प्राय हङकङ यएरपोर्टमा कसैलाई लिन र पुर्याउन गएको मात्र फोटोहरू देखिदै आएको थियो। पछिल्यो पटक (सायद यहि अन्तिम पनि हुन सक्छ) २३ अक्टोबर २०२१ मा ओखलढुंगा प्रवेशद्धारको फोटो अपलोड गरेको थियो। किसनको घर ओखलढुंगा हो भन्ने पहिले सुनेको थिए, पहाड घर गएछ भन्ने लाग्यो। अव कताकता जाने हो ? भन्ने थप जिज्ञासाहरू मनमा उठेको थियो। तर खोटांग-भोजपुर  जान्छ होला भन्ने पटकै लागेको थिएन।

किसन राई र अन्य साथिहरूले  हङकङबाट  एभरेष्ट दैनिक (पछि साप्ताहिक, मासिक र त्रैमासीक) पत्रिका प्रकाशीत गरेर व्याबसायिक पत्रकारिताको सुरूवात गरेका हुन। सुरूको दिनहरूमा पत्रिका कसले प्रकाशन गर्यो भन्दा पनि हङकङजस्तो व्यास्त ठाउमा सुचना मुलक पत्रिका प्रकाशन हुदा खुशी लागेको थियो। पत्रिका पढ्दै जादा किसन र अन्य केहि साथिहरू मिलेर एभरेष्ट दैनिक पत्रिका प्रकाशन गरेको भन्ने थाहा पाएको थिए।

त्यस समयमा हङकङमा केहि साहित्यिक मासिक पत्रिकाहरू मात्र प्रकाशित हुदै आएको थियो। तर निरन्तरता भने थिएन।

ऐभरेष्ट पत्रिका पनि कहिलेसम्म प्रकाशीत हुने हो ? भन्ने पनि जिज्ञासा हुने गर्दथ्यो। नेपालमा प्रकाशीत बिभिन्न पत्रपत्रिकाहरू विस्तारै हङकङ आउन थाल्यो र हङकङबाट प्रकाशीत र नेपालबाट आउने सबै पत्रपत्रिकाहरू भेटेसम्म पढ्ने मेरो बानी थियो। सन् २०००/२००१ सालबाट प्रकाशन सुरू भएको एभरेष्ट दैनिक देखि  साप्ताहिकसम्म हङकङ रहदा नियमित पाठकको रूपमा पढे। पछि मैले कविता लेख्न थाले पछि मेरा थुप्रै कविताहरू एभरेष्टमा छापीयो। यस कारणले गर्दा किसन सॅगको चिनजानमा बल मिल्यो। पत्रिका प्रकाशनको सुरूको दिनहरूमा दिनभर समाचार संकलन र राती छापाको काम सकेर पत्रिका डेलिभरी गर्दा उनको भनाई यस्तो थियो “हामी पनि कन्सट्रकसनका (कडा परिश्रम र धुलो-मैलो) साथिहरू भन्दा कम छैनौ”। विशेष गरि पत्रिकाको लागि दिनरात नभनि खट्नु र छाप्दा लिथो (मसी) र कागजको कामले फोहोर हुन्छ भन्ने गर्दथ्यो। सन् २००७ सालमा देश सुब्वाको आदिवासी उपन्यास प्रकाशनको समयमा हाङयुग अज्ञात र देश सुब्वासंग उनको अफिस गएका थियौ। आदिवासी उपन्यास विमोचन कार्यक्रमा नेपालबाट पुस्तक ल्याउन ढिलाई भइरहेकोले किसन मार्फत ल्याउन लागिएको थियो।

त्यो भेट अनौपचारिकता भए पनि हार्दिकता पुर्वक कुराकानीहरू निकै रमाइलो भएको थियो। एकअर्का विचमा ‘वरिष्ठ’ सम्बोधन गरेको देखेर सायद यसै समयबाट मैले पनि उहारूलाई बरिष्ठ भन्न सुरू गरे। यस पछिको भेटहरूमा “बरिष्ठहरूको के छ खबर ?” भनेर किसनले सोध्ने गर्दथ्यो।। र, मलाई सधै “खरेस” भन्ने गर्दथ्यो।

बि.स. २०६३/२०६४ सालमा नेपालमा तत्कालिन राजा ज्ञानेन्द्रको सासन बिरूद्ध राजनितीक पार्टीहरूले शान्तिपुर्ण आन्दोलन गरिरहेको थियो। सरकारले आन्दोलन दबाउन नेताहरू गीरफतार  गरिरहेको थियो। सरकारी दमनले गर्दा आन्दोलन झन बढ्दै थियो। नेपालको आन्दोलन प्रति हङकङका तत्कालिन नेपालीहरू चिन्तित त थिए नै। तर कुनै पनि संघसस्थाहरू र अझ नेपालको पार्टीहरूको भात्री संगठनहरूले सार्वजानिक विरोधका आवाजहरू निकालेका थिएन। यस्तो अवस्थामा कवि हाङयुग  अज्ञातले हङकङका कवि/लेखकहरूले पनि विरोध कार्यक्रम गर्नु पर्यो भन्नु भयो। केहि दिनको चर्चापरिचर्चा पछि ‘लोकतान्त्रिक कवि गोष्ठी’ सम्पन्न भयो। उक्त कवि गोष्ठीमा दर्जन जति कवि लेखकहरू सहभागी भएको थियो। सबैले राजा ज्ञानेन्द्रको  सासनको बिरूद्धमा कविताहरू सुनाएका थिए। मैले पनि राजाको सासनको बिरोध गरेर कविता सुनाएको थिए। उक्त गोष्टिमा वाचन गरिएको सबै कविताहरू एभरेष्ट साप्ताहिकमा छापिएको थियो। कार्यक्रममा किसन राईको उपस्थिति त थियो नै बिरोध कार्यक्रम गर्नु पर्छ भन्नेमा उनको पनि जोड थियो। उक्त कार्यक्रममा आउन धेरै जना डराए। नेपाल जादा एयरपोर्टबाटै पुलिसले समात्छ भन्ने डर थियो। किन की नेपालको धेरै नेताहरू भारत जादै गर्दा एयरपोर्टबाट पुलिसले समातेर ससस्त्र प्रहरी गणको तालिम केन्द्र हलचोकमा राखेको समाचार आई रहेको थियो। यस बारेमा प्रदिप नेपालले लेख लेखेको थियो। हङकङका केहि जिम्मेवार (साहित्सिक संस्थाको अध्यक्ष) व्यक्तिले त नेपाल जाने मन छ/छैन ? जाने हो भने कार्यक्रममा नजानु भन्ने अभिव्यक्ति दिएको पनि सुन्नमा आएको थियो। जे होस तत्कालिन राजा ज्ञानेन्द्रको सासन बिरूद्धको आन्दोलनमा हङकङवासी नेपालीले एतिहासीक एकेबद्दता जनाएको कार्यक्रम थियो।

मेरो युके प्रस्थान पछी किसन राईसंग सम्पर्क टाढा हुदै गयो (पहिले पनि थियो)। पछिल्लो पटक २०१७ मा हङकङ आएको अवसरमा केहि साहित्यिक स्ष्टाहरूसॅग काव्यिक भलाकुसरी गरौ भनेर नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र वगैचा पव्लिकेशन हङकङको संयुक्त आयोजनामा कविता चौतारी कार्यक्रम गर्ने पव्लिकेशनका अध्यक्ष कवि नरेश सुनुवारसंग कुरा भयो। कार्यक्रममा उपस्थितिको लागि साहित्यिक संघसंस्थाको प्रमुखहरूलाई निमन्त्रणा गर्ने सवालमा किसन राईलाई फोनबाट निमन्त्रणा गरे। उहाँले पनि  आदिवासी चलचित्र प्रदर्शनको मलाई निमन्त्रणा दिनु भयो। हामीले एकअर्काको निमन्त्रणा स्विकार गर्यौ। कविता चौतारी कार्यक्रमको अघिल्लो दिन आदिवासी चलचित्र प्रदर्शन हुने भएकोले किरात राई यायोक्खा हङकङका तत्कालिन महासचिव विमल राईसॅग यामाते कम्युनिटी हलमा गएर चलचित्र हेरियो। भोली पल्टको कार्यक्रममा  किसन आउनु भयो। कार्यक्रम सुरू भइसेको र म आफौ कार्यक्रम सन्चालक भएकोले हामीविच हलोहाइ भन्दा बढी कुराकानी हुन सकेन। साहित्य विकास परिसद हङकङको अध्यक्षको हैसियतले उहालाई मायाको चिनो ‘टोकन’ ले सम्मान गरिएको थियो।मलाई सम्झना भए अनुसार किसन कार्यक्रमहरूमा प्राय: मध्य वा अन्ततीर उपस्थिति हुने गर्दथ्यो। तर धेरैजसो कार्यक्रमहरूमा उपस्थिति जनाउथ्यो।

केहिवर्ष पहिले किसनको श्रीमती युके गएको जानकारी भयो। किसन पनि गएको छ कि कहिले जान्छ भन्ने जिज्ञासा भयो। र, सर तपाईको मिसेस युके हुनु हुन्छ भन्ने थाहा भयो, तपाई कहिले जानेको हो ? भेटौ है भनेर म्यासेन्जरमा लेखे। तत्कालै “हङकङ फर्कि सक्यो” एक हरफको उत्तर दिनु भयो। यस पछि हाम्रो सम्वाद अघि बढेन।

किसनसंग चिनजान भएदेखि कहिलै पनि लामो कुराकानी भएन र आत्मियता नजीक भएको महसुस गर्न सकिन। उनको बोली सधै खस्रो लाग्ने। तर खस्रो बोलीमा सत्यता भने महसुस हुन्थ्यो। यिनै स्वाभवले उनलाई धारेहात लगाउनेहरू पनि थिए। कसैको रबाफ र प्रभावमा पर्न नरूचाउने र आफुलाई लागेको कुराहरू निर्धक्क राख्नसक्ने निडर व्यक्ति थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार